न्यालम–खासाको डढेलो नियन्त्रणमा नआउँदा तातोपानी नाका ठप्प, चार सय कन्टेनर अलपत्र

न्यालम र खासाको मध्यभागसहित छोबिन क्षेत्रमा आइतबार राति सुरु भएको आगलागी नियन्त्रणमा नआउँदा चिनियाँ प्रशासनले नाका सञ्चालन गर्ने अवस्था नरहेको जानकारी दिएको हो।

पुस २८, २०८२

अनिश तिवारी

Tatopani border crossing closed as Nyalam-Khasa fire not brought under control, 400 containers stranded

What you should know

सिन्धुपाल्चोक — चीनको न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा गएराति भीषण आगलागी भएपछि सोमबारदेखि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी पूर्ण रुपमा बन्द छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीकाअनुसार न्यालम र खासाको मध्यभागसहित छोबिन क्षेत्रमा आइतबार राति सुरु भएको आगलागी नियन्त्रणमा नआउँदा सोमबारबाट चिनियाँ प्रशासनले नाका सञ्चालन गर्ने अवस्था नरहेको जानकारी दिएको हो। 

‘ठूलो जंगली इलाकामा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन नसक्दा नाका बन्द भएको छ, हेलिकप्टर प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको चिनियाँ पक्षबाट खबर छ,’ प्रजिअ अधिकारीले भने । 
आगलागीको प्रभावले नाकापारिको सम्पूर्ण सञ्चार सेवा समेत प्रभावित भएको चिनियाँ सुरक्षाकर्मीलाई उद्धृत गर्दै प्रजिअ अधिकारीले जानकारी दिए। 

आगो अनियन्त्रित अवस्थामा रहेकाले नाकासँग जोडिएको नेपालको माथिल्लो डाँडाक्षेत्र तथा खरानी पोखरी आसपासमा समेत फैलिन सक्ने जोखिम रहेको जनाइएको छ। स्थानीयवासीका अनुसार आगलागी चिनियाँ सीमावर्ती वन क्षेत्रमा तीव्र गतिमा फैलिएको छ। चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाकाको माथिल्लो भूभागमा समेत आगो देखिएको जानकारी गराएका छन्। 

‘वास्तविक अवस्था बुझ्न चिनियाँ पक्षलाई ड्रोन तस्बिर उपलब्ध गराउन आग्रह गरेका छौं, गौरीशंकर संरक्षण क्षेत्रलाई पनि यसबारे बुझ्ने काम भइरहेको छ,’ उनले भने। 

इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले आगो फैलदै गएपछि चिनियाँ प्रशासनले सुरक्षा कारण देखाउँदै नाकाबाट हुने स्थानीय तथा पर्यटकको आवतजावत रोक लगाएर कडाई गरेको बताए । ‘पारि लागेको आगोले ठूलो वन क्षेत्र जलेर नष्ट भएको छ, लिपिङ र तातोपानी क्षेत्रको आकाश धुँवा र खरानीले ढाकिएको छ । आगो अझै नियन्त्रणमा आइसकेको छैन,’ उनले भने। 

चिनियाँ पक्षले समयमै आगो नियन्त्रणमा लिन नसकेमा डढेलो नेपालको भूभागसम्म फैलिन सक्ने जोखिम रहेको स्थानीयले बताए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली पक्षले पनि नाका आसपासको निगरानी बढाएको छ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन । यसअघि रसुवागढी नाका गत २४ असारदेखि बन्द रहँदा चीनसँगको अधिकांश व्यापार तातोपानी नाकाबाट सञ्चालन हुँदै आएको थियो । तर अहिले यही नाका पनि ठप्प भएपछि करोडौं मूल्यका सामान बोकेका कन्टेनर दुवै किनारमा रोकिएका छन् । नाका बन्द हुँदा व्यवसायी र आयातकर्ता चिन्तित बनेका छन् । 

चिनियाँ क्षेत्रमै रोकिए चार सय कन्टेनर
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतकाअनुसार आगलागीपछि नाका ठप्प बन्दा करोडौंका सामग्री बोकेका झण्डै चार सय कन्टेनर चीनको खासा, न्यालमसहित र्सीमाक्षेत्रकै सडकमा अलपत्र परेका छन्। 

बर्खामै भित्रनुपर्ने कन्टेनर अझै नआइसकेकाले आगलागीपछि नाका अवरुद्ध बन्दा सीमाक्षेत्रका व्यवसायी हतास बनेको उनले बताए । ‘खासाभन्दा ४ किलोमिटर माथि पानसिंह भन्ने स्थानमा आगो लागेको रहेछ, जसकारण तातोपानी नाकाबाट चीन जान लागेका पर्यटकलाई काठमाडौं फर्काएको छ, यता बर्खामै रोकिएका कन्टेनर अझै नआउँदा व्यवसायी थप पीडामा परेका छन्, यो बन्द कति लम्बिने हो थाहा छैन्,’ बस्नेतले भने । 

बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा आउजाउ गर्ने कन्टेनरलाई धराप थापेझैं अवस्था छ । मितेरी पुलपारि बाढीले तहसनहस बनाएका क्वारेन्टाइन, पार्किर्ङस्थल, खासा जोड्ने सडक र सुरुङसहित खासामा स्मार्ट सिटी निर्मार्ण गरिरहेको थियो।

जसबीच चीनले हाल दैनिक ७ देखि १२ कन्टेनर मात्र छाड्न थालेपछि व्यवसायी हैरान थिए। ‘चीनको खासा र न्यालम भेगबीच आगलागी भएपछि सोमबारयता कन्टेनर रोकिँदा व्यवसायी आगो नियन्त्रणको कामना गर्दै निराश बनेका छन्,’ अध्यक्ष बस्नेतले भने। 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully