सन् २०२५ मा भारत २,९२,४३८ पर्यटक (२५.२%)का साथ नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत देश बनेको छ। त्यसपछि संयुक्त राज्य अमेरिका १,१२,३१६ (९.७%), चीन ९५,४८० (८.२%), संयुक्त अधिराज्य ५८,६८४ (५.१%) र बंगलादेश ५७,५४५ (५.०%) शीर्ष पाँच स्रोत बजारमा परेका छन्।
What you should know
काठमाडौँ — अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डले जारी गरेको प्रारम्भिक तथ्यांकअनुसार, सन् २०२५ को वर्षभरि अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ लाख ५८ हजार ४सय ५९ पुगेको छ ।
यो सन् २०१९ को कोभिड महामारीअघिको समग्र स्तरको करिब ९७ प्रतिशत हो भने, पछिल्लो त्रैमासिक पर्यटक आगमन प्रवृत्तिले पूर्ण पुनरुत्थानतर्फउन्मुख भएको स्पष्ट संकेत दिएको छ।
अध्यागमन विभागबाट प्राप्त तथ्यांकले हिमाली राष्ट्र नेपालप्रति अन्तर्राष्ट्रिय यात्रुहरूको माग स्थिर बन्दै गएको मात्र नभई क्षेत्रीय विविधीकरणसमेत तीव्र भएको देखाएको छ ।
सीमित हवाई पूर्वाधारका बाबजुद पनि यति ठूलो संख्यामा पर्यटक आगमन हुनु सकारात्मक उपलब्धिका रूपमा हेरिनु पर्ने बोर्डका सीईओ दीपकराज जोशीले बताए ।
सन् २०२५ मा भारत २,९२,४३८ पर्यटक (२५.२%)का साथ नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत देश बनेको छ। त्यसपछि संयुक्त राज्य अमेरिका १,१२,३१६ (९.७%), चीन ९५,४८० (८.२%), संयुक्त अधिराज्य ५८,६८४ (५.१%) र बंगलादेश ५७,५४५ (५.०%) शीर्ष पाँच स्रोत बजारमा परेका छन्।
क्षेत्रीय आँकडा हेर्दा दक्षिण एसिया (सार्क)बाट कुल ३५.२% (४,०८,१०३) पर्यटक आएका छन्। अन्य एसियाले २१.९% (२,५३,३११) योगदान गरेको छ भने युरोपबाट १९.१% (२,२१,०१८) पर्यटक नेपाल आएका छन्। यो तथ्यांकले युरोपेली र अमेरिकी बजार पूर्ण रूपमा फर्किन बाँकी रहे पनि नेपालको पर्यटन बजारको समग्र आगमनलाई क्षेत्रीय पर्यटनले धानेको देखाएको छ।
डिसेम्बर २०२५ मा ९८,१९० अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका थिए । जुन डिसेम्बर २०२४ को तुलनामा ६.७% ले बढी हो। यो संख्या डिसेम्बर २०१९ को स्तरसँग करिब बराबर रहँदै वर्षको अन्त्य उत्साहजनक सम्पन्न भएको देखिन्छ।
पर्यटक आगमनसँगै पर्यटनको आर्थिक प्रभाव पनि स्पष्ट देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ (साउन–कात्तिक) अवधिमा पर्यटनबाट २७ अर्ब १५ करोडभन्दा बढी वैदेशिक मुद्रा आर्जन भएको छ।
त्यस्तै,साउनदेखि मंसिरसम्म पर्यटन क्षेत्रमा ४७६ परियोजनामार्फत ३० अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । जसले होटल, रिसोर्ट, साहसिक पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत गर्दछ।
तथ्यांकले नेपालको पर्यटन क्षेत्रमा मात्रात्मक सुधारसँगै गुणात्मक रूपान्तरण पनि देखाएको छ। भारत र चीनबाट कोभिडअघिको स्तर पूर्ण रूपमा फर्किन नसके पनि, बंगलादेश, अमेरिका, युरोप र ओसेनियाली बजार स्थिर रूपमा विस्तार हुँदै गएका छन् ।
विशेषगरी बंगलादेश नेपालको नयाँ उदीयमान स्रोत बजारका रूपमा स्थापित हुँदै गएको देखिन्छ, जसले काठमाडौं, पोखरा, नगरकोट र धुलिखेल जस्ता गन्तव्यलाई फाइदा पुर्याइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सीमितताबीच पनि देखिएको यो वृद्धि नेपाल पर्यटन क्षेत्र महामारीपछिको पुनरुत्थान चरणबाट बाहिरिएर नयाँ विस्तार चरणमा प्रवेश गरेको स्पष्ट संकेतका रूपमा हेरिएको सीईओ जोशीले बताए ।
