हवाई टिकटमा भ्याट र विदेशी मुद्रा सटही सीमाको असर पर्यटनमा : नाट्टा

काठमाडौंमा पर्यटकीय बस टर्मिनल अभावले थप चुनौती 

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Impact of VAT on air tickets and foreign exchange limits on tourism: NATTA

What you should know

काठमाडौँ — हवाई टिकटमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) र विदेशी मुद्रा सटही सीमा तथा भिसा–अनुमति प्रक्रियामा देखिएको जटिलताले नेपालको पर्यटन उद्योग गम्भीर दबाबमा परेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले जनाएको छ।

यी दुई विषय पर्यटनमैत्री नीतिका सबैभन्दा ठूला अवरोध बनेको भन्दै संगठनले सरकारसँग तत्काल पुनरावलोकन र संरचनागत सुधारको माग गरेको छ।

नाट्टाद्वारा आइतबार राजधानीमा आयोजित ५८ औं वार्षिक कार्यक्रममा महासचिव युविका भण्डारीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार हवाई टिकटमा भ्याट का कारण अन्तर्राष्ट्रिय पर्यटक तथा यात्रुमा लागत बढ्नुका साथै नेपाल प्रतिस्पर्धी गन्तव्यका रूपमा कमजोर बन्दै गएको छ। भ्याटविरुद्ध कानुनी र नीतिगत लडाइँ जारी राखेको नाट्टा ले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुका साथै अर्थ तथा संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालयसँग निरन्तर संवाद पनि गरिरहेको जनाएको छ। 

पर्यटन व्यवसायीका लागि विदेशी मुद्रा सटही सीमा र भिसा–अनुमति प्रक्रिया अर्को गम्भीर समस्या बनेको महासचिव भण्डारीले बताइन् । पछिल्लो समय विदेशी मुद्रा सटही सीमा बढाइनु सकारात्मक भए पनि अझ सहज, व्यवसायमैत्री र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको व्यवस्था आवश्यक रहेको नाट्टाको ठहर छ।

भिसातर्फ विशेषगरी कैलाश–मानसरोवर यात्राजस्ता अन्तर्राष्ट्रिय धार्मिक पर्यटनमा भिसा र अनुमति प्रक्रियामा ढिलाइ हुँदा व्यवसायी र यात्रु दुवै प्रभावित भएको संगठनले जनाएको छ।

नेपालमा आउने पर्यटकका लागि काठमाडौंमा पर्यटकीय बस टर्मिनल नहुनु दीर्घकालीन समस्या रहेको पनि प्रतिवेदनमा उल्लेख छ । अव्यवस्थित पिकअप र ड्रप प्रणालीले पर्यटकको अनुभव कमजोर बनाइरहेको भन्दै नेपालको बदनाम हुने भएकाले वैकल्पिक स्थानमा आधुनिक बस टर्मिनल निर्माण गर्न नाट्टाले सरकारसँग माग गरेको छ । 

नयाँ पर्यटन नीति निर्माण प्रक्रियामा नाट्टका सुझाव समेटिनु, सीटीईभीटीमा संगठनको प्रतिनिधित्व सुनिश्चित हुनु र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा कूटनीतिक समन्वय बढ्नुलाई भने व्यवसायीहरुले सकारात्मक उपलब्धिका रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, हवाई टिकटमा भ्याट, कर संरचना, अन्तर्राष्ट्रिय टिकटिङ समस्या र पूर्वाधार सुधार समाधान नभएसम्म पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसक्ने नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए ।

कान्तिपुर

Link copied successfully