उद्यमी व्यवसायीको मनोबल उकास्नु तत्कालको आवश्यकता : अग्रवाल

अध्यक्ष अग्रवालले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–नेपालको भविष्यसँग गाँसिएको एक अत्यन्तै महत्वपूर्ण विषय भएको बताए ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Boosting the morale of entrepreneurs is an urgent need: Agrawal

What you should know

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले अर्थतन्त्र संक्रमणकालीन अवस्थामा रहेकाले उद्यमी व्यवसायीहरुको मनोवल उकास्न आवश्यक रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै अध्यक्ष अग्रवालले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–नेपालको भविष्यसँग गाँसिएको एक अत्यन्तै महत्वपूर्ण विषय भएको बताए । 

‘सरकार प्रमुख राजनैतिक दल निजी क्षेत्र र युवा पुस्ता सबैको सहकार्य नभइकन शान्ति, स्थायित्व र समृद्धिको कल्पना पनि गर्न नसकिने अवस्था अहिले विद्यमान छ,’ उनले भने, ‘नेपाल केवल विश्व मानचित्रमा भौगोलिक सीमाले मात्रै चिनिने देश हैन, यो सहिष्णुता, विविधता र सहअस्तित्वको जिवन्त उदाहरण पनि हो ।’

करिब ६ वर्षदेखि नै कोभिडले प्रभावित अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसकेर, अर्थतन्त्र शिथिल अवस्थामा रहेकै बेला हालै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा मानवीय क्षति , धेरै युवाहरुको सहादत, औद्योगिक व्यावसायिक प्रतिष्ठानहरु एवं निजी सम्पत्तिहरुमा ठूलो क्षति भएको उनले बताए । यसले समग्र व्यावसायिक  एवं औद्योगिक वातावरणमा नकारात्मक असर पुग्नुको साथै निजी क्षेत्रको मनोबल अत्यन्तै न्यून हुन गएको उनको भनाइ छ । 

‘अपार प्राकृतिक स्रोतहरुले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरुको अभावले देशले आर्थिक समृद्धि हासिल गर्नु त परै जाओस् आफ्नो युवाजनशक्ति (जो कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी रहेको छ) को लागि रोजगारीसम्म सिर्जना गर्ने वातावरण बनाउन नसकिएको अवस्था विद्यमान रहेको छ,’ उनले भने, ‘प्रतिदिन २ हजार ५ सयभन्दा बढी युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिनु पर्ने बाध्यता नै युवाहरुमा देखिएको असन्तुष्टिको मूल कारण हो भन्ने हाम्रो ठम्याई छ ।’

निजीक्षेत्र समृद्धिको इन्जिन, रोजगारीको सबैभन्दा ठूलो स्रोत, कर राजस्वको आधार, नवप्रवर्धन र उत्पादकत्वको चालक र युवालाई देशमा नै बाँधेर राख्ने शक्ति भएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully