‘कृषि क्षेत्रमा मात्र आधारित देशहरु कहिल्यै अगाडि बढेको छैनन्कृ । कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न समयअनुकूल सही नीति र नियमको आवश्यकता औंल्याउ ।’
What you should know
काठमाडौँ — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विकास र समृद्धिका विषयमा अनावश्यक औपचारिकतामा सीमित नबनी व्यवहारिक कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा बोल्दै आयोजित कार्यक्रममा बोल्दै भट्टराईले महँगा तारे होटलहरूमा लाखौं रुपैयाँ खर्च गरेर गरिने छलफलबाट अपेक्षित परिणाम नआएको टिप्पणी गरे । ‘के गर्ने, कसो गर्ने भन्ने कुरा २० वर्षदेखि सुन्दै आएको छु । मैले पनि भन्दै आएको छु,’ उनले भने, ‘अब ‘के गर्ने’ होइन, ‘कसरी गर्ने’ तर्फ केन्द्रित हुनुपर्छ ।’
उनले मुलुकको आर्थिक अवस्थालाई रोगसँग तुलना गर्दै समस्या पहिचान नगरी समाधान सम्भव नहुने बताए । ‘रोग के हो ? किन भएको छ ? त्यसको खोजी गर्नुपर्छ,’ उनले भने, ‘देश कालको सापेक्षमा हेर्नुपर्छ । विकसित देशहरू त्यहाँ कसरी पुगे, त्यसको हिसाब गर्नुपर्छ ।’
भट्टराईका अनुसार नेपाल अहिले विकासका हिसाबले अन्य मुलुकभन्दा झन्डै एक सय वर्ष पछाडि परिसकेको छ । ‘कृषि क्षेत्रमा मात्र आधारित देशहरु कहिल्यै अगाडि बढेको छैनन्,’ उनले भने, ‘कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न समयअनुकूल सही नीति र नियमको आवश्यकता औंल्याउ । राज्य, समुदाय र निजी क्षेत्रले सबै क्षेत्रलाई समेटेर स्पष्ट नीति लिएर अघि बढे केही वर्षमै ठूलो फड्को हान्न सकिन्छ ।’
भट्टराईले निजी क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिँदै विकसित देशहरूमा राज्यले नै कम्पनी खडा गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने अभ्यास रहेको उल्लेख गरे । लगानी भित्र्याउने विषयमा पनि छलफल आवश्यक रहेको उनले बताए । ‘कामदार पठाउनको साटो पुँजी भित्र्याउन सक्नुपर्छ,’ उनले भने, ‘सम्पत्ति, भूमि र बैंकिङसम्बन्धी नीतिमा ध्यान दिउँ ।’ भूमि राज्य र समुदायले लिने र व्यक्तिलाई भूउपयोगका लागि दिने व्यवस्थासमेत आवश्यक रहेको उनले बताए ।
