नेप्सेमा झन्डै १० अंकको वृद्धि, कारोबार रकम बढ्यो

१४८ कम्पनीका सेयरधनीले लाभ पाउादा १०३ कम्पनीका सेयरधनी नोक्सानीमा, ८ कम्पनीका सेयरधनीलाई नाफा न घाटा

पुस २३, २०८२

कान्तिपुर संवाददाता

NEPSE gains nearly 10 points, trading volume increases

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब १० अंकले बढेको छ । सोमबार २८.७३ अंकले बढेर २ हजार ६ सय ३९.३७ बिन्दुमा बन्द भएको नेप्से मंगलबार ९.९३ अंकले बढेर २ हजार ६ सय ४९.३० बिन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से ०.३७ प्रतिशतले बढेको हो । 

केही महिनायता नेप्सेले स्पष्ट दिशा तय गर्न सकेको छैन । यद्यपि पछिल्ला दुई दिनयता नेप्सेमा राम्रो सुधार देखिएको छ ।

केही सातायता अधिकांश दिन नेप्से घटेको छ भने थोरै दिन मात्र बढेको छ । मुलुकमा रहेको राजनीतिक अस्थिरताका कारण लगानीकर्ताको मनोबल खस्किएकाले उनीहरूमा थप लगानीका लागि उत्साह नभएको ब्रोकरहरूको भनाइ छ । 

चालु आर्थिक वर्षदेखि नै सरकार (वित्त नीति) र राष्ट्र बैंक (मौद्रिक नीति) सेयर बजारप्रति अनुकूल देखिएका छन् । यद्यपि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन सकेको छैन । समग्र अर्थतन्त्र नै चलायमान नभएकाले त्यसको असर सेयर बजारमा पनि देखिएको जानकार बताउँछन् । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ ।

ब्याजदर हालसम्मकै न्यून अवस्थामा छ । तर कर्जा माग बढ्न सकेको छैन । यसरी अर्थतन्त्रका अन्य क्षेत्रमा उत्साह नहुँदा लगानीकर्ताहरू सेयर बजारमा पनि लगानी विस्तार गर्न डराएको उनीहरूको भनाइ छ । ‘सेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्,’ एक ब्रोकरले भने, ‘निर्धारित समयमा निर्वाचन हुन्छ/हुँदैन ? राजनीतिक अस्थिरताको अवस्था कस्तो हुन्छ ? लगायत विषयमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’

सो दिन कारोबारमा आएका कम्पनीमध्ये १ सय ४८ को सेयर मूल्य बढ्यो, १०३ वटाको घट्यो र ८ कम्पनीको स्थिर रह्यो । मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढ्यो ।

थ्रीस्टार जलविद्युत्को सेयर मूल्य पनि ९.५४ प्रतिशतले बढेको छ । जीवन विकास र थ्रीस्टारसहित १४८ कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार १० प्रतिशतले बढेको रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य मंगलबार सबैभन्दा धेरै ८.४१ प्रतिशतले घटेको छ । योसँगै मंगलबार १०३ वटा कम्पनीका सेयरधनीले नोक्सान व्यहोरेका छन् । 

यी कम्पनीको सेयर मूल्य घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको हो । आठ कम्पनीको सेयर मूल्यमा भने पनि केही परिवर्तन भएको छैन । 

मंगलबार दोस्रो बजारमा ८८ हजार ३ सय ६२ पटकको सेयर खरिद–बिक्री भए । जसमा १ करोड ४८ लाख ३१ हजार २ सय ४१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार सेयर बजारमा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन सामान्य घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.२३ र उत्पादन तथा प्रशोधनको ०.५१ प्रतिशतले ऋणात्मक रहे । बाँकी ११ उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से करिब दोहोरो अंकले बढेको हो । सो दिन वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी २.८७ प्रतिशतले बढेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully