तीन साताअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षणका क्रममा मजदुर र श्रमिक थपेर काम गर्न निर्देशन दिएपछि बिहान ७ बजेदेखि राती १० बजेसम्म काम गरेर राजमार्गमा ढलान सडकको काम सकिएको हो ।
What you should know
नवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत पूर्वी खण्डको दुम्कीबासदेखि पश्चिम सवा २ किलोमिटर सडकमा पक्की ढलानको काम सम्पन्न भएको छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका कल्सल्ट्यान्ट इन्जिनियर राकेश झाका अनुसार राजमार्गको एकतर्फी खण्डको ढलानको काम सकिएको हो ।
दुम्कीवास बजारदेखि पश्चिम विश्वकर्मा मन्दिरसम्मको क्षेत्रमा स्विकृत ढलान सडकको एकतर्फी काम शनिबार सकिएको हो ।
महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबास–बर्दघाटबीचको पहाडी दाउन्ने सडक खण्डअन्तर्गत पूर्वी खण्डको ढलानको काम सकिएको हो । त्यो खण्डमा आउँदो माघ महिनाभित्र साढे १२ मिटर दुईतर्फी सडक ढलानको काम सक्ने गरी धमाधम काम भइरहेको छ ।
तीन साताअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षणका क्रममा मजदुर र श्रमिक थपेर काम गर्न निर्देशन दिएपछि बिहान ७ बजेदेखि राती १० बजेसम्म काम गरेर राजमार्गमा ढलान सडकको काम सकिएको हो ।
दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये शनिबारसम्म करिब ६ किलोमिटर सडक ( ढलान र कालोपत्र) निर्माणको काम पूरा भएको छ । तत्कालीन मन्त्री घिसिङले स्थलगत निरीक्षणका क्रममा माघ महिनाभित्र दाउन्ने सडकमा एकतर्फी आउजाउ हुन सक्ने गरी काम सक्न कडा निर्देशन दिएका थिए ।
दाउन्नेमा ३ लेनको राजमार्ग निर्माणको काम भइरहेको छ । दाउन्नेदेखि पूर्व गैंडाकोटसम्मको ६० किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा छ । आउँदो फागुनसम्म गैंडाकोटदेखि दाउन्नेसम्मको सडक निर्माणको काम सकिने इन्जिनियर झाले दाबी गरेका छन् ।
दाउन्नेमा पहाड र धेरै पानी रसाउने ठाउँ भएका कारण ढलान सडक निर्माणको काम थालिएको हो । सुरुमा सडकको सर्भे गर्दा कालोपत्र सडकको स्टिमेट भए पनि त्यसलाई परिवर्तन गरेर धेरै पानी रसाउने स्थानमा ढलानको काम अघि बढाइएको हो ।
