देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई सम्पत्ति शुद्धीकरण मुद्दा

२० हजार बचतकर्ताको ३ अर्ब हिनामिनाको आरोप, साढे २ अर्ब बिगो दाबी

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Deurali Cooperative Chairman Chaulagain charged with money laundering

What you should know

काठमाडौँ — ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलगायत उच्च पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा गत साता मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता वसन्त अर्यालले उक्त सहकारीका अध्यक्ष चौलागाईं, संस्थाका उपाध्यक्ष एवं चौलागाईंकी श्रीमती पूजा खत्री र मनोज भण्डारी लगायत विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेका हुन् । 

बचतकर्ताको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थाको बारेमा प्रारम्भिक अध्ययन गरी १७ मंसिर २०८० मा थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्थाको बारेमा थप अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा विभागले अध्यक्ष चौलागाईंलगायत राजेन्द्र खत्री, दीपक केसी, पूजा खत्री र मनोज भण्डारीले सहकारीको रकम अपचलन गरेको भेटिएको छ । उनीहरूले सातदोबाटोस्थित सहकारी र शाखा कार्यालयहरू न्युरोड, काठमाडौं र भक्तपुरमा रहेको बचत रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ ।

सहकारीकै रकमबाट रवीन्द्र चौलागाईंसमेतको नाममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र झापा जिल्लालगायतका स्थानहरूमा घडेरीसमेतका जग्गाजमिन खरिद गरेको, निजहरूको नाममा विभिन्न कम्पनी खडा गरी लगानी गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने विभागको निष्कर्ष छ । 

सोही कारण प्रतिवादीहरू रवीन्द्र चौलागाईं, पूजा खत्री र राजेन्द्र खत्रीसमेतलाई तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम २ अर्ब ६८ करोड ५१ लाख १६ हजार ४ सय ३१ रुपैयाँ बाउन्न पैसा मात्र) बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीहरू अध्यक्ष चौलागाईं, पूजा खत्री र राजेन्द्र खत्रीसमेतले कसुरबाट आर्जन गरेको निजको नाममा रहेको घरजग्गासमेतका सम्पत्ति जफत गर्न पनि माग गरिएको छ । राजेन्द्र खत्री चौलागाईंका जेठान हुन् ।

प्रतिवादी रवीन्द्र चौलागाईं सम्पत्ति शुद्धीकरण निवारण प्रयोजनार्थ सूचक संस्थाका रूपमा रहेको सहकारी संस्थाको अध्यक्ष र निजकी पत्नी पूजा खत्री सोही सहकारी संस्थाको उपाध्यक्ष पदमा रही कसुर गरेको देखिएकाले उनीहरू दुई जनाको हकमा ऐनको दफा ३० बमोजिमको सजायमा थप गरी सजाय तोक्नुपर्ने माग गरिएको छ । अर्का प्रतिवादी मनोज भण्डारीको हकमा भने ऐनबमोजिम सजाय र उनको नाममा रहेका घरजग्गासमेत जफत गर्न माग गरिएको छ ।

काभ्रे कात्तिके देउरालीका चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका थिए । सातदोबाटोमा मुख्य कार्यालय रहेको सहकारीले न्युरोड र भक्तपुरको सूर्यविनायकमा पनि शाखा सञ्चालन गरेको थियो । 

वि.सं. २०७९ सम्म यो सहकारीमा करिब २० हजार बचतकर्ताको ३ अर्बभन्दा बढी बचत संकलन भएको थियो । निक्षेपकर्ताको रकम सहकारी सञ्चालक चौलागाईंले आफ्नो व्यक्तिगत कम्पनीका नाममा लगेर जग्गामा डुबाएको पाइएको छ ।

चौलागाईंले आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मुन भेन्चर इन्भेस्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि नामका कम्पनी खोलेका थिए । 

सहकारीबाट रकम निकालेर जग्गा किने, त्यही जग्गा धितो राखेर बैंकबाट मूल्यभन्दा दोब्बर, तेब्बरसम्म ऋण लिएको देखिएको छ । चौलागाईं र उनकी श्रीमती पूजा खत्रीका नाममा केही सय रोपनी जग्गा देखिएको छ । ललितपुरको लामाटारमा चौलागाईंका परिवारको नाममा ८४ रोपनी जग्गा रहेको अनुसन्धानमा खुलेको छ ।

स्रोतका अनुसार पूजा खत्रीका नाममा धापाखेलमा एक रोपनी चार आना, सुनाकोठी र हरिसिद्धिमा एक रोपनी जग्गा छ । रवीन्द्रको नाममा सातदोबाटोमा १ रोपनी ३ आना, मध्यपुर ठिमीमा ८ आना, सुनाकोठीमा २० आना र कीर्तिपुरमा ४ आना, ग्वार्कोमा १० आना, धोबीघाटमा १२ आना, बनेपामा ६ रोपनी जग्गा रहेको छ । त्यस्तै उनका जेठान राजेन्द्र खत्रीको नाममा पाँचखालमा ७ रोपनी जग्ग्गा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully