पोल्ट्री व्यवसायमा वार्षिक डेढ खर्बको कारोबार

चल्ला, दाना तथा कुखुराको अन्डा र मासुमा करिब आत्मनिर्भर भए पनि दानाको कच्चा पदार्थ, औषधि, भ्याक्सिन र औजार उपकरणका लागि आयातमै निर्भर

पुस १७, २०८२

रमेशकुमार पौडेल

Annual turnover of 1.5 trillion rupees in the poultry business

What you should know

चितवन — नेपालमा वार्षिक डेढ खर्ब रुपैयाँको पोल्ट्री व्यवसायको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले भरतपुरमा पोल्ट्री दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बद्ध व्यवसायीले यस्तो दाबी गरेका हुन् । 

पोल्ट्री व्यवसायमा नेपालमा हाल १ खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको मञ्चका अध्यक्ष रघुनाथ भट्टको दाबी छ । यसबाट वार्षिक कारोबार १ खर्ब ४५ अर्ब रुपैयाँ बराबर हुने गरेको उनले बताए । १७ पुस २०१७ मा बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रले  सेन्ट्रल ह्याचरीको उद्घाटन गरेका थिए । त्यसपछि नेपालमा आधुनिक पोल्ट्रीको  सुरुवात भएको व्यवसायीहरूको मत छ । २०७० देखि १७ पुसमा नेपालमा  राष्ट्रिय पोल्ट्री दिवस मनाउन सुरु भएको हो । कोरोनापछि घट्दो क्रममा रहेको कुखुरा पालन क्षेत्रमा थप चुनौती देखिएको व्यवसायीको भनाइ छ ।

कोरानाअघि नेपालमा अन्डाका लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने १४ ह्याचरी थिए । अहिले सातमा झरेका छन् । मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी ३ सय ४० बाट अहिले १ सय ९ मा झरेको पनि भट्टले जनाए । कोरोनाअघि दुई सयभन्दा बढी दाना उद्योग रहेकामा अहिले १ सय १५ मा खुम्चिएका छन् । 

चल्ला, दाना तथा कुखुराको अन्डा र मासुमा नेपाल लगभग आत्मनिर्भर भए पनि दानाको कच्चा पदार्थ, औषधि, भ्याक्सिन र औजार उपकरण प्रायः आयात हुने गरेको छ । पोल्ट्री व्यवसायमा आवश्यक कच्चा पदार्थ र अन्य वस्तु आयात गर्दा ४५ अर्ब रुपैयाँ बाहिरिरहेको भट्टले बताए । दानाको कच्चा पदार्थ ७० प्रतिशतसम्म आयात हुने गरेको उनको भनाइ छ । औषधि ९० प्रतिशत र भ्याक्सिन तथा औजार उपकरण ९५ प्रतिशत आयात भइरहेको उनले जनाए । 

पहिला मकै पनि धेरैजसो आयात हुने गरेको नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटाको भनाइ छ । ‘अहिले दानाका लागि चाहिने मकै ५० प्रतिशतभन्दा तलै आयात हुन्छ । हामीलाई चाहिने ९९ प्रतिशत भटमास आयात हुने गर्छ । यहाँ उत्पादन नहुँदा यस्तो भएको हो,’ सापकोटाले भने ।

कुखुरापालन क्षेत्रमा हुने खर्चको ७० प्रतिशत हिस्सा दानाले ओगट्ने गरेको छ । ‘औजार, उपकरण र प्रविधि यहीं बनाउन नसकिएला । सरकारले प्रोत्साहन गरे मकै, भटमास खेती बढाउन सकिन्छ,’ नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully