१ सय २८ मेगावाटको अनुमति पाएको स्पार्क हाइड्रोपावरले तमोरकै पानीबाट थप १७ मेगावाट विद्युत उत्पादन हुने जनाएको छ।
What you should know
ताप्लेजुङ — तमोर–मेवा जलविद्युत आयोजनाको उत्पादन क्षमता १ सय ४५ मेगावाट हुने भएको छ ।
१ सय २८ मेगावाटको अनुमति पाएको स्पार्क हाइड्रोपावरले तमोरकै पानीबाट थप १७ मेगावाट विद्युत उत्पादन हुने जनाएको हो ।
स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष सञ्चालक तथा पव्लिक रिलेशन प्रमुख भानेन्द्र लिम्बूका अनुसार सुरुको डिजाइजनमा थाङने खोल्सानजिकबाट ५ किलोमिटर लामो सुरुङमार्गमार्फत पानी प्रवाह भइ गुँहेलीनजिक रहेको पावरहाउसमा पानी झार्ने योजना थियो ।
अहिले हाङदेवा कटहरेदेखि डेढ किलोमिटर हेडरेस पाइपमार्फत पानी ल्याउने र थाङ्नेखोला नजिकबाट भूमिगत सुरुङमार्गमार्फत गुँहेलीको पावर हाउसमा खसाइने योजना रहेको छ । हाङदेवा कटहरेदेखि डेढ किलोमिटर हेडरेस पाइपमार्फत पानी ल्याउने उनले बताए । ‘विद्युतमा प्रारम्भिक चरणको अध्ययनमा पछि थपघट हुन्छ । यहाँ पनि त्यस्तै भएको हो,’ लिम्बूले भने ।
मुख्य संरचना भूमिगत भए पनि पावर हाउस भने बाहिरै हुने लिम्बूले बताए । उनका अनुसार अहिलेसम्म २२ प्रतिशत काम भएको छ । पावर हाउस, इन्टेकलगायतका संरचनाका आधारभूत पूर्वाधार, मुख्य कार्यालय, कर्मचारी, कामदार आवास भवनसहितका संरचना पूरा भएको र आयोजना स्थलमा पुग्ने मुख्य सडक समेत ग्राभेल तहको पूरा भइसकेको उनले जानकारी दिए। अबको अढाईदेखि तीन महिनासम्म मुख्य संरचनामा ब्लास्टिङको काम सुरु हुने उनले बताए ।
आइतबार फुङलिङमा आयोजित पत्रकार भेटघाटमा लिम्बूले निरन्तर गतिमा काम बढेकाले २०८५ असोज २५ सम्ममा विद्युत उत्पादन हुने दाबी गरे । प्रारम्भिक अध्ययनमा तमोर र मेवाको पानी मिसाएर १ सय १ मेगावाट उत्पादन गर्ने उल्लेख थियो ।
आयोजनाका लागि आवश्यक ब्लास्टिङका लागि प्रक्रियाअघि बढेको र अढाईदेखि तीन महिनाभित्र सेनाको ब्यारेक बसेपछि सुरुङ मार्ग निर्माण प्रारम्भ हुने लिम्बूले जानकारी दिए। आयोजनाको कुल लागत २६ अर्ब रुपैयाँ रहेको छ । बैंक तथा बित्तीय संस्थाको ऋण लगानी ७५ प्रतिशत अर्थात १७ अर्ब ६८ करोड र बाँकी २५ प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड स्वपुँजी (ईक्विटी) हुने लिम्बूले बताए ।
अहिलेसम्मका सबै काम स्वपुँजीबाट हुँदै आएको उनले बताए । अन्य जलविद्युत आयोजनाको तुलनामा यो सस्तो लागतमा तयार हुने दाबी गरिएकाे याे आयाेजनाकाे लागत प्रतिमेगावाट १८ करोडभन्दा कम हुने लिम्बू बताउँछन् । आयोजनाका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबीआई, ज्योति विकास, आईसिएफसी फाइनान्स, नेपाल फाइनान्स, गुडविल फाइनान्स लिमिटेड साझेदार बैंकको रूपमा रहेका छन् ।
२०७७ असोज २५ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको स्पार्कले २०८० असोज २४ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपीए) गरेको थियो। २०८१ जेठ १० गते शिलान्यास भई कार्य प्रारम्भ भएको छ ।
आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुस्थित विद्युत सवस्टेशनमा जडान हुनेछ । विद्युत प्रसारण लाइनका लागि आईईईको कार्य सुरु भएको र भूमिगत तारबाट प्रसारण लाइनसम्म पुर्याउने प्राविधिक अध्ययन भइरहेको लिम्बूले बताए ।
