सेजनको कार्यक्रममा संयोजक कार्कीले सेबोन र नेप्सेमा सञ्चालक पठाउँदा नियमनमा ठूलो विचलन र स्वार्थ बाझिने भन्दै तत्काल फिर्ता गर्न माग गरे।
काठमाडौँ — नेपाल राष्ट्र बैंकको तर्फबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पठाइएका सञ्चालकहरू तत्काल फिर्ता गर्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक रेवतबहादुर कार्कीले बताएका छन् ।
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र त्यसले नियमन गर्ने निकाय नेप्सेमा सञ्चालक पठाउँदा स्वार्थ बाझिने भएकाले ती सञ्चालक तत्काल फिर्ता गर्नुपर्ने कार्कीको भनाइ थियो ।
आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गएको अन्तरक्रिया कार्यक्रममा संयोजक कार्कीले ठूलो विचलन आउने र स्वार्थ बाझिने गरी नेप्सेमा सञ्चालक पठाउन नमिल्ने बताएका हुन् ।
‘नेप्से स्थापना भएको ३०/३२ वर्षसम्म पनि नियामक सेबोन एक र नेप्सेमा सुरुदेखि नै दुई सञ्चालकको प्रतिनिधित्व गराउँदा ठूलो विचलन र स्वार्थ बाझिने हुन्छ,’ संयोजक कार्कीले भने, ‘सेबोनले नेप्सेलाई कारबाही गर्दा नेपाल राष्ट्र बैंकको सञ्चालकलाई कसरी कारबाही गर्ने समस्या देखिन्छ । बोक्सी र झाँक्री दुवै रूप नेपाल राष्ट्र बैंकले लिएपछि गम्भीर समस्या उत्पन्न भएको छ ।’ यस्तै, सेबोनको सल्लाह र समन्वयबिना हरबखत पुँजी बजारलाई प्रभावित गर्ने नीति ल्याउनु आधारभूत सिद्धान्त र उदारताको विपरीत भएको कार्कीले बताए ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला महिनाहरूमा बैंकिङ क्षेत्र सबैतिरबाट आक्रमणको तारो भएको बताए । बैंकिङ क्षेत्र स्वच्छ, पारदर्शी र उत्कृष्ट सुसाशित भएपनि कसैको राजनीतिक उद्देश्य पूर्तिका लागि बैंकिङ क्षेत्रलाई तारो बनाइएको उनको भनाइ थियो । इमानदार तरिकाले काम गरिरहँदा पनि बैंकिङ क्षेत्रलाई तारो बनाउन प्रवृत्तिप्रति बैंकर्स संघको घोर आपत्ति रहेको उनले बताए ।
