प्याकेज–२ र प्याकेज–३ को तुलनामा प्याकेज–१ को काम साढे २ वर्षपछि सुरु भएकाले प्रगति सुस्त देखिएको आयोजनाको दाबी छ।
What you should know
काठमाडौँ — तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत मात्रै छ । तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र आर्थिक प्रगति ६६ प्रतिशत रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।
कम्पनीले प्याकेज–१ अन्तर्गत बाँधस्थल, प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज–३ मा प्रसारणलाइन निर्माण गर्ने गरी ठेक्का लगाइएको छ ।
अहिले बाँधस्थल र प्रसारण लाइनको काम ‘क्रिटिकल’ रहेको कम्पनीका आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । ‘प्याकेज–१ अन्तर्गत बाँधस्थलको कामको प्रगति ४७ प्रतिशत रहेको उनको भनाइ छ । गत मंसिर २७ मा ऊर्जामन्त्री कुलमान घिसिङले आयोजना अवलोकनका क्रममा समेत बाँधस्थल र प्रसारण लाइनलाई प्राथमिकतामा आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।
प्याकेज–२ र प्याकेज–३ को तुलनामा प्याकेज–१ को काम साढे २ वर्षपछि सुरु भएकाले प्रगति सुस्त देखिएको आयोजना प्रमुख भण्डारीले बताए । ‘हामीले तीन वटै प्याकेजको ठेक्का आह्वान गरेका थियौं । तर प्याकेज–१ को ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले सम्झौताअनुरूप ग्यारेन्टी पेस नगरेपछि ठेक्का तोडिएको थियो,’ उनले भने, ‘दोस्रो पटक ठेक्का आह्वान गर्दा कोही आएनन् । तेस्रो पटक टेन्डर गर्दा बल्ल ठेक्का लाग्यो । अन्य प्याकेजको तुलनामा साढे २ वर्षपछि काम सुरु भयो । त्यसैले पहिलो प्याकेजकै प्रगति कम देखिएको छ ।’
प्याकेज–२ र प्याकेज–३ को काम २०१९ जनवरीबाट सुरु भएको थियो भने प्याकेज–१ को काम २०२१ अगस्टबाट सुरु भएको थियो । ऋषिङ–१ र व्यास नगरपालिका–५ को सीमा भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने भण्डारीको भनाइ छ । सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माणको जिम्मेवारी लिएको प्याकेज–१ को भौतिक प्रगति ४७ प्रतिशत रहेको उनले जनाए ।
प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यसको प्रगति ७२ प्रतिशत रहेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सिभिल कार्य ९८ प्रतिशत सकिएको छ भने इलेक्ट्रोमेकानिकल कामहरू जारी रहेको भण्डारीले बताए । विद्युत्गृहमा रहने जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मरलगायतका उपकरण आइसकेकाले जडान कार्य भइरहेको आयोजनाको भनाइ छ ।
प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीएको डबल सर्किट प्रसारण लाइन निर्माणको जिम्मा केईसी इन्टरनेसनल लिमिटेड भारतले लिएको छ । ३३ किमि प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये १४ वटा चितवनमा पर्छन् । ‘त्यहाँ टावर बनाउन सकेका छैनौं, रुख कटान, वन क्षेत्र प्रयोगबापतको पैसा, वृक्षरोपण र त्यसको ५ वर्षसम्म संरक्षण गरी ५ अर्ब ६५ करोड रुपैयाँ लाग्ने अनुमान थियो, ’ उनले भने, ‘त्यसको स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गर्नुपर्थ्यो । अर्थले वन तथा वातावरण मन्त्रालयलाई चिठी लेखिसकेको छ । अब सम्झौतापछि काम अघि बढ्छ ।’ समग्र आयोजनाको निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्न नेपाल प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीएका दुई वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरूसम्म विद्युत् पुर्याउनका लागि ३३ केभीए लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभीए लाइन निर्माण गरिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ ।
