१० पालिकाका ९ हजार घरपरिवार व्यावसायिक सुन्तला खेतीमा, धान, तोरी, कोदो र मकै फल्ने खेतबारीमा किसानले बनाए सुन्तला बगैंचा
अर्जुनचौपारी, स्याङ्जा — अर्जुनचौपारी गाउँपालिका–१ स्थित त्रिपुत्र बागवानी फर्मका सञ्चालक फणिनारायण अर्याललाई काठमाडौंमा सुन्तला पठाउन भ्याइनभ्याई छ । उमेरले ६८ वर्ष टेकेका अर्यालको आँगनभर कफी सुकाइएको छ । घरमाथि लटरम्म सुन्तला छन् । कोही डोकाका डोका सुन्तला टिपेर ल्याउन व्यस्त छन् । फणिनारायण, उनकी श्रीमती दुर्गा र कान्छा छोरा सागरबाबु भने सुन्तला ग्रेडिङ गरेर कार्टुन र क्रेटमा राख्न व्यस्त छन् । फणिनारायणले काठमाडौंको भाटभटेनी सुपरमार्केटमा पठाउँछन् ।
‘सुन्तला खेती २०३७ सालबाटै सुरु गरेको हुँ, कफी लगाउन थालेको २०५६ सालबाट हो,’ फणिनारायणले भने, ‘८० रोपनी क्षेत्रफलमा त सुन्तला नै लगाएको छु, आफ्नै बगैंचाको सुन्तला मात्र वार्षिक ६० लाखभन्दा बढीको बेच्छु ।’ आसपासका किसानका सुन्तला पनि किनेर भाटभटेनी पठाउने गरेको उनी बताउँछन् । कालीमाटी र बल्खुस्थित तरकारी एवं फलफूल बजारमा पनि उनले सुन्तला पठाउँछन् । अहिले उनले सुन्तला ग्रेडिङ गर्ने मेसिन पनि घरमै राखेका छन् ।
‘केही समयअघि अस्ट्रेलियामा सुन्तलाबारे अध्ययनका लागि गएको थिएँ, डेढ महिना बसें, त्यहाँ ग्रेडिङ मेसिन देखें,’ उनी भन्छन्, ‘मलाई पनि मेसिन राख्न मन लाग्यो र नेपाल आएर किनें । मेसिन राखेपछि धेरै सजिलो भएको छ ।’ उनले ‘ए’ ग्रेडका सुन्तला प्रतिकिलो १ सय १७ रुपैयाँमा बिक्री गरिरहेका छन् । ‘बी’ ग्रेडका ७० र ‘सी’ ग्रेडको सुन्तला किलोको २५ रुपैयाँमै बिक्री गर्दै आएका छन् । ‘गत वर्ष ६० लाख बराबरको आफ्नै बगैंचाबाट बेचें, सबैतिरबाट जम्मा गरेको सहित बर्सेनि ४ करोड रुपैयाँ बराबरको सुन्तला बेच्दै आएको छु,’ फणिनारायणले भने ।
यो वर्ष २५ पुससम्म करिब साढे ३ करोड रुपैयाँको सुन्तला बिक्री गरिसकेको उनले सुनाए । ‘चार करोडभन्दा बढीकै सुन्तला बेच्ने अनुमान छ,’ उनले भने, ‘सुन्तला राख्ने कोल्डस्टोर पनि छ, यो बनाउन गण्डकी प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान पाएँ ।’ उनले गत वर्ष २८ टन कफी उत्पादन गरेको बताए । बोक्रा फालेपछिको कफी प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री भएको उनको भनाइ छ ।
