राष्ट्र बैंक ऋणपत्रमार्फत एक वर्षका लागि २५ अर्ब झिकिँदै

नेपाल राष्ट्र बैंकले 'ऋणपत्र २०८३ क' नामक एक वर्षे ऋणपत्रको बोलकबोल आज दिउँसो २ बजे गर्ने सूचना प्रकाशित गरेको छ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

25 billion being withdrawn for one year through NRB bonds

काठमाडौँ — बजारमा तरलता नघटेपछि राष्ट्र बैंकले एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत आज (सोमबार) राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो ।

यसका लागि विशेषता एवं सर्तहरू कायम गरी १ वर्ष अवधिको लागि राष्ट्र बैंक ऋणपत्र बोलकबोलका लागि  सूचना जारी गरेको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’’ नाम दिइएको उक्त ऋणपत्र मा पुस १४ (आज) २०८२ मध्याह्न २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि १४ पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ ।

यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।  ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन्

कान्तिपुर

Link copied successfully