मल अभाव समाधान गर्न नेपाल-भारत संयुक्त लगानीमा मल कारखाना स्थापना गर्न निक्कीको प्रस्ताव

बैठकमा निक्कीका अध्यक्ष सुनिल केसीले मलको अस्थिर र समयमै नपाइने आपूर्तिका कारण नेपालको कृषि क्षेत्रले भोगिरहेको समस्याबारे जानकारी गराएका थिए ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Nikkei proposes to establish a fertilizer factory in a joint venture between Nepal and India to address fertilizer shortage

What you should know

काठमाडौँ — नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालमा बारम्बार देखिने मल अभाव समाधान गर्न नेपाल-भारत संयुक्त लगानीमा मल उत्पादन उद्योग स्थापना गर्न प्रस्ताव गरेको छ। 

हरेक खेतीपातीको सिजनमा दोहोरिने मल अभावले कृषक र समग्र कृषि उत्पादनमा नकारात्मक असर पार्दै आएको भन्दै दीर्घकालीन र संरचनागत समाधानका लागि द्विपक्षीय सहकार्य आवश्यक रहेको निक्कीको धारणा छ।

काठमाडौं भ्रमणमा रहेका भारत सरकारको कृषि तथा किसान कल्याण विभागका अतिरिक्त सचिव डा. प्रमोद कुमार मेहर्दासँग निक्कीका अध्यक्ष सुनील केसीले उक्त प्रस्ताव राखेका हुन्।  

बैठकमा अध्यक्ष केसीले मलको अस्थिर र समयमै नपाइने आपूर्तिका कारण नेपालको कृषि क्षेत्रले भोगिरहेको समस्याबारे जानकारी गराए ।

'समयमै मल उपलब्ध नहुनु नेपालको कृषि उत्पादनशीलतामा बाधा पुग्ने प्रमुख कारणमध्ये एक हो,' उनले भने, 'नेपाल–भारत संयुक्त लगानीमा मल उत्पादन उद्योग स्थापना भएमा दीर्घकालीन रूपमा मल अभाव समाधान हुनुका साथै क्षेत्रीय खाद्य सुरक्षामा पनि योगदान पुग्न सक्छ।'

भेटघाटमा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने, द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने, दिगो कृषि अभ्यासलाई अघि बढाउने र किसानले भोगिरहेका संरचनागत चुनौती समाधान गर्ने विषयमा समेत छलफल भएको थियो।

निक्कीले जैविक (अर्गानिक) कृषिमा सहकार्य विस्तार गर्ने प्रस्तावसमेत राख्दै अर्गानिक प्रमाणीकरणका लागि संस्थागत सहयोग आवश्यक रहेको उल्लेख गर्‍यो। यस्तो सहयोगले नेपाली किसानलाई प्रिमियम बजारमा पहुँच दिलाउने, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने र उत्पादनमा थप मूल्य अभिवृद्धि गर्ने सहभागीहरूको धारणा थियो।

अन्तरक्रियाले रणनीतिक लगानी, ज्ञान आदान–प्रदान र दीर्घकालीन संस्थागत संलग्नतामार्फत नेपाल–भारत कृषि सहकार्यलाई अघि बढाउने साझा प्रतिबद्धता झल्काएको छ।

निक्कीको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै डा. मेहर्दाले नेपालको कृषि क्षेत्रसँग सम्बन्धित प्रमुख समस्याहरू संकलन गरी आफ्नो मन्त्रालयमा पेश गर्न निक्कीलाई अनुरोध गरे।  उनले दुवै देशका लागि लाभदायी हुने सहकार्यका सम्भावनाहरू खोज्न सकिने संकेत दिए।

कान्तिपुर

Link copied successfully