एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका महासचिव मोहन कार्कीले विज्ञप्ति जारी गर्दै फेस्टिभलबारे जानकारी दिएका हुन् ।
नयाँदिल्ली — दोस्रो इन्डो-नेपाल ट्रेड फेस्टिभल-२०२६ आगामी फेब्रुअरी २०-२२ सम्म भारतको राजधानी नयाँदिल्लीमा हुने भएको छ ।
एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका महासचिव मोहन कार्कीले विज्ञप्ति जारी गर्दै फेस्टिभलबारे जानकारी दिएका हुन् । उनका अनुसार, फेस्टिभल 'जन-जनलाई जोड्दै, द्विपक्षीय व्यापार सुदृढ गर्दै' भन्ने मूल नारासहित पीएचडी हाउस नयाँदिल्लीमा आयोजना गरिनेछ । फेस्टिभल नेपाली दूतावास नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड तथा ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर, नेपालसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि, इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६ ले भारत र नेपालबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदान-प्रदान तथा जन-जनबीचको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ । यस वर्षको विषयवस्तुले दिगो आर्थिक विकासका लागि मानवीय सम्बन्ध र आपसी समझदारीलाई आधारशिलाका रूपमा प्रस्तुत गर्ने विज्ञप्तिमा उल्लेख छ ।
फेस्टिभलमा व्यापार, लगानी तथा एमएसएमई प्रदर्शनी, पर्यटन, आतिथ्य तथा वेलनेस प्रवर्द्धन, स्टार्ट-अप तथा नवप्रवर्तन प्रदर्शनी, नीतिगत संवाद तथा विशेषज्ञ प्यानल छलफल, उच्चस्तरीय सांस्कृतिक प्रस्तुतिहरू लगायत हुने विज्ञप्तिमा उल्लेख छ । व्यापार र व्यावसायिक गतिविधिहरूका अतिरिक्त, फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका चर्चित गायक-गायिका र कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छ ।
एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले फेस्टिभललाई व्यापार, संस्कृति, पर्यटन र कूटनीतिक सम्बन्धलाई एकीकृत गर्ने समग्र इन्डो-नेपाल प्लेटफर्म का रूपमा परिकल्पना गरिएको बताए ।
