तरकारीको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
What you should know
काठमाडौँ — सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाउ (उपभोक्ता मूल्यवृद्धिदर) गत मंसिरमा १.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो ६.०५ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धिदर) १.६३ प्रतिशत रहेको छ ।
मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको औसत मुदास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।
मंसिरमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांंक ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.५४ प्रतिशत, मरमसलाको८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।
मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८३ प्रतिशतले बढेको छ ।
