बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प थियो । नाका बन्द भएपछि अहिलेसम्म करिब २१ अर्ब राजस्व गुमेको छ ।
What you should know
काठमाडौँ — चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै करिब ६ महिनादेखि ठप्प रसुवागढी नाका बिहीबारबाट सञ्चालनमा आउने भएको छ ।
बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प थियो । चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुल्न लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जनाए ।
‘पुल तयार भएपछि बाढीअघि पारि फसेका मालवाहक सवारीसाधन लिन आइतबार चालकलाई त्यसतर्फ जान दिइएको छ,’ पन्थीले भने, ‘पारि अनुमानित दुई सयभन्दा बढी कन्टेनर छन्, जसमा केहीमा सामान छ, केही खाली छन् ।’ दसैंको मुखमा नाका बन्द हुँदा विद्युतीय गाडी, फलफूल र लत्ताकपडा आउन सकेका थिएनन् । ‘नाका खोल्ने विषय दुई पक्ष बसेर गरिएको निर्णय होइन,’ पन्थीले भने, ‘उताबाट १ जनवरी (१७ पुस) बाट नाका खुलाइने जानकारी मात्र आएको छ ।’ यसबारे थप केही जानकारी नआएको उनले सुनाए । धेरैले नाका कहिले खुल्छ भनेर जिज्ञासा राख्न
थालेपछि नाका खोल्ने जानकारीसहितको सूचना जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा समेत राखिसकिएको छ ।
बाढीअघि रसुवागढीबाट दिनको सय हाराहारी कन्टेनर पारि जाने र त्यति नै संख्यामा सामान लिएर वारि आउने गर्थे । २४ असारपछि भने नाका सुनसान छ । यस नाकाबाट तयारी वस्तु, स्याउलगायत फलफूल आयात हुन्थ्यो । धेरैजसो विद्युतीय सवारीसाधन यही नाका हुँदै भित्रिन्थे । नाका बन्द भएपछि अहिलेसम्म (पुसको सहित) करिब २१ अर्ब राजस्व गुमेको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले जनाए । नाका बन्द भएपछि अन्य नाकाबाट थोरैको संख्यामा मालवाहक सवारी नेपाल भित्रिए पनि रसुवा नाकाको राजस्व संकलनमा ठूलो प्रभाव नपारेको उनको भनाइ छ । नाका खुलेपछि उताबाट सामान बोकेका मालवाहक सवारी रसुवा भन्सारको यार्डमा आउनेछन् । त्यसपछि भन्सार जाँच पास गरेर पठाइनेछ ।
‘बेलिब्रिज एकतर्फी र साँघुरो छ, त्यसैले कन्टेनर पनि पहिलाकै संख्यामा आउने र त्यति नै संख्यामा उता पठाउन मिल्नेछैन,’ भट्टराईले भने, ‘पुलका कारण भारवहन क्षमता बढी भएका सवारीसाधन पनि आउने छैनन् ।’ रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर लामो समय सडक अवरुद्ध थियो । जसले गर्दा अहिले पनि मालवाहक सवारीसाधन ओहोरदोहोर गर्न समस्या छ । ठाउँठाउँमा ट्राफिक प्रहरी राख्नुको विकल्प छैन । सडक साँघुरो छ । उक्त सडक खण्डको काम चीन सरकारको अनुदानमा स्तरोन्नति गरिँदै छ ।
अहिले तत्कालका लागि भने ओहोरदोहोरमा कठिनाइ देखिएको छ । केही–केही स्थानमा अझै सडक एकतर्फी सञ्चालनमा छ । पुसमा रसुवा भन्सारको ३ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । ‘पुस आधा महिना बितिसकेकाले लक्ष्य पूरा नहुने निश्चित छ,’ भट्टराईले भने, ‘त्यसमाथि नाका खोल्नासाथ सामान आइहाल्ने र राजस्व संकलन भइहाल्ने होइन ।’ अब व्यवसायीले सामान आयात गर्न प्रतीतपत्र (एसलसी) खोल्नुपर्ने, चीनतर्फ गएर सामान लोड गर्नुपर्छ ।
‘त्यसैले पुससम्म खासै राजस्व उठ्ने देखिँदैन, माघदेखि मात्र सामान आउन थाल्छ,’ भट्टराईले भने, ‘रसुवाबाट केरुङसम्म करिब २५ किमि पर्छ, त्यहाँसम्म चीनबाट सामान आउँछ ।’ त्यसपछि केरुङ पुगेर नेपालबाट गएका मालवाहक सवारीसाधनले सामान ल्याउनेछन् । बाढीले बगाएको भोटेकोशी किनारको भन्सार यार्ड सफा गरेर करिब २ सय कन्टेनर अट्ने बनाइएको प्रमुख भट्टराईले जनाए ।
लामो समय नाका बन्द हुँदा स्थानीयको रोजीरोटीसमेत गुमेको भन्सार कार्यालयको भनाइ छ । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । नाका ठप्प रहेकाले नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन भने हुन सकेको छैन ।
