नयाँ उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित मंगलबार आयोजना गरिएको स्टार्टअप ‘आइडिया पिच’ सेसनमा विभिन्न क्षेत्रका आइडियेटरले आफ्ना अवधारणा प्रस्तुत गरे।
विराटनगर — मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा स्टार्टअपका सात वटा ‘आइडिया पिच’ गरिएको छ।
नयाँ उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित मंगलबार आयोजना गरिएको स्टार्टअप ‘आइडिया पिच’ सेसनमा विभिन्न क्षेत्रका 'आइडियेटर'ले आफ्ना अवधारणा प्रस्तुत गरे।
‘आइडिया पिच’को निर्णायक मण्डलमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ थिए।
र्यक्रममा मोरङका रेवती दाहालले हलो एग्रो प्रालिको अवधारणा प्रस्तुत गर्दै उपभोक्ता परिवारलाई एकै ठाउँबाट सम्पूर्ण खाद्य सामग्री आपूर्ति गर्ने ‘आइडिया पिच’ गरे । पाँच वर्षभित्र देशका सबै महानगरपालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
इलामको सूर्योदय नगरपालिकाका प्रमोद सापकोटाले ग्रिन इनोभेसनमा आधारित वातावरणमैत्री इँटाको प्रविधि प्रस्तुत गरे। पोलिएका रातो इाटाको विकल्पका रूपमा बालुवा र माटो प्रयोग गरेर इँटा उत्पादन गर्ने उनको अवधारणाले वातावरणीय असर न्यून गर्ने दाबी गरिएको छ।
विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्नसँग सम्बन्धित ‘गफसप’ ब्रान्डको आइडिया प्रस्तुत गरे। झापाका सिमन ताजपुरियाले गुरुकुल पुस्तकालय डटकम नामक प्लेटफर्ममार्फत विद्यार्थीले प्रयोग गरिसकेका र खेर जाने पुस्तक पुनः प्रयोग तथा बिक्री गर्ने अवधारणा अघि सारे।
मोरङका भिजन प्रताप खत्रीले कृषि क्षेत्रसँग सम्बन्धित स्टार्टअप आइडिया प्रस्तुत गरे भने सुगन्ध रेग्मीले फुड एन्ड बेभरेज सम्बन्धी अवधारणा ‘पिच’ गरे ।
विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक ‘भेइकल फुड’को ‘आइडिया’ प्रस्तुत गरे । साथै, विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ अध्ययनका लागि सम्पूर्ण पाठ्य सामग्री उपलब्ध गराउने ‘एआई’मा आधारित कम्प्युटर एप्लिकेसनसम्बन्धी ‘आइडिया’ साझा गरे।
संघले गरेको आहृवान अनुसार कोशी प्रदेशका १० जिल्लाबाट प्राप्त ५२ ‘आइडिया’मध्ये उत्कृष्ट २५ छानिएका थिए । तीमध्येबाट १५ ‘आइडिया’लाई अन्तिम चरणमा छनोट गरिएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।
छनोट भएका ‘आइडिया’लाई लगानीकर्तासँग साक्षात्कार गराउने तथा व्यवसायको चरणसम्म पुर्याउन संघले ‘ब्रिजिङ’ र सहजीकरण गर्ने उनले बताए । कार्यक्रमको सहजीकरण ‘आइडिया स्टुडियो’ ले गरेको हो ।
