राष्ट्र बैंकले ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँको बोलकबोल आह्वान गरेकामा ३२ बैंक तथा वित्तीय संस्थाले १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँका लागि १ सय २९ वटा प्रस्ताव पेस गरेका थिए ।
What you should know
काठमाडौँ — राष्ट्र बैंकले सोमबार ऋणपत्र जारी गरेर एक वर्षका लागि २५ अर्ब रुपैयाँ अधिक तरलता खुला बजारबाट खिचेको छ । केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा विद्यमान अधिक तरलताको दीर्घकालीन व्यवस्थापनका लागि ‘राष्ट्र बैंक ऋणपत्र’ उपकरण प्रयोग ल्याएको हो ।
उक्त ऋणपत्र लामो अवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याउने मौद्रिक उपकरण हो । बैंकले १० वर्षपछि पहिलो पटक उक्त ऋणपत्र जारी गरेको हो । यसअघि आर्थिक वर्ष २०७२/७३ मा यही उपकरणमार्फत ४९ अर्ब ०८ करोड रुपैयाँ बजारबाट झिकिएको थियो ।
करिब तीन वर्षदेखि वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन (आइतबार र बुधबार) आवश्यकताअनुसार बजारबाट पैसा झिक्दै आएको छ । यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरण प्रयोग गर्दै आएको छ । यसअनुसार निक्षेप सुविधामार्फत राष्ट्र बैंकले छोटो अवधिदेखि ६ महिनासम्मका लागि बजारबाट पैसा झिक्ने गरेको छ ।
तर पछिल्लो समय अधिक तरलताको अवस्थामा सुधार नदेखिएपछि केन्द्रीय बैंकले १० वर्षपछि राष्ट्र बैंक ऋणपत्र जारी गर्दै बजारबाट २५ अर्ब रुपैयाँ झिकेको हो । सोमबार जारी उक्त ऋणपत्रमा २५ अर्ब रुपैयाँको बोलकबोल आह्वान गरिएकामा ३२ वटा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँका लागि १ सय २९ वटा प्रस्ताव पेस गरेका थिए । बोलकबोलमा २.६४ प्रतिशत ब्याजदर (कुपन रेट) कायम भएको छ । राष्ट्र बैंकले आह्वान गरेभन्दा निकै धेरै रकमका लागि आवेदन पर्नुले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको पुष्टि हुन्छ ।
वित्तीय क्षेत्रमा हाल विद्यमान अधिक तरलताको प्रकृति संरचनात्मक रहेको र तत्काल घट्ने नदेखिएकाले एक वर्षका लागि ऋणपत्र जारी गरिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘अहिलेको तरलताको अवस्था संरचनात्मक प्रकृति (मध्यमकालीन प्रकृतिको) को देखिएकाले २०७२ सालपछि पहिलो पटक राष्ट्र बैंक ऋणपत्रमार्फत एक वर्षसम्मका लागि बजारबाट २५ अर्ब तरलता खिचेको छ,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रभुख डिल्लीराम पोखरेलले भने, ‘यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत छोटो अवधिसँगै ३ देखि ६ महिनासम्मका लागि बजारबाट अधिक तरलता खिच्दै आएको थियो । अधिक तरलताको अवस्था तत्कालै नघट्ने देखिएपछि एक वर्षका लागि पैसा तानिएको हो ।’
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेको थियो । अहिले सोही नीति कार्यान्वयनमा ल्याइएको पोखरेलले जानकारी दिए । ‘बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरिनेछ,’ मौद्रिक नीतिमा राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले यसअघि ६ पटक यस्तै ऋणपत्रमार्फत बजारबाट पैसा झिकिसकेको छ । आर्थिक वर्ष २०४९/५० मा राष्ट्र बैंक ऋणपत्रमार्फत राष्ट्र बैंकले बजारबाट २४ अर्ब ८८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । त्यतिबेला हालको जस्तो ब्याजदर करिडोर सञ्चालनमा थिएन । तरलताको अवस्था हेरेर राष्ट्र बैंकले अल्पकाल वा दीर्घकालका लागि बजारबाट पैसा झिक्दै आएको थियो । त्यतिबेला बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) बापत राष्ट्र बैंकमा राख्नुपर्नेबाहेक रकम अधिक तरलता हो । त्यसका आधारमा बजारमा अधिक तरलता धेरै भएको अवस्थामा बजारबाट पैसा झिकिँदै आएको छ । हाल ब्याजदर करिडोर सञ्चालनमा छ । यसकारण करिडोरको माथिल्लो सिलिङ (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत छ ।
करिडोरको तल्लो सीमा (स्थायी निक्षेप सुविधा) २.७५ प्रतिशत छ । यसरी बैंकहरू बीचको सापटी (अन्तरबैंक दर) ५.७५ प्रतिशतभन्दा बढी हुँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । यस्तै, अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा कम भएपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्छ ।
अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा तल रहिरहेपछि पछिल्लो तीन वर्षदेखि राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । आउँदा दिनमा पनि राष्ट्र बैंकले यो ऋणपत्रमार्फत पैसा झिक्ने तयारी गरेको छ । स्रोतका अनुसार हाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय खुला बजार कारोबार सञ्चालन समितिले गरिसकेको छ । आवश्यकताअनुसार समितिले निर्णय गरेर त्यसभन्दा बढी रकम पनि झिक्न सकिने स्रोतले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले आर्थिक वर्ष २०५०/५१ मा ६५ अर्ब ७२ करोड, आर्थिक वर्ष २०५१/५२ मा ४५ अर्ब ७४ करोड, आर्थिक वर्ष २०५२/५३ मा ९ अर्ब ३७ करोड र आर्थिक वर्ष २०७२/७३ मा ४९ अर्ब ०८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । त्यसता राष्ट्र बैंकले राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गरेको थिएन ।
गत साउनयता राष्ट्र बैंकले २ सय ६९ खर्ब ६४ अर्ब ५० करोड रुपैयाँ आह्वान गरेकामा २ सय ६५ खर्ब ३० अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ । त्यसमध्ये परिपक्व अवधिपछि धेरै रकम फिर्ता भइसकेको छ । यसरी तानिएको उल्लिखित रकममध्ये सोमबारसम्म ६ खर्ब २१ अर्ब ८० करोड रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
गत शनिबार (२७ मंसिर) सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७५ खर्ब ९२ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.११ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब ९० रुपैयाँ छ । असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम ११ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी थियो ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगद राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा सीडी अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ । बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान (ऋण दिन) पाउँछन् । यी तथ्यलाई आधार मान्दा पनि २७ मंसिरसम्म बैंक तथा वित्तीय संस्थासँग करिब १० खर्ब ६६ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको बैंकरहरू बताउँछन् ।
*यस समाचारमा १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँका लागि १ सय २९ वटा प्रस्ताव पेस गरेको हुनुपर्नेमा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ भएकोमा सच्याइएको छ । राष्ट्र बैंक आफैंले तथ्यांक सच्याएपछि हामीले भूलसुधार गरेका हौँ ।- सम्पादक