फणिनारायणको सुन्तला बगैंचामा सिजनमा प्रत्यक्ष ६० जनाले रोजगारी पाउँछन् । ‘अघिपछि पाँच जना हुन्छन्, यो पटक ३ कात्तिकमा अगौटे जातको सुन्तला बिक्री गरें, यो क्रम माघसम्म चल्छ,’ उनले भने । ‘८ जना छोराछोरी यसैको आम्दानीले पढाएँ, बिहे–व्रतबन्ध सकें, २५ रोपनी थप जग्गा किनेर सुन्तला खेती बढाएँ,’ उनले भने, ‘टारी खेतको धान मासेर सुन्तला बगैंचा बनाएँ ।’ ठूलो छोरा दीपेन्द्रले अस्ट्रेलियामा कृषिमै विद्यावारिधि गरेको र माइलो छोरा बद्रीले अमेरिकामा एमडी गरिरहेको उनले सुनाए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का बाट आउने स्वयंसेवकले सुन्तला रोप्ने र लामो समय टिकाउ गराएर राख्नेबारे सिकाइदिएको पनि फणिनारायणले जनाए ।
सुन्तलाका दाना, बेर्ना र कफी बेचेर राम्रो आम्दानी गर्ने अर्का किसान हुन्, पुतलीबजार नगरपालिका–११ स्थित मायाटारीका ५० वर्षीय बोधराज अर्याल । २० रोपनी क्षेत्रफलमा उनले सुन्तलाका १ हजार ५ सय बोट लगाएका छन् । ‘सुन्तला मात्र वार्षिक १५ लाख रुपैयाँको बिक्री हुन्छ, खेती गर्न थालेको तीन दशक भयो, घर–आँगनमै सुन्तला लिन व्यवसायी आउँछन्,’ उनले भने, ‘यहाँको सुन्तला काठमाडौं, पोखरा, बुटवल र नारायणगढसम्म जान्छ ।’ चार जनाको परिवार यसैबाट पालिएको उनले सुनाए । जाइकामार्फत १० महिना जापानमा बसेर तरकारी खेतीसम्बन्धी तालिम लिएर फर्किएको पनि उनले सुनाए ।
बोधराजका अनुसार सुन्तलाका बेर्ना बिक्रीबाटै वार्षिक करिब २५ देखि ३० लाख रुपैयाँ आम्दानी हुन्छ । ‘बेर्ना कास्की, लमजुङ, पर्वत र बागलुङ पठाउँछु,’ उनले भने । बोधराजले सुन्तलाका पाँचवटा ‘हाइटेक’ नर्सरी सञ्चालन गरेका छन् । अहिले बिक्रीका लागि ४० हजार बिरुवा ठिक्क छन् । बोधराजले २० रोपनी जग्गा भाडामा लिएर कफीखेती गरेका छन् । उनका अनुसार कफी जापान निर्यात हुन्छ । ‘तर सुन्तला राख्ने कोल्डस्टोरको समस्या छ,’ उनले भने, ‘ठाउँ–ठाउँमा बनेका त छन्, सुन्तला राख्ने खालका भने भएनन् ।’ खेती गर्छु भन्नेलाई ५० प्रतिशत अनुदानमा सुन्तलाका बिरुवादेखि त्यसलाई चाहिने मललगायत कुरा मागेअनुसार दिने गरिएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।
‘गाउँपालिकाभित्र प्रत्येक वर्ष ४०/५० रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्ने योजना बनाएका छौं, त्यसअनुसार विस्तार पनि भएको छ,’ प्रकाशले भने, ‘विदेशबाट फर्किएर आउनेलाई गाउँमै बस्ने वातावरण बनाउँदै जीविकोपार्जनमा सजिलो होस् भनेर सुन्तलाबाट तीन/चार लाख रुपैयाँ वार्षिक आम्दानी हुने बनाउने हो । ताकि आम्दानीको स्रोत खोज्दै गाउँ छोड्न नपरोस् ।’ त्यसका लागि किसानलाई सुन्तला खेती विस्तारमा सहयोग गरिरहेको उनको भनाइ छ ।
२०७३/७४ मा चार पालिकाका केही वडामा सुन्तला जोन लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाकी सूचना अधिकारी प्रतिभा बुढाथोकीले जनाइन् । ‘२०७५/७६ सालमा तिनलाई सुपर जोनमा परिणत गरिएको हो,’ उनले भनिन्, ‘२०७७/७८ मा जिल्लाको सम्भावित क्षेत्रमा सुन्तला सुपर जोन लागू भयो ।’ सुपर जोन लागू हुँदा सिँचाइ, बिरुवा र त्यसलाई चाहिने औजार, औषधिलगायतमा ५० प्रतिशत अनुदानको व्यवस्था हुने उनको भनाइ छ ।
