विषादी र रासायनिक मलले माटोमा असर

‘बिस्तारै हाम्रो माटो कामै नलाग्ने हुँदैछ,’ प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख तथा बालीविज्ञ अभिषेक श्रेष्ठले भने, ‘यसले उत्पादनमा झनै समस्या हुने देखिन्छ ।’

पुस २८, २०८२

सुनिता बराल

Pesticides and chemical fertilizers affect the soil

What you should know

महोत्तरी — परम्परादेखि कृषिमा निर्भर जिल्लाका बासिन्दाले अहिले खेतीपाती गर्न छाडेका छन् । खेत जोत्न, बालीमा रासायनिक मल र किट नाशक छर्किंदा लाग्ने खर्च असुल हुन छाडेपछि उनीहरू मर्कामा परेका हुन् ।

अत्यधिक विषादीको प्रयोगले किसानको खर्च मात्र बढेको छैन, उपभोक्ताको स्वास्थ्य र माटोमा पनि असर गरिरहेको छ । विषादी र रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य, माटो र वातावरणमा प्रतिकूल असर गरेको यहाँका बासिन्दाले दुखेसो गरेका छन् । 

गत कात्तिकमा बेमौसमी वर्षाले १३ कट्ठामा लगाएको काउली नष्ट भएदेखि बर्दिवास–९, पशुपतिनगरका लालबिहारी महतो पिरमै छन् । एकातिर तरकारीबाट हुने आम्दानी गुम्यो, अर्कोतिर खनजोतसँगै मल र विषादी हाल्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । बीउ खरिद गर्न ५० हजार रुपैयाँ खर्च गरेर लगाएको काउली नष्ट हुँदा ५ लाख रुपैयाँ नोक्सान भएको महतोले बताए ।

स्थानीय श्रवण महतोले विषादीबिना उत्पादन नै हुन छाडेको बताए । ‘पहिले माटो पनि औषधिजस्तै थियो,’ उनले भने, ‘विषादी प्रयोगले अहिले माटोसँगै उत्पादन पनि विष बन्दैछन् ।’ तराईमा शीतलहर र अत्यधिक चिसोका कारण तरकारी जोगाउन विषादी प्रयोग गरिरहेको उनले सुनाए । एकातिर कीराले खाएर उत्पादन प्रभावित भइरहेको छ, त्यसमाथि चिसोले तरकारीका बोट गल्ने र कुहिने समस्या छ । त्यस्तो क्षतिबाट जोगाउन एम–४५ कार्वेडाजेन औषधि छरिरहेको उनले बताए । 

आम्दानीभन्दा धेरै घाटा बेहोर्नु परेपछि यहाँका सर्वसाधारणले कृषि पेसा छाडेको माटोविज्ञ मोहन खड्काले बताए । बर्दिवास–६, स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले गरेको एक अध्ययन अनुसार मधेसको माटोमा अम्लीयपन बढेको देखिएको छ । यसैगरी सायायनिक मल र विषादी प्रयोग हुने हो भने माटो नै काम नलाग्ने हुने अध्ययनले देखाएको छ । विज्ञका अनुसार राम्रो माटोमा अम्लीयपन (एसिड) को मात्रा ६.५ देखि ७ हुनुपर्छ । यहाँको माटोमा अम्लीयपन कम पाइएको छ । 

अध्ययनका क्रममा ७० बिघाको माटो जाँच गर्दा माटोमा ५.५ अम्लीयपन देखिएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख तथा बालीविज्ञ अभिषेक श्रेष्ठले जानकारी दिए । सामान्य घटबढ देखिए पनि यसको असर ठूलो हुने उनले बताए । विज्ञका अनुसार समग्र नेपालको हकमा ७.५ प्रतिशत अम्लियपन भएको माटो राम्रो मानिन्छ । मधेसमा ६.५ प्रतिशत अम्लीयपन भएको माटो राम्रो मानिन्छ । ‘बिस्तारै हाम्रो माटो कामै नलाग्ने हुँदैछ,’ श्रेष्ठले भने, ‘यसले उत्पादनमा झनै समस्या हुने देखिन्छ ।’

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully