विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो । यो संख्या सन् २०२४ को तुलनामा ७.७ प्रतिशतले बढी हो ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

BYD overtakes Tesla in electric vehicle sales

What you should know

काठमाडौँ — विश्वमा सर्वाधिक विद्युतीय गाडी बिक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक बिक्रीमा बीवाईडीले पहिलो पटक इलन मस्कको टेस्लालाई जितेको बीबीसीको समाचारमा उल्लेख छ ।

बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो । यो संख्या सन् २०२४ को तुलनामा ७.७ प्रतिशतले बढी हो । यसमा न्यु इनर्जी भेहिकल, प्यासेन्जर भेहिकल, प्लग–इन हाइब्रिड इलेक्ट्रिक तथा ब्याट्रीबाट चल्ने विद्युतीय गरी सबै प्रकारका सवारी समावेश छ ।

ब्याट्रीबाट चल्ने कार मात्रै बीवाईडीले यस वर्ष साढे २२ लाख युनिट बिक्री गरेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यो २७.८६ प्रतिशतले बढी हो । टेस्लाले भने शुक्रबार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै छ । तथापि गत साताको विश्लेषणमा टेस्लाले यस वर्ष १६ लाख ५० हजार प्रति ब्याट्री–पावर्ड भेहिकल बिक्री गरेको उल्लेख थियो ।

‘टेस्लाका नयाँ प्रस्तावप्रति उपभोक्ताका मिश्रित प्रतिक्रिया, मस्कको राजनीतिक सक्रियताप्रतिको संकोच र चिनियाँ प्रतिस्पर्धाका कारण यस अमेरिकी कम्पनीका लागि यो वर्ष चुनौतीपूर्ण रह्यो,’ बीबीसीका बिजनेस रिपोर्टर ओस्मन्ड सियाले लेखेका छन्, ‘गत अक्टोबरमा टेस्लाले बिक्री दर बढाउन आफ्ना लोकप्रिय दुई मोडलको सस्तो भर्सन सार्वजनिक गरेको थियो । नयाँ र सुपथ विकल्प ल्याएर बजारमा प्रतिस्पर्धी भइरहन कम्पनीले असाध्यै ढिलो गरेको भन्दै आलोचना भएको थियो ।’

टेस्लाको बजार बढाउने उद्देश्यले यसका सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मस्कलाई कम्पनीमा टिकाइराख्न सेयरधनीहरूले गत नोभेम्बरमा एक ट्रिलियन डलरको पे प्याकेज दिने निर्णयसमेत गरेका थिए । यसका लागि उनले टेस्लाको बजार मूल्य दुई ट्रिलियन र टेस्लाको बिक्री दुई करोड पुर्‍याउनुपर्नेछ । साथै आगामी एक दशकमा लाखौं ह्युमनोइड रोबोट पनि बिक्री गर्नुपर्ने सर्त छन् । टेस्लाले ‘अप्टिमस’ नामक रोबोट र ‘रोबोट्याक्सी’ हरूमा उल्लेख्य लगानी गरिरहेको बीबीसीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully