बुटवल–नारायणगढको ११३ किमि सडक विस्तार ४० महिनामा सम्पन्न गर्ने गरी चैत २०७५ मा ठेक्का सम्झौता भएको ७ वर्ष बित्दा पनि अझै २६ प्रतिशत काम बाँकी नै छ।
What you should know
परासी — ठेक्का सम्झौताअनुसार काम भएको भए अहिले बुटवल–नारायणगढ सडकखण्डमा निर्बाध सवारी साधन सञ्चालन हुने थिए । १ सय १३ किलोमिटरको यो राजमार्ग छिचोल्न सामान्य अवस्थामा करिब ३ घण्टा लाग्ने गर्छ । तर सामान्य वर्षा र शीतलहर चल्यो भने सोही खण्डमा पर्ने दाउन्ने क्षेत्र पार गर्न मात्रै ८–९ घण्टासम्म लाग्ने गरेको छ ।
बुटवलका विनोद परियार १५ पुसमा काठमाडौंबाट घर फर्किंदै थिए । राति १० बजे दुम्कीबास आइपुगेका उनलाई दाउन्ने खण्डको आधा भाग (दाउन्ने मन्दिरसम्म) को ७ किलोमिटर पार गर्नै १० घण्टा लाग्यो ।
त्यसपछि परियारसहित केही यात्रु हिँडेरै बर्दघाटतर्फ लागे । सवारीको जाम, हिलाम्य सडकका कारण यात्रुलाई हिँड्नसमेत सहज थिएन । बर्दघाटसम्म पुग्न उनीहरूलाई दुई घण्टा लाग्यो । त्यसपछि अर्को सवारीसाधनमा बुटवलतर्फ लागे ।
‘१४ किलोमिटर सडक पार गर्न १२ घण्टा लाग्यो । सडक हिलो र खाल्डाखुल्डी हुँदा पैदल हिँड्नसमेत सहज अवस्था छैन,’ परियारले भने, ‘जंगल र पहाडको बीचमा न केही किनेर खान पाइन्छ, न त दिसा पिसाब गर्ने स्थान नै छ । यो सास्ती कहिलेसम्म यात्रुले भोग्नुपर्ने हो ? सरकार कहाँ छ, के गर्दै छ !’
यो सास्ती दाउन्ने खण्डमा यात्रा गर्ने यात्रुले पटक–पटक भोग्दै आएका छन् । दाउन्ने खण्डबाट नजिकै पश्चिमतर्फ रूपन्देही र पूर्वतर्फ चितवन जाने यात्रु केही समय हिँडेर भए पनि अर्को सवारीबाट गन्तव्यमा पुग्छन् । तर, लामो दूरीका यात्रुलाई भने विकल्प छैन । दुई दिनसम्म पनि जाममा भोकै बस्नुपर्ने बाध्यता छ । बालबालिका, वृद्धवृद्धालाई त झन् यो सडकखण्डको यात्रामा सजाय दिएको भन्दा कम छैन ।
यस क्षेत्रमा यात्रा गर्ने यात्रु सँगै चालकका पीडा पनि उस्तै छ । गुल्मीका सवारी चालक किरण गिरी बुटवललगायत पश्चिम क्षेत्रका बजार तथा उद्योगबाट काठमाडौं सामान लैजाने गर्छन् । दाउन्ने खण्डमा सडक जाम हुने र सवारी सञ्चालनमा समस्या हुनेबित्तिकै ट्रक लगायतका ठूला सवारीसाधनलाई बर्दघाट वा दुम्कीबासमै रोक्ने गरिन्छ ।
पहिलो प्राथमिकता यात्रुवाहक सवारीलाई दिने भएकाले मालवाहक सवारी ४ दिनसम्म पनि दाउन्ने खण्डमा रोकिनुपर्ने बाध्यता छ । यात्रुवाहक सवारीसाधनका चालक दिनहुँ यही सडक ओहोरदोहोर गर्दा धूलोले स्वास्थ्यमा समस्या आउनुका साथै हरेक दिनको जाम र सडकको दुरवस्थाको कारण सास्ती भोगिरहनुपरेको छ ।
‘यात्रुसँगै हामीले पनि निकै सास्ती भोगेका छौं । धूलो सबै गाडीभित्र छिर्छ,’ गिरीले भने, ‘लगातार सात वर्षसम्म यो खण्डको यात्रामा धूलोले खोकी लाग्ने र श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । मास्क नलगाउने हो भने सवारी चलाउन नसक्ने अवस्था छ ।’
घण्टौंसम्म जाममा बस्नुपर्ने र सामान्य वर्षा हुँदा पनि सवारी चिप्लिने डर उत्तिकै छ । यो सडकखण्डको यात्रा गर्दा मौसमको जानकारी लिएर मात्र हिँड्नुपर्ने अवस्था छ ।
यात्रुलाई सधैंको पिरलो
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काम सुरु भएपछि दुम्कीबास र बर्दघाटको बीचमा रहेको दाउन्ने सडकखण्डमा सबैभन्दा बढी सवारी आवागमन अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्ने खण्डमा १ साउन २०८२ देखि २० पुससम्म ३२ पटक सडक अवरुद्ध भएको छ ।
यसले पनि दाउन्ने सडकखण्डको यात्रा कति कष्टकर छ भन्ने देखाउँछ । साँघुरो सडकमा अहिले पर्खाल लगाउने, कल्भर्ट बनाउने तथा ढलान गर्ने काम भइरहेको छ । एकतर्फी मात्र सवारी सञ्चालन गर्न सकिने अवस्थाको सडकमा दुईतर्फी यातायात चलिरहेका छन् । सडकको अवस्था दुरवस्था छ । खाल्डाखुल्डी, हिलो र धूलोका कारण दिनहुँ सवारीसाधन बिग्रिने समस्या पनि उत्तिकै छ । दुई–तीन स्थानमा ठूला सवारी बिग्रिए भने पनि सडक एकतर्फी हुँदा लामो जाममा पर्नुपर्ने अवस्था छ ।
‘सडकको अवस्था राम्रो छैन । मुख्य राजमार्ग भएकाले सवारीको चाप बढी छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख कुशल बर्तौलाले भने, ‘हामीले सकेसम्म ट्राफिक व्यवस्थापन गर्ने काम गरिरहेका छौं । यो खण्डको सास्ती कम गर्न सडक निर्माणलाई तीव्रता दिनु नै दीर्घकालीन उपाय हो ।’
काममा ढिलाइ, सरकार म्याद थपेको थप्यै
४० महिनामा हुनुपर्ने सडक विस्तारको काम ७ वर्ष (८४ महिना) बत्दा पनि सम्पन्न हुन सकेको छैन । जसले गर्दा यात्रु र स्थानीयले सास्ती भोगिरहेका छन् भने सरकारले चौथो पटक ठेक्का सम्पन्नको म्याद थपेको छ । चैत २०७५ मा काम सुरु गरेर साउन २०७९ मा निर्माण सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप हुँदा काम सम्पन्न भएको छैन ।
पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि ८ साउन २०८१ सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि ८ साउन २०८२ सम्मका लागि तेस्रो पटक म्याद थप भयो । उक्त अवधिमा पनि काम नसकिएपछि हाल २०८३ साउन मसान्तसम्मको म्याद थप भएको छ ।
अहिलेसम्म ७४ प्रतिशत मात्र काम भएको छ । १ सय १४ किमि सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको हो । पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किमिलाई खण्ड ‘ख’ अन्तर्गत बाँडेर दुई क्षेत्रमा काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाखको लागतमा राजमार्गको विस्तार भइरहेको हो ।
डिजाइनमा नै अलमल
दाउन्ने खण्डको ४ किलोमिटरमा कालोपत्र वा ढलान के गर्ने भन्नेमा अझै अन्योल छ । दाउन्ने खण्डको ४ किलोमिटर पूर्वी खण्ड र १० किलोमिटर पश्चिम खण्ड सबैमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, पछि दाउन्नेमा कालोपत्र नटिक्ने, बगाउने, सडक भासिने समस्या हुँदा जोखिम क्षेत्रमा ढलान गर्ने गरेर योजना कार्यान्वयनमा आयो ।
अहिलेसम्म दाउन्ने खण्डमा पूर्वतर्फ २ किमि ढलान भएको छ भने पश्चिमतर्फ कालोपत्र गर्नुपर्नेमा ५ किमिमध्ये ३ किमि मात्र भएको छ । माघको दोस्रो सातासम्ममा अहिले भइरहेको कामको मूल्यांकन गरेर ४ किलोमिटर क्षेत्रमा कालोपत्र गर्ने कि ढलान गर्ने भन्ने निर्क्योल हुने बुटवल नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीले बताए ।
‘अहिले दाउन्नेमा काम धमाधम भइरहेको छ । यातायात सञ्चालनमा समस्या देखिएको यो खण्डमा कामले तीव्रता लिए पनि यात्रुले अनुभूत हुने गरेर काम देखिन अझै केही समय लाग्नेछ ।’ उनले १० किमि खण्डमा कालोपत्र र ढलान गर्न स्वीकृति भए पनि ४ किमि क्षेत्रमा के गर्ने भन्नेमा छलफल भइरहेको बताए । ‘विभागीय मन्त्रीले पनि यो सडकखण्डको काममा निकै चासो दिनुभएको र जनवरीपछि कालोपत्र वा ढलान निर्क्योल गरेर आगामी असारसम्ममा दाउन्ने खण्डको काम सम्पन्न गर्ने लक्ष्यमा छौं,’ ज्ञवालीले भने ।
दाउन्ने खण्डमा पश्चिमतर्फको दुई वटा कल्भर्टबाहेक बाँकी कल्भर्ट बनाउने र साना तथा ठूला पुलको काम अन्तिम चरणमा छ । निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले यस खण्डमा दुई सिफ्टमा काम गरिरहेको छ ।
