नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा १८ सदस्यीय टोली आवश्यक उपकरणसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ ।
What you should know
काठमाडौँ — भद्रपुर विमानस्थलमा शुक्रबार राति दुर्घटनामा परेको बुद्ध एयरको एटिआर–७२ विमान (अल्फा माइक–फोक्सट्रट) को उद्धार र प्राविधिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै काठमाडौंबाट उद्धार उडानको तयारी गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा १८ सदस्यीय टोली आवश्यक उपकरणसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ । टोली उद्धार (रिलिफ) उडानमार्फत भद्रपुर जाने तयारीमा रहेको क्यानले जनाएको छ ।
बुद्ध एयरका एक उच्च अधिकारीका अनुसार, रिलिफ उडानमा १८ जनाभन्दा बढी जान नमिल्ने प्रावधानका कारण थप ८ जना प्राविधिक आजै नियमित उडानबाट भद्रपुर जाने छन् ।
तर तराई क्षेत्रका विमानस्थलमा हुस्सुका कारण भिजिबिलिटी कम भएकाले उद्धार उडान आवश्यक दृश्यताको पर्खाइमा रहेको छ । अवस्था अनुकूल हुनासाथ उडानलाई प्राथमिकताका साथ सञ्चालन गरिने क्यानले जनाएको छ ।
भद्रपुर विमानस्थलका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर करिब १५० मिटर अगाडि खोल्सोमा पुगेको थियो । विमानमा सवार चालकदलका चार सदस्य र ५१ यात्रु सबैलाई सकुशल राति उद्धार गरिएको छ ।
शनिबारको उद्धार टोलीमा क्यानको सेफ्टी निर्देशनालयका निमित्त प्रमुख विक्रम गौतम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला, एरोनोटिकल इन्जिनियर विधान श्रेष्ठसहित बुद्ध एयरका प्राविधिक तथा उच्च तहका कर्मचारी सुवर्ण खरेल र दिलीप खड्का सहित सहभागी छन् । टोलीले विमान तान्ने, क्षतिको मूल्यांकन गर्ने र थप जोखिम न्यूनीकरणमा काम गर्नेछ ।
घटनाको कारणबारे थप छानबिन हुने क्यानले जनाएको छ । भद्रपुर विमानस्थलमा दैनिक रूपमा बुद्ध एयरका ६, यति एयरलाइन्सका ४ र श्री एयरलाइन्सका ३ उडान सञ्चालन हुँदै आएका छन् । दुर्घटनामा परेको उडान बुद्ध एयरको शुक्रबारको अन्तिम उडान थियो ।
