नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

नेपाल पर्यटन बोर्डले आसियान मुलुकलाई उच्च सम्भावनायुक्त पर्यटन बजारका रूपमा केन्द्रमा राख्दै सन् २०२६ लक्षित विशेष रणनीति सार्वजनिक गरेको हो ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Nepal-ASEAN Tourism Year 2026 declared

What you should know

काठमाडौँ — नेपाल पर्यटन बोर्डले बुधबार आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ ।

आसियान मुलुकलाई उच्च सम्भावनायुक्त पर्यटन बजारका रूपमा केन्द्रमा राख्दै सन् २०२६ लक्षित विशेष रणनीति सार्वजनिक गरिएको हो ।

आसियान दक्षिण–पूर्वी एसियाका १० देशहरूको संगठन हो, जसमा इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्याण्ड, फिलिपिन्स, ब्रुनाइ, भियतनाम, लाओस, म्यानमार र कम्बोडिया पर्दछन् ।

उद्घाटन समारोहमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आसियान क्षेत्रलाई दीर्घकालीन र रणनीतिक पर्यटन बजारका रूपमा प्रस्तुत गरे । उनका अनुसार हालसम्म एक लाख सात हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भ्रमण गरिसकेका छन्, जसले उक्त क्षेत्रको ठूलो सम्भावना पुष्टि गर्दछ ।

‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक यात्रा, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको सशक्त पहिचान स्थापित गरिनेछ,’ सीईओ जोशीले बताए ।

सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशतले वृद्धि भएको उल्लेख गरे । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि र २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भइसकेका छन् ।

Nepal-ASEAN Tourism Year 2026 declared

त्यसैगरी, जेन–जी आन्दोलनपछिको अवधिमा आठ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवर्द्धन, नौ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास कार्य, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी पनि उनले दिए।

‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभई बहुआयामिक क्रस–सेक्टर क्षेत्र हो,’ जोशीले भने । सन् २०२५ मा विभिन्न क्षेत्रका २ हजार ६ सयभन्दा बढी जनशक्तिलाई व्यावसायिक तालिम प्रदान गरिएको उल्लेख गर्दै उनले कञ्चनजंघा, मनास्लु र अपी–साइपालका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सस्टेनेबल टुरिजम परियोजनाअन्तर्गत सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी सिर्जना र बजार विस्तारमा काम भइरहेको बताए ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख यात्रा प्रवृत्ति सार्वजनिक गरेको छ । जसमा शोरभन्दा शान्तिको खोजी, प्रशासनमा जेन–एआईको प्रयोग, छनोटभन्दा विश्वासमा आधारित निर्णय, हवाईमार्गभन्दा सडक यात्राको प्राथमिकता, अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण नगरिएका अफ–ग्रिड गन्तव्यको आकर्षण तथा संस्कृतिलाई केन्द्रमा राख्ने प्रवृत्ति समावेश छन् ।

आगामी मार्गचित्र प्रस्तुत गर्दै सीईओ जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति तथा अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको संयोजन, अनुत्पादक कार्यक्रमको कटौती तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरे ।

कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजमका तर्फबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो। साथै, अवसरमा नेपाल पर्यटन बोर्डको वार्षिक प्रकाशन ‘इन–फोकस’ पनि विमोचन गरिएको थियो । 

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ लगायत सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully