अनधिकृत चिनीको आयात रोक्न उद्योगीको माग

नेपाल चिनी उद्योग संघले खुला सिमानाका कारण भइरहेको अनियन्त्रित चिनीको पैठारीमा अविलम्ब रोक लगाउनु पर्ने माग सरकारसँग गरेको हो ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Industrialists demand to stop unauthorized sugar imports

What you should know

काठमाडौँ — नेपाल चिनी उद्योग संघले अनधिकृत रूपमा भइरहेको चिनीको आयातले स्वदेशी चिनीको बिक्री नभई चिनी उद्योगहरु नै संकटमा पर्ने चिन्ता जाहेर गरेको छ ।

संघले खुला सिमानाका कारण भइरहेको अनियन्त्रित चिनीको पैठारीमा अविलम्ब रोक लगाउनु पर्ने माग सरकारसँग गरेको छ ।

संघले विज्ञप्ती जारी गरेर स्वदेशी उद्योगहरूलाई जोगाउन चिनीको आयातलाई नियन्त्रण गरिनुपर्ने भनेका छन् । चिनीको आयातमा कायम गरिएको भन्सार दरलाई वृद्ध गरिनुपर्ने माग संघको छ । चिनी उद्योगको संरक्षणका लागि स्वदेशी उत्पादनको परिमाण एकिनपश्चात नपुग हुने चिनीको कोटा निर्धारण गरी आयात अनुमती दिनुपर्ने, त्यस्तो आयात नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मात्र गरिनुपर्ने संघले भनेको छ । 

स्वदेशी चिनीको सहज बिक्री–वितरण नभएको खण्डमा किसानलाई उखुको नियमित एंव सहज भुक्तानमीमा समेत प्रतिकूल असर पर्ने विज्ञप्तीमा उल्लेख छ । उखु कृषकहरुलाई विगत ४/५ वर्षदेखि नियमित भुक्तानी भइरहेको दाबी संघको छ । देशभित्र १३ वटा चिनी उद्योगहरु सञ्चालनमा रहेको र यसमा १ लाख १५ हजार ७ सय ५५ उखु कृषक परिवार जोडिएको संघले उल्लेख गरेको छ । उद्योगहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ३० हजार ५ सय ३५ जनाले रोजगारी पाएको दाबी गरिएको छ । 

गत वर्षको क्रसिङ सिजनमा २ करोड १५ लाख ७२ हजार १ सय ४८ क्विन्टल उखु क्रसिङ गरिएको र त्यसबाट १८ लाख २५ हजार ३ सय ३२ क्विन्टल चिनी उत्पादन भएको संघले जनाएको छ । चिनीको वार्षिक माग २ लाख ५० हजार  हजार मेट्रिक टन रहेको छ । 

अनधिकृत पैठारीका कारण गत सिजनमा उत्पादित चिनी हालसम्म पनि केही उद्योगमा मौज्दात रहन गएकाले चिनीको आयातमा कडाइ गर्नुपर्ने संघको माग छ । यस वर्ष उद्योगहरुमा उखु क्रसिङ सुरु भइसकेको छ । २ लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान संघले गरेको छ । 

कान्तिपुर

Link copied successfully