जेन-जी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको कर र नवीकरण दस्तुर मिनाहा गर्छौं : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले आफ्नो प्रदेशअन्तर्गत पूर्ण रूपमा नष्ट भएका सवारीको चालु आर्थिक वर्ष २०८२/८३ को कर तथा नवीकरण दस्तुर छुटसहित निःशुल्क दर्ता खारेजी गरिने जानकारी दिए ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

We will waive taxes and renewal fees for vehicles damaged during the Gen-G movement: Chief Minister Baniya

What you should know

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनको कर र नवीकरण दस्तुर मिनाहा गरिने बताएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन गर्दै उनले आफ्नो प्रदेशअन्तर्गत पूर्ण रूपमा नष्ट भएका सवारीको चालु आर्थिक वर्ष २०८२/८३ को कर तथा नवीकरण दस्तुर छुटसहित निःशुल्क दर्ता खारेजी गरिने जानकारी दिए । उनले आंशिक क्षति भएका सवारीसाधन प्रयोग नहुन्जेलसम्म कर छुट दिने प्रक्रिया अघि बढाइएको बताए ।

सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीका लागि जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत सुरु गरिएको बताउँदै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका यातायात कार्यालयमा सेवा विस्तार र डिजिटलाइजेसनका केही काम भइरहेकाले आफ्ना सेवाप्रवाहलाई थप डिजिटल, पारदर्शी र सहज बनाइने उल्लेख गरे । अनलाइन र डिजिटल प्रविधिमार्फत घरैबाट सेवा लिने वातावरण बनाइने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले नागरिकले सेवा लिनका लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य गरिने बताए । उनले यातायात व्यवसायीलाई थप व्यवस्थित बनाउन तथा सवारी दुर्घटनामा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सवारीसाधन नवीकरण गर्दा बिमाको प्रिमियमसमेत असुल गरिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

यातायात कार्यालयमा बिचौलियालाई निषेध गरी सेवा पारदर्शी बनाउने अभियानस्वरूप ‘बिचौलिया निषेध क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको जनाउँदै मुख्यमन्त्री बानियाँले अनलाइन भुक्तानी प्रणालीमा सेवाग्राहीलाई जोडेर घरमै बसेर सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने बताए ।

मालसामान ढुवानी, ओसारपसारमा ट्रक व्यवसायीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले स्वदेशी व्यवसायीले भारतीय सवारीसाधनसँग प्रतिस्पर्धा गर्न कठिन रहेकाले संरक्षणका लागि तीन तहका सरकारसँग समन्वय गरी आवश्यक योजना निर्माण गरिने धारणा राखे ।

कान्तिपुर

Link copied successfully