रुग्ण ठेक्काबारे सरकार र व्यवसायीका आ–आफ्नै अडान

सडक विभागअन्तर्गत ४०, जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत २२ र सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत तीन ठेक्का तोडिसकिएको छ, अझै रुग्ण रहेका ठेक्का तोड्ने प्रक्रियामा

पुस २२, २०८२

विमल खतिवडा

Government and businessmen have their own stances on sick contracts

What you should know

काठमाडौँ — रुग्ण ठेक्का तोडिएको विषयमा सरकार र व्यवसायीका आआफ्नै धारणा र अडान देखिएका छन् । पछिल्लो समय सबैभन्दा बढी विकास निर्माणको काम हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको मन्त्रीका रूपमा कुलमान घिसिङले जिम्मेवारी सम्हालेसँगै रुग्ण ठेक्का तोड्ने कामलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । र यी मन्त्रालयअन्तर्गत रुग्ण बनेका ठेक्का छनोट गरेर तोड्ने प्रक्रिया अघि बढाइएको छ । 

सडक विभागअन्तर्गत ४०, जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत २२ र सहरी विकास तथा भवन निर्माण विभागअर्न्तगत तीन ठेक्का तोडिसकिएको छ । अझै रुग्ण रहेका ठेक्का तोड्ने प्रक्रियामा लगिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सडक विभागअन्तर्गत करिब ३ सय ठेक्का रुग्ण छन् । तर मन्त्रीले ठेक्का तोड्ने कामलाई मात्र प्राथमिकता दिनु गलत भएको निर्माण व्यवसायी बताउँछन् । 

रुग्ण ठेक्का अन्त्य गर्ने नाममा जस लिन मन्त्रीको लहडका कारण जथाभावी ठेक्का तोड्ने काम गर्दा आम रूपमा निर्माण उद्योगीलाई समाज र देशको खलनायकका रूपमा प्रस्तुत गर्ने काम भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गुनासो गरे ।

‘यसअघिका मन्त्रीले मैले ठेक्का तोडें भन्दैनथे, जसले ठेक्का लगाउने हो, तिनले तोड्थे,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘पूर्वाधार आयोजना ठेक्का तोडिनुका कारण र प्रभाव’ विषयक कार्यक्रममा उनले भने, ‘सर्तबमोजिम निर्माण व्यवसायीले काम नगरे त्यो ठेक्काको अन्त्य गर्नुपर्छ । तर ठेक्का तोड्दै गर्दा त्यो कत्तिको न्यायोचित छ, हेर्नुपर्छ ।’ 

राजनीतिक दलहरूले आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई आकर्षित गर्न ठेक्का निकाल्ने प्रवृत्ति बढी छ । सार्वजनिक खरिद नियमावलीमा न्यूनतम २० प्रतिशत रकम नभई ठेक्का निकाल्न नपाइने व्यवस्था छ । ‘यसलाई मिचेर पनि ठेक्का निकालिएको छ, ठेक्का अन्त्य गर्नुअघि त्यसको निकास पनि खोजिनुपर्छ, कुनै एक व्यक्तिको राजनीतिक लक्ष्य प्राप्तिका लागि मात्र ठेक्का तोडिनु गलत छ,’ उनले भने ।

Government and businessmen have their own stances on sick contracts

लामो समयदेखि काम नभएका ठेक्काको अन्त्य गर्दै जाँदा ती ठेक्का किन रुग्ण भए भन्ने अध्ययन गरेर जुन ठेक्का नियमित हुन सक्छ, त्यसलाई पहिलाकै निर्माण व्यवसायीबाट काम लगाउनुपर्नेमा सिंहले जोड दिए । ‘त्यसमा पटक–पटक प्रयास गर्दा पनि सफल भइएन भने अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘तर सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा (८) मा संसारमा कहीँ पनि नभएको व्यवस्था छ, जहाँ ठेक्का तोडेपछि निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुलउपर गरी बाँकी काम सक्ने भनिएको छ, यी विषयले पनि ठेक्का रुग्ण बन्ने गरेका छन् ।’ 

