विभिन्न राजमार्गको करिब आधा दर्जन स्थानमा विभिन्न प्याकेज बनाएर विस्तारको काम भइरहेको छ, जहाँ केही खण्डको काम सकिसकेको र केही खण्डमा निर्माणको गति सुस्त छ ।
What you should know
काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा नेपालमा मुख्य राजमार्ग विस्तारको काम चलिरहेको छ ।
राजमार्गका केही खण्डमा काम सकिने चरणमा पुगेको छ भने केहीमा अझै विस्तारको कामले गति लिन सकेको छैन । एडीबीको आयोजना निर्देशनालयले काम छिटो सक्न निर्माण व्यवसायीलाई ताकेता गरिरहे पनि समस्या भएको खण्डमा अझै सोचेअनुरूप प्रगति छैन ।
मुग्लिन–पोखरा सडकअन्तर्गत ठेक्का तोड्ने अन्तिम तयारी गरिएको जामुने–पोखरा खण्डमा भने प्रगति बढेको छ । एडीबीको ऋणमा अहिले विभिन्न राजमार्गहरूको करिब आधा दर्जन स्थानमा विभिन्न प्याकेज बनाएर विस्तारको काम भइरहेको छ, जहाँ केही खण्डको काम सकिसकेको र केही खण्डमा निर्माणको गति सुस्त छ ।
आँबुखैरेनी–पोखरा सडकखण्डको दूरी ८०.३३ किलोमिटर छ । यसलाई दुई खण्डमा विभाजन गरेर सडक विस्तार गरिएकामा आँबुखैरेनी–जामुने खण्डको काम सकिसकेको छ । ४१.४५ किमि कुल दूरी रहेकामा ४०.५२१ किमि सडक कालोपत्र भइसकेको छ ।
यसमा १.३४ सर्भिस लेन सडक निर्माण भएको छ । १७ वटा पुल र १ सय ६८ कल्भर्ट निर्माण सकिइसकेको छ । यसको ठेक्का चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीले लिएको हो । निर्माण सकिएको प्रमाणपत्र दिइएको र पाँच वर्षसम्म उक्त खण्डको मर्मतसम्भारको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्नेछ ।
दोस्रो जामुने–पोखरा खण्डको ठेक्का सम्झौता ३ जेठ २०७८ मा भएको हो । काम भने १३ भदौ २०७८ बाट थालियो । सुरु सम्झौताअनुसार १२ भदौ २०८१ सम्म यस खण्डको काम सकिइसक्नुपर्ने थियो । अहिलेसम्म निर्माण प्रगति ६५.५९ प्रतिशत छ । ३८.७१ किमि दूरी रहेको यस खण्डमा पुलबाहेक ३१.३ किमि खण्डमा चार लेन सडक दुईतर्फी कालोपत्र भएको छ । ६.२ किमि खण्डमा दुई लेन सडक एकतर्फी रूपमा कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । ११ वटा पुलको निर्माण सकिएको छ । १ सय ५ वटा कल्भर्ट निर्माण पनि सकिइसकेको छ ।
ठेक्का यानहुई काइयुआन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले लिएकामा दुवै खण्डको विस्तार एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा अघि बढाइएको हो । यसको म्याद मंसिर २०८२ सम्म थियो । काम नसकिएपछि १६ असार २०८३ सम्म म्याद थपिएको छ । यस खण्डको ठेक्का रकम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ छ । यही सडक खण्डमा पर्ने सेती र मादी पुलको ठेक्का छुट्टै गरिएको छ । सेती पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको र ठेक्का रकम १ अर्ब ७ करोड २४ लाख रुपैयाँ छ । निर्माण प्रगति ५४ प्रतिशत छ ।
मादी पुलको ठेक्का अनक–जेटआईईसी जेभीले लिएको हो । यसको निर्माण प्रगति ७३.६७ प्रतिशत छ । दुवै पुलको ठेक्का २०७९ साउन २६ मा भएको हो । मादी पुलको ठेक्का १९ असार २०८३ र सेती पुलको २१ वैशाख २०८३ सम्मका लागि म्याद थपिएको छ । यस खण्डमा पर्ने १ सय २७ वटा विद्युत् पोल, खानेपानी स्थानान्तरण गर्ने काम सुस्त गतिमा हुँदा समस्या भएको आयोजनाले जनाएको छ । रुख कटान सकिए पनि अझै लिलामी हुन सकेको छैन ।
यता मुग्लिन–आँबुखैरेनी सडक स्तरोन्नतिका लागि फागुन दोस्रो साताभित्र ठेक्का आह्वान गरिने भएको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक भने साँघुरो भएर पहिलो लटमा स्तरोन्नतिको काम थालिएको हो । उक्त खण्डमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस रहेको र थप पहाड कटिङ गरेर काम गर्न जोखिम रहेकाले उक्त खण्डमा वारि र पारि २–२ लेन सडक निर्माण गर्न लागिएको छ ।
मुग्लिन बजारमुनि र मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस कट्नासाथ दुई ठूला पक्की पुल निर्माण गरिनेछ । यही खण्डमा ससाना थप चारवटा पुल निर्माण हुनेछन् । यता सबैभन्दा बढी समस्या भएको कमला–कञ्चनपुर खण्डमा पनि निर्माण प्रगति सोचेअनुरूप छैन । अहिलेसम्म यस खण्डमा समग्र भौतिक प्रति प्रगति ६६.७२५ प्रतिशत छ ।
सडक विस्तारको ठेक्का १३ कात्तिक २०७७ मा भएको हो । सम्झौताअनुसार निर्माण कार्य ११ कात्तिक २०८० भित्र सक्नुपर्ने भए पनि उक्त समयमा नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपियो, तर काम सकिएन । फेरि १६ पुस २०८२ सम्म म्याद रहे पनि काम नसकिएपछि तेस्रो पटक समय थप्ने तयारी छ । यसलाई दुई खण्डमा विभाजन गरेर निर्माणको जिम्मा लगाइएको छ, जसको समग्र दूरी ८६.८२ किमि छ । दुवै खण्डको ठेक्का रकम १५ अर्ब ६६ करोड रुपैयाँ हो । निर्माणको जिम्मा चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले लिएको हो ।
यस खण्डमा ४३ वटा पुलको निर्माण सकिएर सवारीसाधन सञ्चालनमा आएको छ । थप ११ वटा पुलको निर्माण सकेर सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । कमला–कञ्चनपुर सडकको पूर्वी खण्ड ३९.४२ किमि र पश्चिम खण्डको ३६.९९ किमि छ । यसअनुसार अहिलेसम्म पूर्वी खण्डमा ६६.६४ र पश्चिम खण्डमा ६६.८१ प्रतिशत निर्माण प्रगति छ ।
एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकही खण्डमा सडक विस्तार र स्तरोन्नतिको काम भइरहेको छ । राजमार्ग खण्डमा चार र सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक बन्नेछ । यसलाई तीन खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । पुलसहित तीनै खण्डको निर्माण अवधि तीन वर्ष मात्र छ । एडीबीकै ऋण सहयोगमा सबै खण्डको ठेक्का भएको हो । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्म ४५ किमि खण्डको १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा ठेक्का भएर काम भइरहेको छ ।
सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता असोज २०८० मा भएको हो । तर निर्माण कार्यादेश भने १९ माघ २०८० (२०२४ फेब्रुअरी २) मा दिइएको हो । यस खण्डको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । सीतापुरीदेखि मोरङको गोठगाउँसम्म विस्तारको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । यस खण्डको दूरी ४० किमि छ । यस खण्डको ठेक्का रकम ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ छ । तेस्रो प्याकेजका रूपमा भने गोठगाउँदेखि सुनसरीको लबिपुरसम्मको दूरी १०.७६ किमि छ ।
यस खण्डको ठेक्का ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँमा तीनवटा कम्पनी कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । समग्रमा काँकडभिट्टा–लबिपुर खण्डको कुल दूरी भने ९५.७६ किमि छ । यस खण्डको समग्र प्रगति २८ प्रतिशत मात्र छ । यही सडकभित्र ६ वटा ठूला र लामा पक्की पुल निर्माण हुँदै छ । चार र पाँच नम्बर प्याकेजमा विभाजन गरेर तीन/तीन वटा पुल निर्माण गरिएको हो । निन्दा, बिरिङ र कन्काई पुल चार नम्बर प्याकेजमा पर्छन् । यसको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । यी पुलको ठेक्का रकम ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ छ ।
पाँच नम्बर प्याकेजमा रतुवा, बक्राहा र लोहेन्द्र पुल पर्छन् । यी पुल निर्माणको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी जेभीले ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ संयुक्त लिएका हुन् । सबै सडक र पुलको निर्माण १९ माघ २०८३ (२०२७ फेब्रुअरी २) मा सकिसक्नुपर्नेछ । चार नम्बर प्याकेजको पुल निर्माण काँकडभिट्टा–सीतापुरी सडक खण्डभित्र पर्छ । पाँच नम्बर प्याकेजको पुल निर्माण सीतापुरी–गोठगाउँ सडक खण्डभित्र पर्छ ।
यो सडक अहिले दुई लेनको छ । दमक, उर्लाबारी, इटहरी बजारमा सर्भिस लेनसहित सिक्स लेन सडक र फुटपाथ बन्नेछ । मुख्य राजमार्ग भने चार लेनको हुनेछ । यता विस्तार थालिएको नारायणगढ–बुटवल सडक खण्डमा यात्रा गर्न अझै सकस छ । मंगलबार मात्र दाउन्ने खण्डमा शीतलहरले सवारीसाधन चिप्लिँदा समस्या भएको छ ।
दाउन्ने खण्डको १४ किमिमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । समग्र खण्डको दूरी १ सय १३ किलोमिटर रहेकोमा ८२.४६६ किमि चार लेन र १९.३४ किमि दुई लेन कालोपत्र गरिएको आयोजनाले जनायो । उक्त सडक खण्डमा पर्ने ६४ पुलमध्ये ५८ र ४ सय ६८ कल्भर्टमध्ये ४ सय ५६ वटा निर्माण भइसकेका छन् । अहिलेसम्म समग्र निर्माण प्रगति ७३.६०२ प्रतिशत छ ।
दाउन्नेमा राति अबेरसम्म काम हुने गरेको भए पनि अहिले शीतलहरले गर्दा प्रभावित बनेको नारायणगढ–बुटवल सडक योजना, पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीले बताए । ‘तीन दिनदेखि शीतलहरका कारण समस्या भएको छ, ठूला तथा मझौला सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेका छौं,’ उनले भने, ‘अहिले रोकिएका सवारीसाधनलाई गन्तव्यमा पठाएर ठूला मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भन्छौं ।’ केही दिनयता बाक्लो हुस्सुका कारण सवारीसाधन चलाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको उनले सुनाए ।
केही–केही सडक खण्डबाहेक समग्रमा एडीबीको सहुलियतपूर्ण ऋणअन्तर्गत चालु रहेका आयोजनामा प्रगति रहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालको दाबी छ । ‘समग्रमा काम भइरहेका मध्ये काँकडभिट्टा–लौकही पश्चिम खण्डमा कामको गति कम छ, कमला–कञ्चनपुरमा पनि सोचेअनुरूप प्रगति छैन,’ उनले भने, ‘जामुने–पोखरा खण्ड तोड्ने अवस्थामा लगेका थियौं, तर त्यहाँ अहिले राम्रो प्रगति छ ।’
नारायणगढ–बुटवलको दाउन्ने खण्डमा अहिले समस्या आएको र मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न लगाएर काम गर्नुको विकल्प नरहेको ढकालले सुनाए । ‘वार्षिक लक्ष्यको तुलनामा एडीबीको सहुलियतपूर्ण ऋणको शतप्रतिशत सदुपयोग भएको छ,’ उनले भने, ‘सन् २०२५ मा लक्ष्यको तुलनामा १ सय १२ प्रतिशतसम्म पुँजीगत खर्च भएको छ, यो भनेको निर्माणको गति बढ्नु पनि हो ।’ आयोजनाहरूमा अहिले विद्युत्का पोल, खानेपानीका कारण समस्या भएको उनको भनाइ छ ।
