गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा उत्पादन हुने ‘थोर्गेली गुड’ले यतिबेला आफ्नै पहिचान बनाइसकेको छ।
What you should know
गुल्मी — हिउँद होस् वा बर्खा, उखु काटेर पेल्ने सिजन कुर्नै नपर्ने। सिजनमै पेलेको उखुको रसबाट बनेको खुदो वर्षभर पुग्छ र त्यही खुदो पाकेर गुड बनिरहन्छ। तयार भएको गुड स्टोर गरेर राख्नै नपर्ने।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा उत्पादन हुने ‘थोर्गेली गुड’ले यतिबेला आफ्नै पहिचान बनाइसकेको छ।वर्षभर उत्पादन र सहज बजारीकरण हुने भएपछि थोर्गामा उखु खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय किसानका अनुसार ‘थोर्गेली गुड’लाई बजारको कुनै समस्या छैन।
रुरु क्षेत्र गाउँपालिका–३ का चोलानाथ ज्ञवाली पुर्ख्यौली रूपमा उखु खेती गर्दै आएका किसान हुन्। नौ वर्षअघि उखु खेती विस्तार गरेका उनले हाल ८५ रोपनीमा उखु रोपेका छन्, जसमा ४५ रोपनी जग्गा लिजमा लिएका छन्। उनका बारीमा कालागन्थ, रातो कोसेर, जीतपुरे–५ र लोकल जातका उखु लगाइएका छन्।
उनको फार्ममा आधुनिक ठूलो मेसिन जडान गरिएको छ, जसबाट एकै पटक ठूलो मात्रामा उखु पेल्न सकिन्छ। दैनिक ६ जना कामदारले नियमित रोजगारी पाएका छन् भने सिजनमा १२–१५ जनासम्मले काम पाउने गरेका छन्।
उनका अनुसार उखु, खुदो र गुड बिक्रीबाट वार्षिक करिब २५ लाख रुपैयाँ कारोबार हुन्छ, जसबाट खर्च कटाएर झण्डै आधा आम्दानी हुन्छ। उनले वार्षिक खुदो र गुड गरी करिब नौ मेट्रिक टन बजारीकरण गर्दै आएका छन्। 'बजारको कुनै समस्या छैन,' उनले भने।
'आफैं मेहनत गरेर गर्ने हो भने उखु खेतीबाट राम्रो आम्दानी हुन्छ,' ज्ञवाली भन्छन्, 'अनुदानको मात्रै आशा गर्नेहरू टिक्दैनन्, आफैं गर्ने र अलिअलि सहयोग पाउनेहरू लामो समयसम्म टिक्छन्।' उखु खेतीमा बाँदर आतंक मुख्य समस्या रहेको उनले बताए।
उक्त फार्ममा तीन वर्षदेखि काम गर्दै आएका टोपबहादुर पौडेलले उखुको रसबाट पूर्ण रूपमा अर्ग्यानिक गुड तयार हुने बताए। 'उखु पेलिन्छ, पकाएर खुदो बनाइन्छ, अनि खुदो पकाएर गुड,' उनले भने,'कुनै मिसावट हुँदैन।' उनका अनुसार थोर्गेली गुड पोखरा र काठमाडौंसम्म पाहुरका रूपमा लैजाने गरिन्छ।
सोही गाउँका शिशिर ज्ञवालीले ‘ज्ञवाली कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्दै उखु खेती विस्तार गरेका छन्। हाल २० रोपनीमा उखु लगाएका उनी पाँच वर्षदेखि व्यावसायिक रूपमा यसमा जुटेका छन्। उखु, खुदो र गुड बिक्रीबाट वार्षिक चार–पाँच लाख रुपैयाँ आम्दानी हुने उनी बताउँछन्। 'परम्परागत बाली छाडेर उखु खेती गरेका छौं,' उनले भने, 'बाँदर र अन्य प्रकोप नियन्त्रण चुनौती छ।'
उनले वार्षिक ३५ क्विन्टल गुड बिक्री गर्छन्। फार्मबाट प्रतिकिलो २८० रुपैयाँमा गुड बिक्री हुने गरेको छ। एकै ठाउँमा लगातार खेती गर्दा उत्पादन घट्ने भएकाले पाँच–सात वर्षमा बाली परिवर्तन गर्ने उनको योजना छ।
सोही ठाउँका गंगाधर ज्ञवालीले सात वर्षदेखि मकै र तोरी छाडेर उखु खेती गर्दै आएका छन्। ११ रोपनी क्षेत्रफलमा उखु खेती गरेका उनी वार्षिक करिब तीन लाख रुपैयाँ खुदो बिक्रीबाट बचत गर्ने बताउँछन्। 'उखु खेती अन्य खेतीभन्दा दस गुणा राम्रो छ,' उनले भने।
थोर्गामा उखु खेतीका लागि प्रसिद्ध भएपछि रुरु बहुउद्देश्यीय सहकारी संस्थामार्फत ‘थोर्गेली गुड तथा खुदो उद्योग’ सञ्चालनमा आएको छ। उद्योगमा हाल १३४ उखु किसान आबद्ध छन्। उद्योगले गुडसँगै क्यान्डी चकलेटसमेत उत्पादन गर्दै आएको छ।
अगुवा किसान संस्था अध्यक्ष भेषराज ज्ञवालीका अनुसार उद्योग संरचना निर्माणमा रुरु क्षेत्र गाउँपालिका, हेफर इन्टरनेशनल, घरेलु तथा साना उद्योग कार्यालय र कृषि ज्ञान केन्द्र गुल्मीको सहयोग रहेको छ। उद्योगले प्रतिकिलो ११ रुपैयाँमा उखु खरिद गर्छ भने प्रशोधनपछि गुड प्रतिकिलो २७५ रुपैयाँमा बिक्री हुन्छ। क्यान्डी चकलेट प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुने गरेको छ।
उद्योगले वार्षिक २७० मेट्रिक टन उखु खरिद गरी १९.४९ मेट्रिक टन गुड, ६ हजार २६२ लिटर खुदो र ४८२ किलो क्यान्डी बिक्री गरेको छ। यसबाट वार्षिक ६४ लाख २७ हजार रुपैयाँ आम्दानी भई १९ लाख रुपैयाँ खुद नाफा भएको सहकारीले जनाएको छ।
हाल व्यक्तिगत र सहकारीमार्फत झण्डै चार हजार रोपनी क्षेत्रफलमा उखु खेती भइरहेको छ। यसबाट करिब ४० मेट्रिक टन गुड उत्पादन हुने गरेको छ।
रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार थोर्गेली गुडले कोसेली र पाहुरका रूपमा बजार विस्तार गरिरहेको छ। 'किसानलाई प्रोत्साहन गर्न अनुदान, जैविक मल, प्राविधिक सहयोग, बजार प्रवर्द्धन र ब्राण्डिङमा पालिकाले काम गरिरहेको छ,' उनले भने।
