कारखानामा तालाबन्दी भएपछि दुग्धजन्य पदार्थको खरिद, उत्पादन तथा बिक्री वितरण कार्य प्रभावित भएको डीडीसी अत्तरियाले छ ।
What you should know
धनगढी — कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालय र दुग्ध प्रशोधन कारखाना धनगढीमा सार्न थालिएपछि अत्तरियाका स्थानीय बासिन्दाले विरोध गर्दै सोमबारदेखि तालाबन्दी गरेका छन् ।
कारखानामा तालाबन्दी भएपछि दुग्धजन्य पदार्थको खरिद, उत्पादन तथा बिक्री वितरण कार्य प्रभावित भएको डीडीसी अत्तरियाले छ ।
गोदावरी नगरपालिकाको अत्तरियामा रहेको कार्यालय र कारखाना सार्न गत वर्षको माघमै डीडीसीले धनगढी उपमहानगरपालिकासँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार कारखाना सार्न सुरु गरिएपछि अत्तरियाका स्थानीयले विरोध गर्दै कारखानामा तालाबन्दी गरेका हुन् ।
हालको कारखाना अत्तरियास्थित तरकारी तथा कृषि उपज हाटबजार क्षेत्रमा छ । मासिक २८ हजार भाडा तिर्नु परेको, क्षमता विस्तार गर्न भौतिक पूर्वाधार अपुग भएको, स्थायित्व नभएको, कृषि उपज हाटबजारभित्र कारखाना भएकाले प्रदूषण रहेको`लगायतका कारण सार्नु तयारी गरिएको डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईको दाबी छ ।
‘धनगढी उपमहानगरसँग मासिक सात हजारमा कनगरीस्थित जडीबुटी प्रशोधन केन्द्रका लागि निर्मित भवनमा गत वर्षको माघमै सम्झौता भएको हो,’ भट्टराईले भने ‘अहिले कार्यालय सारिसकेका थियौं । कारखाना सार्ने क्रममा अवरोध भएको छ ।’ धनगढीले उपलब्ध गराउन लागेको ठाउँमा पर्याप्त जग्गा र सुविधायुक्त भवन संरचना रहेको र २५ वर्षका लागि सम्झौता गरिएको भट्टराईले बताए ।
गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरियामा रहेको कारखाना सार्न खोज्नुको भित्री कारण थाहा नभएको बताए । ‘यो सवाल राजनीतिकरण भएर बल्झिएको हो । हामीले कारखानाका लागि बास्कोटामा चार बिघा र कार्यालयका लागि अत्तरियामै दुई कठ्ठा देखाएका पनि हौं, उनीहरू मञ्जुर पनि भएका हुन्,’ नगरप्रमुख भट्टले भने ‘अब उहाँहरूले सार्ने नै भए संघ सरकारको कार्यालयलाई मैले रोकेर रोक्न सक्दैन ।’
कारखानामा तालाबन्दी भएपछि दुग्धजन्य पदार्थ बजारमा उत्पादन पठाउने कार्यमा प्रभावित भएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । १२ जना स्थायी र १६ जना भरपाई गरी २८ जना कर्मचारी कार्यरत रहेको डीडीसीले कैलाली, कञ्चनपुर र डडेलधुराका किसानबाट प्रतिदिन ६ हजार लिटर दूध संकलन गर्ने गरिएको कार्यालयले जनाएको छ ।
अत्तरिया र धनगढीमा गरि दैनिक एक हजार लिटर दूध-दही खपत हुने गरेको छ । ‘चार हजार लिटर दूध सुदूरपश्चिमबाहिर काठमाडौं, विराटनगर हेटौंडा पठाउने गरेका छौं,’ भट्टराईले भने ‘किसानहरुबाट प्रतिलिटर सरदर ६५ देखि ८० रुपैयाँसम्ममा दूध खरिद गर्ने गरिएको छ । दूधका अतिरिक्त दुग्धजन्य पदार्थहरू दही, मही, पनिर, घ्यु उत्पादन गरेर बिक्री वितरण गर्ने गरेका छौं ।’
यसअघि पनि गत जेठ ८ गते कारखाना धनगढी सार्न थालिएको भन्दै अत्तरियाका स्थानीयले भदौ ३१ सम्म करिब चार महिनासम्म लगातार तालाबन्दी गरेर विरोध गरेका थिए । अत्तरियामा रहेको एउटा मात्रै सरकारी उद्योग अन्यत्र स्थानान्तरण गर्न लागिएकोमा आपत्ति रहेको स्थानीय बासिन्दाको भनाइ छ । ‘अत्तरियामा एउटा मात्रै सरकारी उद्योग यही हो । त्यही पनि सार्न खोजेकोमा हाम्रो आपत्ति हो,’ स्थानीय अगुवा लोकराज पाण्डेले भने ।
जेठदेखि भदौसम्म भएको अवरोधका बेला स्थानीय र कार्यालयबीच कारखाना तत्काललाई नसार्ने समझदारी भएपछि तालाबन्दीको अवरोध हटाइएको थियो । साथै, डीडीसीको कार्यालय र कारखानाका लागि गोदावरी नगरपालिकाले जग्गा उपलब्ध गराउने समझदारी गरिएको थियो ।
तर, लामो सयमसम्म प्रयास गर्दा पनि जमिन नमिलेको भन्दै डीडीसीले जग्गा उपलब्ध नगराइएको भन्दै धनगढी उपमहानगरपालिकासँग भएको सम्झौताबमोजिम धनगढी कारखाना सार्न लागिएको दाबी गरेको छ । तर गोदावरी नगरपालिका भने डीडीसीको उक्त भनाइमा सहमत छैन ।
डीडीसीका महानिर्देशक सञ्जीव झाले अत्तरियाको कारखानामा अवरोध भइरहे सुदूरपश्चिमबाटै कारखाना अन्यत्र सार्नु पर्ने अवस्था आउने बताए ।
