पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

२०८२ मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ  ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Remittances worth Rs. 870 billion arrived in five months

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । 

गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो। गत वर्ष मंसिरको तुलनामा चालु आर्थिक वर्षको साेही महिनामा रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भएको छ। विप्रेषण आप्रवाह ६ अर्ब १६ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully