पोल्ट्री व्यसायमा वार्षिक डेढ खर्बको कारोबार, कच्चा पदार्थलगायत आयातमा ४५ अर्ब बाहिरिँदै

कुखुरा व्यवसाय सम्बद्ध व्यवसायीहरुले कोरोनापछि घट्दो क्रममा रहेको कुखुरा पालन क्षेत्र अहिले पनि चुनौतीरहित नरहेको बताए ।

पुस १५, २०८२

रमेशकुमार पौडेल

Annual turnover of 1.5 trillion rupees in poultry business, 45 billion rupees being spent on imports including raw materials

What you should know

चितवन — १३ औं राष्ट्रिय पोल्ट्री (कुखुरा पालन) दिवस मनाउने तयारीमा रहेका कुखुरा व्यवसायीहरुले वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको काराेबार भइरहेको बताएका छन्।

विसं २०१७ पुस १७ गते बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रले सेन्ट्रल हृयाचरीको उद्घाटन गरेका थिए। त्यसपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको व्यवसायीहरुको मत छ । २०७० देखि पुस १७ गते नेपालमा राष्ट्रिय पोल्ट्री दिवस मनाउन सुरु भएको हो । 

नेपाल कुखुरा व्यवसायी मञ्चले भरतपुरमा पोल्ट्री दिवसबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सम्बद्ध व्यवसायीहरुले कोरोनापछि घट्दो क्रममा रहेको कुखुरा पालन क्षेत्र अहिले पनि चुनौतीरहित नरहेको उनीहरुले बताए । 

मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरानाअघि नेपालमा अण्डाका लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने १४ वटा हृयाचरी थिए । अहिले ती सात वटामा झरेका छन् । मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्ने हृयाचरी ३४० बाट अहिले १०९ मा झरेको पनि भट्टले जानकारी दिए । कोरोनाअघि २ सय बढी दाना उद्योग रहेकोमा अहिले ११५ मा खुम्चेका छन् ।

भट्टका अनुसार पोल्ट्री व्यवसायमा नेपालमा हाल १ खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको छ । त्यसैगरी वार्षिक कारोबार १ खर्ब ४५ अर्ब रुपैयाँ बराबर हुने गरेको पनि उनले बताए ।

चल्ला, दाना तथा कुखुराको अण्डा र मासुमा नेपाल लगभग आत्मनिर्भर भए पनि दानाको कच्चा पदार्थ, औषधि, भ्याक्सिन र औजार उपकरण प्रायः आयात हुने गरेको छ। दानाको कच्चा पदार्थ ७० प्रतिशतसम्म आयात हुने गरेको भट्टले बताए । औषधि ९० प्रतिशत र भ्याक्सिन तथा औजार उपकरण ९५ प्रतिशत आयात भइरहेको पनि उनले बताए । 

नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्दा सापकोटाले पहिला मकै पनि धेरैजसो आयात हुने गरेको बताए । अहिले नेपालमा मकै खेती बढेका कारण यसमा सुधार भएको छ । ‘अहिले दानाका लागि चाहिने मकै ५० प्रतिशतभन्दा तलै आयात हुन्छ । हामीलाई चाहिने ९९ प्रतिशत भटमास आयात हुने गर्छ । यहाँ उत्पादन नहुँदा यस्तो भएको हो,’ सापकोटाले भने । 

कुखुरापालन क्षेत्रमा हुने खर्चको ७० प्रतिशत हिस्सा दानाले ओगट्ने गरेको छ । त्यसैले विदेशबाट ल्याउने कच्चा पदार्थले लागत मूल्य बढाएको उनले बताए । ‘भ्याक्सिन तत्कालै उत्पादन गर्न गाह्रै छ । औजार, उपकरण र प्रविधि यही बनाउन नसकिएला । सरकारले प्रोत्साहन गरे मकै, भटमास खेती बढाउन सकिन्छ,’ नेपाल हृयाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले भने । पोल्ट्री व्यवसायमा आवश्यक कच्चा पदार्थ र अन्य वस्तु आयात गर्दा ४५ अर्ब रुपैयाँ बाहिरिरहेको भट्टले जानकारी दिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully