पर्यटन व्यवसायी भन्छन् : नेपाललाई ‘बेटर डेस्टिनेसन’ मात्र होइन, ‘इजी डेस्टिनेसन’ पनि बनाऔं

अव्यवस्थित पूर्वाधार, जटिल भिसा प्रक्रिया, उच्च करदर र सीमित अन्तर्राष्ट्रिय कनेक्टिभिटीका कारण गम्भीर चुनौती भोग्नु परेको पर्यटन व्यवसायीको भनाइ

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Tourism entrepreneurs say: Let's make Nepal not only a 'better destination' but also an 'easy destination'

काठमाडौँ — अव्यवस्थित पूर्वाधार, जटिल भिसा प्रक्रिया, उच्च करदर र सीमित अन्तर्राष्ट्रिय कनेक्टिभिटीका कारण गम्भीर चुनौती भोग्नु परेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) द्वारा काठमाडौंमा आइतबार आयोजित ५८ औं वार्षिक कार्यक्रममा का अध्यक्ष कुमारमणि थपलियाले पर्यटन व्यवसायीहरूले भोगिरहेका समस्या उजागर गर्दै समाधानका तीन मुख्य प्रस्ताव प्रस्तुत गरे।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पनि रहेका अध्यक्ष थपलियाले भने, ‘नेपाललाई केवल ‘बेटर डेस्टिनेसन’ होइन, ‘इजी डेस्टिनेसन’ पनि बनाउनुपर्छ। यसका लागि भिसा प्रक्रिया सरल बनाउनु, व्यवसाय सञ्चालन सहज बनाउन प्रशासनिक र कर प्रणाली सुधार गर्नु, र अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटन गन्तव्यहरूको प्रचार विस्तार गर्नु आवश्यक छ।’

बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ र संघीय सरकारका उच्च अधिकारीहरूलाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले समस्याहरू चार मुख्य खण्डमा वर्गीकरण गर्दै बताए: भिसा र प्रवेश प्रक्रिया सरल बनाउने, व्यवसाय सञ्चालन सजिलो बनाउने, अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार गर्ने, र पूर्वाधार तथा यातायातमा सुधार गर्ने। उनले भने, ‘यसका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अनिवार्य छ र दिगो पर्यटन प्रवर्धनमा ध्यान दिनुपर्छ।’

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक अच्युत वाग्लेले नाट्टाको पहलले नेपालको पर्यटन उद्योगलाई दीगो, पहुँचयोग्य र प्रतिस्पर्धात्मक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कान्तिपुर

Link copied successfully