‘बिस्तारै हाम्रो माटो कामै नलाग्ने हुँदैछ,’ प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख तथा बालीविज्ञ अभिषेक श्रेष्ठले भने, ‘यसले उत्पादनमा झनै समस्या हुने देखिन्छ ।’
What you should know
महोत्तरी — परम्परादेखि कृषिमा निर्भर जिल्लाका बासिन्दाले अहिले खेतीपाती गर्न छाडेका छन् । खेत जोत्न, बालीमा रासायनिक मल र किट नाशक छर्किंदा लाग्ने खर्च असुल हुन छाडेपछि उनीहरू मर्कामा परेका हुन् ।
अत्यधिक विषादीको प्रयोगले किसानको खर्च मात्र बढेको छैन, उपभोक्ताको स्वास्थ्य र माटोमा पनि असर गरिरहेको छ । विषादी र रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य, माटो र वातावरणमा प्रतिकूल असर गरेको यहाँका बासिन्दाले दुखेसो गरेका छन् ।
गत कात्तिकमा बेमौसमी वर्षाले १३ कट्ठामा लगाएको काउली नष्ट भएदेखि बर्दिवास–९, पशुपतिनगरका लालबिहारी महतो पिरमै छन् । एकातिर तरकारीबाट हुने आम्दानी गुम्यो, अर्कोतिर खनजोतसँगै मल र विषादी हाल्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । बीउ खरिद गर्न ५० हजार रुपैयाँ खर्च गरेर लगाएको काउली नष्ट हुँदा ५ लाख रुपैयाँ नोक्सान भएको महतोले बताए ।
स्थानीय श्रवण महतोले विषादीबिना उत्पादन नै हुन छाडेको बताए । ‘पहिले माटो पनि औषधिजस्तै थियो,’ उनले भने, ‘विषादी प्रयोगले अहिले माटोसँगै उत्पादन पनि विष बन्दैछन् ।’ तराईमा शीतलहर र अत्यधिक चिसोका कारण तरकारी जोगाउन विषादी प्रयोग गरिरहेको उनले सुनाए । एकातिर कीराले खाएर उत्पादन प्रभावित भइरहेको छ, त्यसमाथि चिसोले तरकारीका बोट गल्ने र कुहिने समस्या छ । त्यस्तो क्षतिबाट जोगाउन एम–४५ कार्वेडाजेन औषधि छरिरहेको उनले बताए ।
आम्दानीभन्दा धेरै घाटा बेहोर्नु परेपछि यहाँका सर्वसाधारणले कृषि पेसा छाडेको माटोविज्ञ मोहन खड्काले बताए । बर्दिवास–६, स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले गरेको एक अध्ययन अनुसार मधेसको माटोमा अम्लीयपन बढेको देखिएको छ । यसैगरी सायायनिक मल र विषादी प्रयोग हुने हो भने माटो नै काम नलाग्ने हुने अध्ययनले देखाएको छ । विज्ञका अनुसार राम्रो माटोमा अम्लीयपन (एसिड) को मात्रा ६.५ देखि ७ हुनुपर्छ । यहाँको माटोमा अम्लीयपन कम पाइएको छ ।
अध्ययनका क्रममा ७० बिघाको माटो जाँच गर्दा माटोमा ५.५ अम्लीयपन देखिएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख तथा बालीविज्ञ अभिषेक श्रेष्ठले जानकारी दिए । सामान्य घटबढ देखिए पनि यसको असर ठूलो हुने उनले बताए । विज्ञका अनुसार समग्र नेपालको हकमा ७.५ प्रतिशत अम्लियपन भएको माटो राम्रो मानिन्छ । मधेसमा ६.५ प्रतिशत अम्लीयपन भएको माटो राम्रो मानिन्छ । ‘बिस्तारै हाम्रो माटो कामै नलाग्ने हुँदैछ,’ श्रेष्ठले भने, ‘यसले उत्पादनमा झनै समस्या हुने देखिन्छ ।’
