शनिबार राष्ट्रिय रेशम सम्मेलन हुँदै

ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपालले रेशम विकास केन्द्रसँगको सहकार्यमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गर्दैछ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

National Silk Conference to be held on Saturday

काठमाडौँ — ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपालले रेशम विकास केन्द्र, खोपासी (काभ्रेपलाञ्चोक) सँगको सहकार्यमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गर्दैछ । पुस २६ (शनिबार) काठमाडौंमा सम्मेलन हुने आयोजकले जनाएको छ । 

नेपालको रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगको रूपमा पुनःस्थापित गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली , विकास साझेदार, किसान, सहकारी, उद्यमी तथा निर्यातकर्ताहरूलाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिने जनाइएको छ ।

ह्यान्डलुमका अध्यक्ष रोशनकुमार पोखरेलले नेपालमा आज रेशम उद्योग सञ्चालनमा नरहेको बताए । 'सम्भावना नभएकाले उद्योग नभएको होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो,' उनले भने, 'विश्व बजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई बेवास्ता गर्न सकिँदैन ।'

रेशम विश्वकै उच्च मूल्य हुने कृषि -औद्योगिक उत्पादनहरूमध्ये एक रहेको जनाएको छ । रेशम उत्पादनले प्रतिहेक्टर उच्च आम्दानी, न्यून कार्बन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएकाले  निर्यात गर्न सकिने जनाएको छ ।

यथार्थपरक उत्पादन र मूल्य अभिवृद्धि मोडल अनुसार, २२,००० हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी) खेतीसँगै रेशम किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र परिधान निर्माणलाई एकीकृत रूपमा विकास गर्न सकेको खण्डमा वार्षिक पाँच खर्ब रुपैयाँ बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully