पाँचौँ संशोधनमार्फत उक्त व्यवस्था हटाएर त्यस्ता कम्पनीले पनि अनुमति लिन पाउने व्यवस्था गरेको हो ।
काठमाडौँ — अब सबै प्रकारको विदेशी लगानी मुलुक भित्र्याउन राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ ।
राष्ट्र बैंकले राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन)मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने, नेपालमा कालोसूचीमा रहेका कम्पनीहरूले पनि विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब नेपालमा कालोसूचीमा रहेका कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने छन् । यसअघि कालोसूचीमा रहेका कम्पनीले विदेशबाट विदेशी लगानी ल्याउन नसक्ने व्यवस्था थियो ।
पाँचौँ संशोधनमार्फत उक्त व्यवस्था हटाएर त्यस्ता कम्पनीले पनि अनुमति लिन पाउने व्यवस्था गरेको हो । तर उक्त कम्पनीले भित्र्याएको विदेशी लगानी, लाभांशलगायत रकम फिर्ता लैजानका लागि भने कालोसूचीबाट बाहिर निस्किसकेको हुनुपर्नेछ ।
यस्तै, अब विदेशी लगानी प्राप्त गरी नयाँ स्थापना हुने उद्योग (ग्रिनफिल्ड इन्भेस्टमेन्ट) र सञ्चालनमा रहेका नेपाली उद्योगमा कायम रहेका सेयरधनीले लगानी थप्न (ब्राउनफिल्ड इन्भेस्टमेन्ट) का लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ ।
यसअघि विदेशी लगानी प्राप्त गरी नयाँ स्थापना हुने उद्योगका लागि राष्ट्र बैंकको अनुमति नचाहिले व्यवस्था भए पनि सञ्चालनमा रहेका उद्योगले लगानी थप्दा राष्ट्र बैंकको अनुमति चाहिने व्यवस्था थियो ।