तोकिएको समय सकिइसक्दा पनि आशातीत प्रगति हुन नसकेका, पटक–पटक म्याद थप्दा पनि सम्पन्न हुन नसकेका र बाँकी काम लठिभद्र छाडेका आयोजना नै रुग्ण ठेक्का रहेको पूर्वसचिव अर्जुनजंग थापाले बताए ।

‘नेपालमा ठेक्का रुग्ण हुने क्रम २०६० सालपछि बढेको हो, २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर अनुसन्धान गर्दा विभिन्न निकायअन्तर्गत १ हजार ८ सय ४८ ठेक्का रुग्ण थिए,’ सडक विभागमा महानिर्देशकका रूपमा समेत काम गरेका उनले भने, ‘जसमा सडक विभागअन्तर्गत मात्र ९ सय ६६ रुग्ण ठेक्का रहेकामा २०७७/७८ सालभित्र कतिपयमा काम गराएर, कतिपय तोडेर दुई सयमा झारेका थियौं ।’ 

रुग्ण ठेक्का हुनुमा बजेटको निरन्तरता नहुनु, छिटो–छिटो सरकार परिवर्तन हुनु र अघिल्लो सरकारको प्राथमिकतालाई पछिल्लो सरकारले निरन्तरता नदिनु नै मुख्य कारण रहेको थपाको बुझाइ छ । रुग्ण हुनुको अरू कारणमा बिनातयारी ठेक्का र निर्माणस्थल खाली नहुनु पनि हो ।

‘त्यो बेला अर्थ मन्त्रालयसँग बजेट माग गरियो, बजेट आउँछ भनेर निर्माण व्यवसायीलाई काम लगाइयो, काम गर्ने ठाउँ उपलब्ध गराइयो,’ उनले भने, ‘कतिपय पुलको हकमा प्राविधिक समस्या पनि आए तर प्राविधिक पक्षसँग बुझेर समस्या समाधान गर्दै काम गर्‍यौं ।’ 

निर्माण व्यवसायीबाटै जोइन्ट भेन्चर (संयुक्त ठेक्का) प्रावधानको दुरुपयोग भएको थापाको दाबी छ । ‘ठूला ठेक्का लिने क्षमता कम भएका साना निर्माण कम्पनीलाई ठूला ठेक्का लिन सक्ने क्षमता भएका फर्मले जोइन्ट भेन्चरमा राख्ने काम धेरै गरे, अहिले पनि गरिरहेका छन्,’ उनले भने, ‘कतिपयले निर्माण व्यवसायी महासंघमा भोट पाउने आसमा र दुई/चार प्रतिशत नाफा पाइहाल्छु भनेर जोइन्ट भेन्चरमा काम गर्दा ठूला कम्पनी समस्यामा पर्ने गरेका छन् ।’

कतिपय निर्माण व्यवसायी जोइन्ट भेन्चरमा काम गर्दा एउटाले गरेको गल्तीका कारण अर्को व्यवसायी कालोसूचीमा पर्ने गरेको थापाको भनाइ छ ।

बीचैमा ठेक्का तोडिन्छ भनेर नभई काम सम्पन्न गर्न नै ठेक्का गर्ने गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रस्ट्याए । ‘करिब २८ सय ठेक्का भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायबाट भएका छन्,’ उनले भने, ‘जसमा करिब ३ सय ठेक्का रुग्ण छन् ।’

ठेक्का अनन्तकालका लागि नभई निश्चित समय तोकेर गर्ने गरिएको उनले जनाए । प्रत्येक वर्ष विनियोजन गर्ने बजेट कम हुनु, डिजाइन परिवर्तन, निर्माणस्थल उपलब्ध नहुनु, निर्माण सामग्री अभाव, स्थानीयको अवरोध र दैवी प्रकोपले गर्दा पनि ठेक्का रुग्ण बन्ने गरेको उनले बताए । ‘निर्माण व्यवसायीको व्यवस्थापकीय कमजोरीले गर्दा पनि निर्माणमा समस्या हुने गरेको छ,’ उनले भने, ‘एउटा ठेक्काको रकम अर्कोमा लगाउने र धेरैतिर ठेक्का लिएर पर्याप्त स्रोतसाधनको व्यवस्था नगर्दा काममा प्रगति हुने गरेको छैन ।’

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully