भेडेटारमा तीनदिने परिकार महोत्सव

शुक्रबारसम्म चल्ने महोत्सवमा स्थानीय तथा जातीय पहिचान झल्कने खानाका परिकारलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

पुस १७, २०८२

विनोद घिमिरे

Three-day food festival in Bhedetar

What you should know

धनकुटा — अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने परिकार महोत्सवको १३ औं संस्करण सुरु भएको छ।

भारतीय पर्यटकलाई लक्षित गरी होटल एसोसिएसन भेडेटारले आयोजना गरेको परिकार महोत्सवको बुधबार उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले संस्कृति र पर्यावरणलाई संरक्षण गर्दै पर्यटन विकास गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए। 

उनले यो महोत्सवले छिमेकी मुलुक भारतका पर्यटकको आगमन बढाउनुका साथै स्थानीय होटल रेष्टुराँ र यातायातको क्षेत्रमा सकारात्मक सुरधार ल्याउने बताए। ‘यहाँको जातीय भेषभूषा, रहनसहन र परम्परागत संस्कार संस्कृति प्रबर्द्धन गर्न सकिन्छ,’ उनले भने । 

शुक्रबारसम्म चल्ने महोत्सवमा स्थानीय तथा जातीय पहिचान झल्कने खानाका परिकारलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। राई, लिम्बु, मगर, गुरुङ, याम्फू र नेवारी समुदायका परम्परागत खानाका परिकार महोत्सवका मुख्य आकर्षण हुने आयोजकको दाबी छ।

यसका साथै महोत्सवमा भेडेटार पुग्नेले बिगतमा झै माउन्टेन बाइकिङ र प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन सक्ने होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए।

महोत्सवबाट भेडेटार चाल्सप्वाइन्टमा रहेका स्काइवाक, पाथीभरा मन्दिर, थाकलडाँडा पिकनिक स्पट, नाम्जेको आत्माबस्ने घर र जनजाति पार्क, नमस्ते झरना, अजंगको वरको रुख, कार्कीछाप झरना तथा खुवालुङ–ध्वजे पदमार्ग लगायतका पर्यटकीय गन्तव्यहरूको समेत प्रचार–प्रसारमा सहयोग पुग्ने उनले बताए।

महोत्सवमा अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका स्टल पनि राखिएको छ।

महोत्सव अवधिभर २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भेडेटार भित्रिने अपेक्षा गरिएको छ। महोत्सव अवधिमा भेडेटारमा संचालित होटल रेस्टुरााले खानबस्नमा १० प्रतिशतसम्म सहुलियत दिने निर्णय भएको अध्यक्ष लिम्बुले जानकारी दिए। 

भेडेटारमा सानाठूला २ सयको संख्यामा होटल रेस्टुराा संचालनमा छन्। यहाँका होटल रेस्टुराँमा दैनिक ४ हजार आगन्तुकलाई सेवा दिन सक्ने क्षमता छ।

यसैबीच भेडेटार क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्‍याएको भन्दै धनकुटाका पत्रकार नारायणकुमार आठपहरिया र धरानका रोहित बस्नेतलाई पुरस्कृत गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री मण्डल र होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिम्बुले दुवै पत्रकारलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरे। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully