२०६० सालमा सरकारले २० प्रतिशत इथानोल मिसाउनेबारे निर्णय गरेको र अहिले मन्त्रिपरिषद्बाट प्रयोगमा ल्याउनेसम्बन्धी आदेश स्वीकृत हुनु सकारात्मक भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।
What you should know
काठमाडौँ — नेपाल आयल निगमले मन्त्रिपरिषद्बाट स्वीकृत पेट्रोलमा इथानोल प्रयोग गर्नेसम्बन्धी आदेश कार्यान्वयनमा ल्याउने भएको छ । ११ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको थियो । यससँगै पेट्रोलमा इथानोल प्रयोग गर्न बाटो खुलेको छ ।
२०६० सालमा सरकारले २० प्रतिशत इथानोल मिसाउनेबारे निर्णय गरेको र अहिले मन्त्रिपरिषद्बाट प्रयोगमा ल्याउनेसम्बन्धी आदेश स्वीकृत हुनु सकारात्मक भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । ‘यसलाई लामो समयसम्म कार्यान्वयनमा ल्याउन सकेका थिएनौं,’ उनले भने, ‘केही समयअघि पेट्रोलमा इथानोल मिसाउनेसम्बन्धी आदेश स्वीकृत भएको छ, अब कार्यान्वयनको पक्ष अघि बढाउँछौं ।’
अहिले शतप्रतिशत आयातित पेट्रोलमा निर्भर भइरहेका बेला इथानोलको प्रयोग सुरु भए यसले आयात प्रतिस्थापन गर्ने र विदेशी मुद्रा सञ्चिति बढ्ने विज्ञहरुको दाबी छ । इथानोल जैविक ऊर्जा हो । ‘यो विभिन्न कृषिजन्य कच्चापदार्थबाट उत्पादन हुन्छ, उखुबाट चिनी बनाउँदै गर्दा तयार हुने मोलासिसबाट पनि इथानोल बनाइन्छ,’ भट्टले भने, ‘फुड ग्रेनबाट पनि इथानोल बन्छ, अहिले सम्भावित कच्चापदार्थ सिमलतरुलको फार्मिङ गरी प्रोसेस गरेर इथानोल तयार गर्न सकिन्छ ।’
९९.५ प्रतिशत शुद्धता भएको इथानोल पेट्रोलमा राख्ने गरिन्छ । ‘इथानोल नेपालका लागि नयाँ विषय भए पनि पेट्रोल उत्पादन हुने अन्य मुलुकमा यसको प्रयोग बढ्दै गएको छ,’ उनले भने । भारतले २० प्रतिशत इथानोल मिश्रित पेट्रोल बिक्रीवितरणमा ल्याएको छ ।
‘ब्राजिल, अमेरिका, जापानलाई हेरौं, त्यहाँ ७०/८० प्रतिशतसम्म इथानोल प्रयोग भएको देखिन्छ,’ भट्टले भने, ‘२० प्रतिशतभन्दा बढी इथानोल पेट्रोलमा राख्ने भए त्यसअनुसार गाडीको इन्जिन पनि परिवर्तन गर्नुपर्छ । तर १० प्रतिशतबाट सुरु गर्ने हाम्रो लक्ष्य छ ।’
मन्त्रिपरिपषद्बाट स्वीकृत आदेशमा इथानोलको गुणस्तरको विषय उल्लेख गरिएको छ । ‘यसको गुणस्तरसम्बन्धी मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले तय गर्नेछ,’ भट्टले भने, ‘मापदण्डमा तोकिएको गुणस्तरमा उत्पादकलाई कति परिणाममा दिनुहुन्छ भनेर माग गर्दै सार्वजनिक सूचनामार्फत आह्वान गर्छौं ।’
यसैका आधारमा कति प्रतिशत पेट्रोलमा इथानोल मिश्रण गर्ने भनेर निर्णय गरिने भट्टले सुनाए । ‘अहिले कम्तीमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने भनिएको छ, तत्काल उपलब्ध चिनी मिलबाट ४०/५० हजार लिटर प्रतिदिन इथानोल उत्पादन हुन्छ,’ उनले भने, ‘तर, १० प्रतिशतका लागि दैनिक दुई लाख लिटर इथानोल चाहिन्छ ।’
त्यसैले १० प्रतिशत पुर्याउन केही समय लाग्ने उनको भनाइ छ । ‘२, ३ देखि ५ प्रतिशतसम्म ब्लेन्डेड गर्दै १० प्रतिशतसम्म पुर्याउँछौं । यसबाट वातावरणलाई फाइदा हुन्छ, पेट्रोलको अक्टेन नम्बरलाई वृद्धि गर्छ, जसले गर्दा इन्जिन र फ्युलको इफिसियन्सी बढ्छ ।’
‘इथानोल बनाउने कच्चापदार्थ किसानले उत्पादन गर्ने भएकाले उनीहरूको आयआर्जन बढ्छ, किसानबाट जुन कच्चापदार्थ उद्योगीले किन्छन्, त्यसपछि त्यसलाई तयार पार्न उद्योगीले कम्तीमा दुई सय करोडको प्लान्ट राख्नुपर्ने हुन्छ,’ भट्टले भने, ‘जसले गर्दा नयाँ लगानी आउने र रोजगारी सिर्जना हुन्छ ।’ यसले सवारीमा असर नगर्ने उनको भनाइ छ ।
यसमा धेरै ठूलो लगानी गर्नु नपर्ने भट्टको भनाइ छ । ‘उत्पादकले चाहिएअनुसारको इथानोल उपलब्ध गराए चालु आर्थिक वर्षको अन्त्यबाट यसको प्रयोग सुरु गर्न सकिन्छ,’ भट्टले भने, ‘यसमा मिश्रण गर्ने प्रणालीको विकास गर्ने हो, यसका लागि भण्डारण ट्यांक हुनुपर्छ, पाइपलाइन राखेर पम्पहरूमार्फत अनलाइनबाट ट्यांकीमा मिसाउने हो, जसमा एकातिरबाट पेट्रोल र अर्कोतिरबाट इथानोल राखेर भर्ने हो । तर दुई लाख लिटर इथानोल पाए १० प्रतिशतबाटै सुरु गर्न समस्या छैन ।’
एक लाख मात्र पाए ५ प्रतिशतमा ब्रान्डिङ गरिने भट्टले सुनाए । ‘उद्योगीहरूले कति दिन सक्छन्, त्यसका आधारमा प्रतिशत तयार गर्छौं,’ भट्टले भने, ‘इथानोल मिसाइएको पेट्रोलको मूल्य कम हुन्छ । मूल्य निर्धारणमा अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल आयल निगम रहन्छन् ।’
२५ वर्षपछिको निरन्तर प्रयासपछि भएको सरकारको निर्णय सकारात्मक रहेको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘तर कार्यविधि बनिसकेको छैन, कार्यविधि बनाएरै निर्णय गरिदिएको भए सजिलो हुन्थ्यो,’ उनले भने, ‘तर यो देशका लागि साह्रै राम्रो निर्णय हो, राम्रो कुराको निर्णय गर्न धेरै समय लगाउन हुन्न ।’