२ हजार ४ सय हेक्टर क्षेत्रफल सुन्तलाको उत्पादनशील क्षेत्र रहेको कृषि विकास कार्यालय स्याङ्जाका कृषि अर्थविज्ञ एवं सूचना अधिकारी नारायणप्रसाद पाठकले बताए । १ हजार ४ सय २० हेक्टर उत्पादन उन्मुख र ९ सय ८० हेक्टरमा सुन्तलाका नयाँ बोट हुर्कंदै छन् । साढे ९ हजार घरपरिवार सुन्तला खेतीमा आबद्ध रहेको उनले जनाए ।
‘गत आर्थिक वर्षमा स्याङ्जाभरबाट १ अर्ब २० करोड रुपैयाँको सुन्तला बिक्री भएको थियो,’ नारायणले भने, ‘यस वर्ष १ अर्ब ३२ करोड रुपैयाँको बिक्री हुने अनुमान छ ।’ सुन्तला बगैंचा जिल्लामा विस्तार हुने क्रम बढ्दो रहेको उनले सुनाए । कृषि विकास कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिकाका १, २, ३ र ६, आँधीखोला गाउँपालिकाका २ र ४, गल्याङ नगरपालिकाका ५, ६, ७, ९, १० र ११ नम्बर वडामा व्यावसायिक सुन्तला खेती हुन्छ । त्यस्तै पुतलीबजार नगरपालिकाका १, २, ३, ५ ,६, ७, ८, १०, ११, १३ र १४, चापाकोट नगरपालिकाको ६, फेदीखोला गाउँपालिकाका १, २ र ४, बिरुवा गाउँपालिकाका ३ र ८, भीरकोट नगरपालिकाका २, ३, ५, ७ र ६, वालिङ नगरपालिकाका २, ४, ५, ८, ११, १३ र १४ वडा सुन्तलाका पकेट क्षेत्र हुन् ।
बिरुवाका १, २, ७ र हरिनाश गाउँपालिकाका ३ र ६ नम्बर वडामा सुन्तलाको व्यावसायिक खेती हुन्छ । ‘जिल्लामा सुन्तला खेतीमा एकदम आकर्षण बढ्दो छ, बजार पनि राम्रो छ, सुन्तला फलेपछि व्यापारी बगैंचा बगैंचामा नै पुग्छन्,’ उनले भने, ‘बजारको समस्या छैन, पहिला मकै, कोदो, गहुँ र तोरी लगाउने फाँट अहिले सुन्तलाका बोटले भरिएका छन् ।’ कार्यालयले सुन्तला जात फलफूल बगैंचा सुदृढीकरण कार्यक्रम राखेको उनले सुनाए । ‘फल टिपिसकेपछि काँटछाँट गर्ने, रोगकिरा नियन्त्रण गर्ने काम हुन्छ,’ नारायणले भने, ‘यसका लागि कार्यालयले ९० वटा किसान समूहसँग सम्झौता गरेको छ, त्यसमा बगैंचा सुधार, सिँचाइ, रोगकिरा नियन्त्रण गर्ने गरी क्यालेन्डर बनाएर काम गरेका छौं ।’
पहिला बेर्ना लगाउनमा बढी ध्यान दिए पनि अहिले बगैंचा जोगाउनुपर्छ भनेर कृषि विकास कार्यालयले सहयोग गरिरहेको नारायणको भनाइ छ । चालु आर्थिक वर्षमा कृषि सुदृढीकरणका लागि भनेर कार्यालयले ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ । ‘व्यक्तिगत दर्तावाला फर्म वा समूहबाट आए त्यसलाई रकम उपलब्ध हुन्छ,’ उनले भने, ‘यसमा ५० प्रतिशत कार्यालयले र ५० प्रतिशत किसान आफैंले बेहोर्नुपर्छ ।’ सुन्तलालाई लामो समयसम्म जोगाएर राख्ने कोल्ड स्टोरको भने समस्या रहेको उनको गुनासो छ ।
