बिहानै चीनतर्फ सामान लिन पठाइएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।
What you should know
काठमाडौँ — रसुवागढी नाका करिब ६ महिना पछि बिहीबारबाट सञ्चालनमा आएको छ । चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो ।
बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प थियो । चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको हो । बिहानै चीनतर्फ सामान लिन पठाइएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।
‘बिहानै खाली कन्टेनर सामान लिन चीनतर्फ पठाइएको छ,’ उनले भने, ‘उताबाट रोकिएका कन्टेनर आउँदै छन्,के कति आउँछ्न र जान्छ्न्, साझ थाहा हुन्छ ।’ दसैंको मुखमा नाका बन्द हुँदा विद्युतीय गाडी, फलफूल र लत्ताकपडा आउन सकेका थिएनन् ।
बाढीअघि रसुवागढीबाट दिनको सय हाराहारी कन्टेनर पारि जाने र त्यति नै संख्यामा सामान लिएर वारि आउने गर्थे । २४ असारपछि भने नाका सुनसान छ । यस नाकाबाट तयारी वस्तु, स्याउलगायत फलफूल आयात हुन्थ्यो । धेरैजसो विद्युतीय सवारीसाधन यही नाका हुँदै भित्रिन्थे ।
नाका बन्द भएपछि अहिलेसम्म (पुसको सहित) करिब २१ अर्ब राजस्व गुमेको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत भट्टराईले बताए । नाका बन्द भएपछि अन्य नाकाबाट थोरैको संख्यामा मालवाहक सवारी नेपाल भित्रिए पनि रसुवा नाकाको राजस्व संकलनमा ठूलो प्रभाव नपारेको उनको भनाइ छ । नाका खुलेपछि उताबाट सामान बोकेका मालवाहक सवारी रसुवा भन्सारको यार्डमा आउनेछन् । त्यसपछि भन्सार जाँच पास गरेर पठाइनेछ ।
बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने र त्यति नै संख्यामा उता पठाउन नमिल्ने उनले बताए । पुलका कारण भारवहन क्षमता बढी भएका सवारीसाधन पनि आउने छैनन् । रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर लामो समय सडक अवरुद्ध थियो ।
जसले गर्दा अहिले पनि मालवाहक सवारीसाधन ओहोरदोहोर गर्न समस्या छ । ठाउँठाउँमा ट्राफिक प्रहरी राख्नुको विकल्प छैन । सडक साँघुरो छ । उक्त सडक खण्डको काम चीन सरकारको अनुदानमा स्तरोन्नति गरिँदै छ ।
केही–केही स्थानमा अझै सडक एकतर्फी सञ्चालनमा छ । पुसमा रसुवा भन्सारको ३ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । ‘पुस आधा महिना बितिसकेकाले लक्ष्य पूरा नहुने निश्चित छ,’ भट्टराईले भने, ‘त्यसमाथि नाका खोल्नासाथ सामान आइहाल्ने र राजस्व संकलन भइहाल्ने होइन ।’
अब व्यवसायीले सामान आयात गर्न प्रतीतपत्र (एसलसी) खोल्नुपर्ने, चीनतर्फ गएर सामान लोड गर्नुपर्छ ।
