सामूहिक खेतीको कमाल : अलैँचीबाट गाउँमा भित्रियो १ करोड १२ लाख

एकै सिजनमा गाउँलेहरूले अलैँची बिक्रीबाट १ करोड १२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेपछि गाउँभरि यतिबेला खुसीको माहोल छ।

पुस १४, २०८२

दीपेन्द्र शाक्य

The miracle of collective farming: 1.12 crore rupees brought into the village from cardamom

What you should know

संखुवासभा — किसानहरू बोराका बोरा अलैंची बोकेर एकठाउँ भेला भए । व्यापारीहरू मनग्गे पैसा बोकेर गाउँ आए । त्यहीँ टेबलभरि पैसैपैसा छ । त्यही 'कालो सुन' का रूपमा चिनिने अलैँची बेचेर संखुवासभाका किसानले पैसा कमाएको खबर यतिबेला सामाजिक सञ्चालमा चर्चित बनेको छ । 

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवागोगुने गाउँका कृषकहरूले सामूहिक अलैँची खेतीबाट एकै सिजनमा १ करोड १२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेका हुन् । 

एकै सिजनमा गाउँलेहरूले अलैँची बिक्रीबाट १ करोड १२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेपछि गाउँभरि यतिबेला खुसीको माहोल छ। परम्परागत रूपमा साना-साना टुक्रामा खेती गर्दै आएका कृषकहरूले सामूहिक खेतीको अवधारणा अपनाउँदा यस्तो ठूलो आम्दानी भएको हो। 

गाउँका ४७ जना कृषक एकजुट भएर सुरु गरिएको सामूहिक अलैँची खेती यस क्षेत्रकै लागि उदाहरणीय बनेको छ। स्थानीय कृषक भूपाल कुलुङका अनुसार यस वर्ष सिसुवा गोगुने क्षेत्रमा सामूहिक रूपमा १ सय १५ मन अलैची उत्पादन भएको थियो। उत्पादित अलैँची प्रतिमन ९८ हजार रुपैयाँका दरले गाउँमै बिक्री गरिएको हो। '

यसपालि अलैँचीको मूल्य पनि राम्रो पायौं, उत्पादन पनि सन्तोषजनक भयो,' भूपाल कुलुङले भने, 'व्यापारीहरू आफैं गाउँमै आएर अलैँची खरिद गरे, जसले गर्दा हामीलाई बजारसम्म ढुवानी गर्ने झन्झट नै परेन।'

अलैँची बिक्रीबाट आएको कुल रकममध्ये वर्षभरि खेतीमा लागेको सम्पूर्ण खर्च कटाएर बाँकी रकम सबै सहभागी कृषकहरूलाई समान रूपमा वितरण गरिएको छ। गोडमेल, मलजल, बगानको रेखदेख, अलैँची टिप्ने, सुकाउने तथा भट्टीसम्म पुर्‍याउने जस्ता सबै खर्च कटाएर बाँकी रकम ४७ जनाले बराबरी रूपमा बाँडेको कुलुङले जानकारी दिए। 'सबै खर्च कटाएपछि प्रत्येक कृषकले जनही २ लाख ४० हजार रुपैयाँ पायौं,' उनले भने, 'जसको जमिन थोरै छ, जसको धेरै छ भन्ने छुट्याउने अवस्था आएन, सबैले समान नाफा पायौं।'

सामूहिक खेतीको सबैभन्दा ठूलो फाइदा भनेकै आपसी विश्वास, सहकार्य र एकताको भावना बलियो भएको भनाइ छ । 'हामी सबै एक परिवारजस्तै भयौं, नाफा पनि बराबरी, दुःख पनि बराबरी बाँड्यौ,' कुलुङले भने ।

गाउँमै व्यापारी आएर अलैँची खरिद गरेपछि कृषकहरूलाई बजार खोज्नुपर्ने समस्या हटेको अर्का किसान सूर्यकुम्भ राइले बताए। 'पहिले-पहिले अलैँची बोकेर सदरमुकाम वा अन्य बजारसम्म लैजानुपर्थ्यो, समय पनि लाग्थ्यो, खर्च पनि धेरै हुन्थ्यो,' उनले भने, 'यसपालि गाउँमै व्यापारी आए, त्यसले हाम्रो समय, श्रम र खर्च सबैको बचत भयो।'

नगदे बाली भएकाले अलैँची खेतीले गाउँको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याएको उनको भनाइ छ। 'यसले हाम्रो घरखर्च, छोराछोरीको पढाइ र दैनिक जीवन सहज बनाएको छ,' राईले भने।

The miracle of collective farming: 1.12 crore rupees brought into the village from cardamom

अर्की कृषक सुमित्रा राईका अनुसार स्थानीय स्तरमै रोजगारी सिर्जना हुनु र नगद आम्दानी बढ्नुले गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास बढेको छ। 'गाउँमै काम पाइने र राम्रो आम्दानी हुने हो भने किन विदेश जानुपर्‍यो?,' उनले भनिन्, 'युवाहरूलाई गाउँमै रोक्न यसले ठूलो भूमिका खेल्छ।'

कृषकहरूले आगामी दिनमा अलैँची खेतीको क्षेत्रफल विस्तार गर्ने योजना बनाएका छन्। साथै, रोग व्यवस्थापन, गुणस्तरीय उत्पादन र दीर्घकालीन बजार सुनिश्चितताका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उनीहरूको माग छ।

'अलैचीमा रोग लाग्ने समस्या पनि बेलाबेला देखिन्छ,' सुमित्राले भनिन्, 'प्राविधिक सहयोग, तालिम र स्थायी बजारको व्यवस्था भयो भने अझ राम्रो उत्पादन गर्न सक्छौं।'

स्थानीय तहबाट पनि सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको कृषकहरूको भनाइ छ। अनुदान, प्रविधि र बजार व्यवस्थापनमा सहयोग भए सिसुवा गोगुने मात्र नभई आसपासका गाउँहरूमा पनि उत्पादन बढाउन सकिने उनले बताइन् ।

सिसुवा गोगुनेको सामूहिक अलैँची खेती ग्रामीण अर्थतन्त्र सुधारको सफल उदाहरणका रूपमा देखिएको छ। एकता, सहकार्य र परिश्रम भए गाउँमै समृद्धि सम्भव रहेको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए। 'सानो प्रयासबाट सुरु गरिएको सामूहिक खेती आज करोडौंको आम्दानी गर्ने स्रोत बनेको छ,' उनले भने, 'यसले कृषिमा आधारित जीवनशैलीलाई सम्मान र आत्मनिर्भर बनाउने बाटो देखाएको छ।'

अलैंची सुपर जोनभित्र संखुवासभामा १७ सय ३४ हेक्टर जमिनमा अलैंची खेती हुन्छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यकम संखुवासभाका प्रमुख नवराज गुरुङका अनुसार १ हजार २५ हेक्टर जमिनमा अलैंची उत्पादन हुन्छ । उत्पादन ६ सय ४ मेट्रिक टन अर्थात् १५ हजार १ सय १८ मन उत्पादन हुन्छ ।

दीपेन्द्र शाक्य

Link copied successfully