दिन र रात दुवै समयमा काम गरिरहेको र जनवरीको अन्तिमसम्ममा काम सम्पन्न गर्ने निर्माण कम्पनीका इन्जिनियर विनित कोइरालाले बताए । अहिलेसम्म स्वीकृत भएको काम सम्पन्न भएपछि बाँकी चार किमिमा आयोजनाले दिएको निर्देशनअनुसार काम हुनेछ । अहिलेसम्म काम सम्पन्न हुनुपर्नेमा अझै सडकको डिजाइनमा नै अलमल हुँदा यो काम समयमा नै सकिनेमा अन्योल नै छ ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना, पश्चिम खण्डका सुचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार सुरुको डिजाइनमा सबै खण्डमा कालोपत्र गर्ने नै थियो । ‘पछि दाउन्ने खण्डमा पानी जम्ने, सडक भासिने समस्याले गर्दा परामर्शदाता कम्पनीबाट दाउन्ने खण्डको केही भागमा ढलान गर्नुपर्ने प्रस्ताव आयो,’ उनले भने, ‘त्यही अनुसार केही खण्डमा ढलान गर्न थालिएको र केही खण्डमा डिजाइन स्विकृत गराएर काम गर्ने तयारी हुँदै छ ।’
विकल्प नसोच्दा सास्ती
बुटवल–नारायणगढ सडकखण्डमा पर्ने दाउन्ने क्षेत्र पार गर्ने वैकल्पिक मार्ग नहुँदा यात्रुले वर्षौंदेखि सास्ती भोगिरहेका छन् । विकल्पका रूपमा प्रयोग गर्न सकिने सडकमा राज्यले ध्यान दिएको छैन । यो सडक खण्डको विकल्पका रूपमा पश्चिमबाट बर्दघाटको भुताहा हुँदै उत्तरतर्फ आमवास र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको डाडाजोरदेखि दुम्कीबास खण्डलाई स्तरोन्नति गर्न सकिने भए पनि स्थानीय तह, प्रदेश र संघ तीनै सरकारले चासो देखाएका छैनन् ।
छोटो र सहज रूपमा दाउन्ने खण्ड पार गर्नका लागि साना सवारीलाई भुताहा, संसारकोट, पटुके, डाडाजोर हुँदै दुम्कीबास निस्कन सहज भए पनि हिलो र साँघुरो सडकका कारण यात्रा भने सहज छैन ।
१५ किमि लामो यो सडक ४ किमि मात्र कालोपत्र छ भने बाँकी सडक कच्ची र साँघुरो भएकाले स्कारपियो, फोर ह्विल जिप मात्र सञ्चालन हुँदै आएका छन् । बीचमा पर्ने गँगटे खोलामा पुल नहुँदा वर्षामा यो खण्ड प्रयोग गर्न सकिँदैन ।
लुम्बिनी प्रदेश सरकारले दाउन्नेको वैकल्पिक मार्गका रूपमा काम अगाडि बढाएको भए पनि पर्याप्त बजेट नहुँदा सडक चौडा बनाउने काम ढिलो भएको छ । तदारुकताका साथ यो खण्डमा काम भएको भए अहिले दाउन्ने खण्डमा सवारी रोकेर काम गर्नुपर्ने अवस्था आउने थिएन ।
पछिल्लो ५ वर्षमा वैकल्पिक मार्गका रूपमा लिइएको बर्दघाटको भुताहादेखि आमवाससम्मको ४ किमि मात्र कालोपत्र भएको छ । त्यसपछि यो खण्डमा बजेट परेको छैन । ‘वैकल्पिक मार्गमा संघ र प्रदेश सरकारले चासो दिएका छैनन् । स्थानीय तहले मात्र यो काम गर्न सक्दैन,’ बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ भन्छन्, ‘यो सडक स्तरोन्नति गर्ने हो भने पहाडी भेगको पर्यटन विकास र दाउन्ने खण्डको विकल्प हुने थियो । यात्रुले यसरी दुःख पाउनुपर्ने अवस्था आउने थिएन ।’
सडक विभाग र ट्राफिक प्रहरीले भने यो सडकखण्ड भएर सवारी सञ्चालन गर्न औपचारिक रूपमा सुझाव दिँदैनन् । वैकल्पिक मार्गको प्रयोग गर्दा सवारीधनीले रुट परमिट भने अनिवार्य रूपमा लिनुपर्ने छ । सडक विभागले नारायणगढबाट पश्चिम जाने सवारीलाई पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालीगण्डकी करिडोर हुँदै पाल्पा निस्किएर बुटवल जानुपर्ने छ । यो खण्डमा मिनी बस र यात्रुवाहक बस सञ्चालन गर्न सकिनेछ । ठूला सवारी र मालवाहक ट्रकले चितवनको मुग्लिनबाट पोखरा, पाल्पा हुँदै बुटवल निस्कनुपर्नेछ ।
