राजनीतिसँगै कृषिमा ‘छलाङ’

राजनीति, कृषिसँगै पन्थको अर्को रुचि गीतसंगीत पनि हो । लगत्तै कृषिसम्बन्धी गीत बजारमा ल्याउने तयारीमा रहेको उनले बताए ।

पुस २४, २०८२

रामप्रसाद चौहान 

'Leap' in agriculture along with politics

What you should know

बर्दिया — राजनीति गर्नेले ‘झोला बोकेर’ नेता र जनताको दैलोमात्र धाउनुपर्छ भन्ने के छ र ? फुर्सदमा आय–आर्जनका काम गरेर आन्मनिर्भर पनि बन्न सक्नुपर्छ । पछिल्लो समय राजनीतिसँगै आय–आर्जनका काममा संलग्न पनि भेटिन्छन् । त्यस्तै व्यक्तिमध्ये जिल्लाको मधुवन–४ का सुरेश पन्थ एक हुन् ।

जिल्लामा व्यावसायिक रूपमा कृषि कर्म गर्ने व्यक्तिका रूपमा उनको परिचय बनेको छ । उनलाई ‘नेता’ भन्दा कृषकका रूपमा चिन्ने धेरै छन् । २०७९ सालमा तत्कालीन एकीकृत माओवादीबाट बर्दिया–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । त्यसयता जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा व्यस्त छन् । 

गुलरिया नगरपालिका–३ मा उनको समावेशी कृषि फर्म प्रालि रहेको छ । उक्त फर्ममा प्राकृतिक तरिकाले माछा पालनका साथै बाह्रैमास फल्ने सुन कागती खेती गरिएको छ । यसबाहेक तरकारी बालीको जात संरक्षण र अनुसन्धानका लागि थारु आलु र रैथाने लसुन खेती गरेका छन् । फर्म कृषकका लागि अध्ययन केन्द्र बनेको छ । राँगा पालनका लागि निर्माणधीन अत्याधुनिक संरचना अन्तिम चरणमा पुगेका छन् । उर्वर जमिन, सिँचाइ सुविधा रहेको र स्थानयि बासिन्दा भएकाले जिल्ला रोजेर कृषिमा होमिएको उनले बताए । 

‘राजनीतिलाई समाज सेवा मानेको छु,’ उनले भने, ‘कृषि मेरो वास्तविक पेसा हो ।’ स्थानीयलाई राँगा पाल्न प्रोत्साहन गर्ने र उनीहरूले उत्पादन गरेका राँगा खरिद गर्ने सोचमा लगानी गरेको उनले बताए । यो योजनाबाट जिल्लास्थित अन्य कृषक पनि खुसी छन् । गुलरिया–३ मा प्राकृतिक तरिकाले माछा पालन गरिएको छ । गुलरिया नगरपालिकासँग पुरानो सर्जुनदी भाडामा लिएर माछा पालन गरेको उनले बताए । करिब एक किलोमिटर नदी खण्डमा तीन महिनाअघि एक लाख भुरा छोडेका छन् । नदीको उक्त खण्डमा घाँस र लेउ उमारेर माछाका भुरा छोडेका कारण कृत्रिम दाना खुवाउन नपरेको पन्थको भनाइ छ । 

उनको कागती खेती पनि जिल्लामा आकर्षण बनेको छ । ६ वर्षअघि मधुवन–८ स्थित आफ्नै तीन बिघा खेतमा परीक्षणका रूपमा उनले सुन कागती खेती गरेका थिए । त्यहाँ कागती फस्टाएपछि ४ वर्षअघि गुलरिया नगरपालिका–३ स्थित बाँझो रहेको ८ बिघा जग्गा भाडामा लिएर कागती खेती बिस्तार गरेका थिए । ८ मध्ये ४ बिघामा कागती रोपेको ४ वर्ष भइसकेको छ । अर्को ४ बिघामा कागती खेती गरेको ३ वर्ष पुगेको उनले बताए । ‘चार वर्षमै कागतीले उत्पादन दिन सुरु गर्‍यो,’ उनले भने, ‘कागतीको उत्पादनबाट सन्तुष्ट छु ।’ बर्सेनि ९६ प्रतिशत कागती आयात भइरहेकाले खेती गरेको उनले बताए । 'Leap' in agriculture along with politics

गुलरिया र नेपालगन्जमा कागती खपत भइरहेको पन्थले बताए । ‘प्रविधिको प्रयोग गरी कागती खेती गर्दा सजिलो भइरहेको छ,’ उनले भने, ‘कागती खेतीमा थोपा सिँचाइको व्यवस्था गरेको छु, प्रत्येक कागतीको बोटको जरासम्म पाइप पुर्‍याएको छु, भिटामिन र औषधि थोपा सिँचाइमार्फत पुगेको छ । साथै जनशक्तिको आवश्यकता पनि परेको छैन ।’ ४ बिघामा कागती फल्न सुरु भएदेखि अहिलेसम्म ३० क्विन्टल कागती बिक्री भइसकेको उनले बताए । अहिले पनि बोटमा लटरम्म कागतीका दाना छन् । पहिलो वर्ष एक सय क्विन्टल कागती फल्ने र करिब १२ लाख बराबर आम्दानी हुने उनले अनुमान गरेका छन् । 

पछिल्लोपटक ‘युरो’ मापदण्ड अनुसार राँगा पाल्न ४ वटा ठूला आधुनिक गोठ निर्माण गरिसकेका छन् । प्राविधिकको सल्लाहमा खोरेत रोगरहित गोठ निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । ‘छिटो उत्पादन र स्वस्थ मासुका लागि राँगालाई खुला रूपमा पाल्ने योजना छ,’ उनले भने, ‘प्राविधिकको सल्लाहअनुसार गोठमा दाना, घाँस खुवाउन उपयुक्त ठाउँ बनाइएको छ, खुला रूपमा पाल्ने हुनाले गोठको अगाडि पोखरी हुन्छ, जहाँ इच्छाअनुसार राँगा नुहाउन र खेल्न पाउँछन् ।’

तीन महिनाभित्र संरचना निर्माण सम्पन्न सकिने उनले बताए । त्यसको ६ महिनाभित्र घाँस लगाएर एक हजार पाडा पाल्ने तयारी पूरा गरिएको उनले बताए । ४० हजार मेट्रिक टन घाँस अटाउने क्षमताको गोदामको निर्माण पनि अन्तिम चरणमा छ । वार्षिक प्रतिबिघा ३० हजारका दरले १५ वर्षका लागि १६ बिघा जग्गा लिजमा लिएका छन् । 

राजनीति, कृषिसँगै पन्थको अर्को रुचि गीतसंगीत पनि हो । आफैंले गीत रचना र संगीत भरेका छन् । लगत्तै कृषिसम्बन्धी गीत बजारमा ल्याउने तयारीमा रहेको उनले बताए । यसबाहेक मुलुकमा कोरोना महामारीका बेला व्यक्तिगत लगानीमा जिल्लाका सर्वसाधारण, सञ्चारकर्मी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरेका थिए । सामाजिक योगदानबापत २०७७ सालको संविधान दिवसका अवसरमा युवा उद्यमी पन्थ राष्ट्रपतिबाट जनसेवाश्री पञ्चम श्रेणीद्वारा विभूषित पनि भइसकेका छन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully