राष्ट्र बैंकले ऋणपत्रमार्फत २ खर्ब झिक्दै, आजसम्म १ खर्ब ३० अर्ब झिकिने   

यससँगै राष्ट्र बैंकले करिब एक साताको अवधिमा छैटौंपटक ऋणपत्र जारी गरिसकेको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws 200 billion through bonds, 130 billion to be withdrawn till date

What you should know

काठमाडौँ — राष्ट्र बैंकले ऋणपत्रमार्फत बजारबाट आज १० अर्ब रुपैयाँ झिक्न लागेको छ । गत साता सोमबारयता बैंकले १ खर्ब २० अर्ब रुपैयाँ झिकिसकेको छ ।

आजसम्म गरेर राष्ट्र बैंकले यो उपकरणमार्फत १ खर्ब ३० अर्ब रुपैयाँ झिक्दै छ । यससँगै राष्ट्र बैंकले करिब एक साताको अवधिमा छैटौंपटक राष्ट्र बैंक ऋणपत्र जारी गरिसकेको छ । 

गत साता सोमबार १० वर्षपछि राष्ट्र बैंकले पहिलोपटक ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिकेको थियो । त्यसयता थप तीनवटा ऋणपत्रमार्फत २५/२५ अर्ब रुपैयाँका दरले १ खर्ब रुपैयाँ झिकिसकेको छ । यस्तै, ऋणपत्रमार्फत बुधबार २० अर्ब झिकिसकेको राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंक ऋणपत्र जारी भइसकेको छ ।

बुधबार जारी भएको ऋणपत्रमा २० अर्बका लागि आवेदन आह्वान गरेकामा ३७ अर्ब ५० करोडका लागि बोलकबोल प्राप्त भएको छ । १७ वटा बैंक तथा वित्तीय संस्थाले ५४ वटा बोलकबोल गरेका थिए । सो ऋणपत्रमा औसत २.७२ प्रतिशत ब्याजदर निर्धारण भएको छ । 

बजारमा तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको हो । यो चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । 

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि ऋणपत्रको साँवा भुक्तानी हुनेछ । ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् । 

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ । यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न पाइन्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully