एआईमा आधारित ग्राहक सेवा, एसआईपी फोन, बायोमेट्रिक्स डिभाइस, भुक्तानीका लागि मिनी पस भाइस, स्टक एनालिटिक्स सफ्टवेयरलगायत नयाँ प्रविधिबारे अवलोकनकर्ताले लिए जानकारी
What you should know
काठमाडौँ — नेपालमा पहिलो पटक आयोजना गरिएको वित्तीय प्रविधि (फिनटेक) प्रदर्शनीमा डिजिटल लेन्डिङ वा विद्युतीय कर्जाबारे धेरैले चासो राखेका छन् । दुईदिने प्रदर्शनीमा सानेपास्थित हेरिटेज गार्डेनमा डिजिटल लेन्डिङसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीका स्टल अवलोकनकर्ताले घेरिए ।
पहिलो दिन शुक्रबार मात्र दुई हजारभन्दा बढी अवलोकनकर्ताले वित्तीय क्षेत्रमा भित्रिएका डिजिटल लेन्डिङ, एआईमा आधारित ग्राहक सेवा, एसआईपी फोन, बायोमेट्रिक्स डिभाइस, भुक्तानीका लागि मिनी पस डिभाइस, स्टक एनालिटिक्स सफ्टवेयरजस्ता नयाँ प्रविधिबारे जानकारी लिए ।
ऋण लिँदा तमसुक र अन्य कागजपत्र हातैले भर्नुपर्ने झन्झट हटाउन यस्तो सेवा सुरु गरिएको गैरबैंकिङ वित्तीय कम्पनी (एनबीएफसी) लाई डिजिटल माध्यमबाट कर्जा प्रवाह गर्न प्रविधि उपलब्ध गराउँदै आएको ‘लेन्डिङ टर्बो’ का क्रिजन शाही बताउँछन् ।
चार वर्षयता लेन्डिङ टर्बोले हुलास फिन्सर्भ, एमएडब्लू इन्भेस्टमेन्ट, स्याकार, जगदम्बाजस्ता हायर पर्चेज कम्पनीलाई सेवा दिइरहेको र हालसम्म दुई लाखभन्दा बढी कर्जा यस प्रणालीमार्फत प्रवाह भइसकेको शाहीले जनाए । पहिले ४–५ घण्टा लाग्ने ऋण स्वीकृतिको प्रक्रिया अहिले २० देखि ३० मिनेटमै सम्पन्न हुने गरी प्रविधि विकास गरिएको छ ।
‘केही वर्षअघिसम्म मोबाइल फोनजस्ता सामग्री किन्दा ईएमआईको सुविधा थिएन । ग्राहकले पूरै नगद तिर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘यो समस्या समाधान गर्न र डिलर प्वाइन्टबाट सहजै ऋण आवेदन दिन मिल्ने बनाउन पनि यो प्रविधि ल्याइएको हो ।’
फिनटेक अलायन्स नेपालले आयोजना गरेको प्रदर्शनीमा कुल ८६ स्लट थिए । अलायन्सका कोषाध्यक्ष विनोद पोखरेलले पनि प्रदर्शनीमा डिजिटल लेन्डिङतर्फ सबैको ध्यान केन्द्रित भएको अनुभव सुनाए । ‘अहिले सबै जना डिजिटाइजेसन र लेन्डिङतिर गइरहेका छन्, डिजिटल लेन्डिङमै सबैको फोकस देखियो,’ उनले भने । प्रदर्शनीकै माहोल हेर्दा, वित्तीय–प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पनि मुख्य ट्रेन्डका रूपमा देखियो ।
एआईमा आधारित ग्राहक सहायता समाधान (कस्टमर सपोर्ट सलुसन) प्रदर्शन गरिएको ‘क्विक कनेक्ट’ का बिजनेस डेभेलप्मेन्ट अफिसर प्रज्वल श्रेष्ठले जनाए । ‘हाम्रो एआईले फेसबुक, इन्स्टाग्राम, भाइबरजस्ता विभिन्न माध्यमबाट आउने जिज्ञासालाई एउटै ड्यासबोर्डबाट सम्बोधन गर्छ । ह्युमन टच (मानवीय उपस्थिति) बिनै समस्या समाधान गर्ने प्रयास गर्छ,’ उनले भने, ‘हाल वर्ल्डलिंकजस्ता ३० भन्दा बढी ठूला कम्पनीले हाम्रो सलुसन प्रयोग गरिरहेका छन् ।’
एकाउन्टिङ सफ्टवेयर क्षेत्रमा लामो समयदेखि चिनिएको ‘ट्याली’ ले पनि प्रदर्शनीमा उपस्थिति जनाएको छ । नेपालमा अहिले सफ्टवेयर बनाउने ८/९ सय कम्पनी खुलेका कारण प्रतिस्पर्धा बढेको ट्यालीकी प्रबन्ध निर्देशक गीता क्षेत्रीको भनाइ छ । ‘बजारमा उत्पादक बढी भएर केही प्रतिस्पर्धा बढेको भए पनि ट्यालीको ब्रान्ड भ्यालु बुझ्ने ग्राहक अझै हामीसँगै हुनुहुन्छ, हामीले गत वर्ष मात्र १६ सयभन्दा बढी प्याकेज बिक्री गरेका थियौं,’ उनले भनिन्, ‘ट्यालीको विशेषता भनेको यो एक पटक किनेपछि नवीकरण गरिरहनु पर्दैन । सुरुवाती मूल्य महँगो देखिए पनि दीर्घकालमा सस्तो पर्छ । भर्सनहरू अपग्रेड गर्नुपर्ने बाध्यता पनि छैन ।’ हाल ट्यालीका ५० हजारभन्दा धेरै ग्राहक रहेको उनले जनाइन् ।
बजारमा एसआईपी कम्युनिकेसन र केवाईसी सोलुसनबारे बुझ्न चाहने ग्राहकको संख्या बढेको नेपालमा २५ वर्षदेखि बायोमेट्रिक्स र बारकोडिङ सोलुसनमा काम गरिरहेका बार कोड नेपालका निर्देशक सञ्जय तिमिल्सिनाले बताए । एसआईपी फोन यस्तो प्रविधि हो, जसले परम्परागत टेलिफोन लाइनको सट्टा इन्टरनेट प्रयोग गरेर फोन कल गर्न र प्राप्त गर्न मद्दत गर्छ । ‘२० वर्षअघि पनि प्रविधि त करिब–करिब यस्तै हुन्थ्यो । तर अहिलेका सफ्टवेयर, एप्लिकेसन र एआईले यसमा ठूलो परिवर्तन ल्याएका छन्,’ उनले भने, ‘प्रविधिमा आएको यो परिवर्तनसँगै सुरक्षाका चुनौती पनि उत्तिकै बढेको छ । हामी विशेषगरी सिस्टम सुरक्षामा केन्द्रित रहेर काम गरिरहेका छौं ।’
प्रदर्शनीमा खल्ती आईएमई पे, डेटा वर्ल्ड, र्यापिड, सिनर्जी टेक, सुमो लेजर, फिनतारा, सोर्स कोडजस्ता कम्पनीहरू सहभागी थिए । उक्त अवसरमा खल्ती आईएमई पेले आफ्ना तीन नयाँ प्रोडक्टसमेत सार्वजनिक गर्यो । प्रदर्शनी हलबाहिर रहेको ‘साइबर डग’ धेरैका लागि मनोरञ्जन बनेको देखियो । प्रदर्शनीमा प्रविधिको चमकधमक मात्र नभएर समावेशीकरणको बहसलाई पनि स्थान दिन खोजिएको छ । नेपाल नेत्रहीन संघको बुथमार्फत वित्तीय–प्रविधिमा दृष्टिविहीन व्यक्तिहरूको पहुँच र चुनौतीबारे सरोकारवालाको ध्यान खिच्ने प्रयास गरिएको संघकी प्रतिनिधि सरिता अधिकारीले बताइन् ।
संघका तर्फबाट सहभागी अधिकारी र शिव अग्रवालले प्रदर्शनीमा पुगेका बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग संवाद गरे । वित्तीय–प्रविधिसम्बन्धी विभिन्न किसिमका एप बनाउनेहरू डेभलपरहरूले भने कसो गर्दा दृष्टिविहीन व्यक्तिलाई सहज हुने एप बनाउन सकिन्छ भन्नेबारे संघको स्टलमा आएर सोधीखोजी गरेका देखिन्थे । ‘पहिलेको तुलनामा मोबाइल बैंकिङले जीवन धेरै सहज बनाएको छ । तर एटीएम मेसिन हाम्रा लागि खासै पहुँचयोग्य छैनन्,’ अग्रवालले भने, ‘आगामी दिनमा वित्तीय प्रविधि विकास गर्दा एक्सेसिबिलिटीको विषयलाई ध्यानमा राख्न हामीले सबैलाई सुझाव दिइरहेका छौं ।’
