ब्याज घटेपछि मुद्दती निक्षेपमा बचतकर्ताको विकर्षण

४ महिनामा सवा दुई खर्ब निक्षेप संकलन हुँदा ६५ करोड मात्र ऋण प्रवाह, निक्षेप ३.२ र कर्जा प्रवाह १.३ प्रतिशतले वृद्धि 

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Savers' reluctance to invest in fixed deposits after interest rates drop

What you should know

काठमाडौँ — बचतको ब्याजदर धेरैले घटेपछि त्यसको प्रत्यक्ष असर मुद्दती निक्षेपमा परेको छ । ब्याजदर लगातार घट्दै जाँदा साधारण बचतको तुलनामा मुद्दतीको ब्याजदर थोरै मात्र फरक भएपछि नागरिकमा मुद्दती निक्षेपमा पैसा राख्ने उत्साह आकर्षण घटेको छ ।

गत आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेपमा मुद्दती खातामा रहेको हिस्सा घट्नु र साधारण बचतको बढ्नुले यो पुष्टि हुन्छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७४ खर्ब ८६ अर्ब रुपैयाँ थियो । त्यसमध्ये चल्ती खाताको हिस्सा ६, बचत खाताको ३९.२ र मुद्दती निक्षेपको ४५.६ प्रतिशत छ । जब कि गत वर्षको सोही अवधिको कुल निक्षेपमा चल्ती खाताको हिस्सा ५.३, बचत खाताको ३२.८ र मुद्दती निक्षेपको ५४.५ प्रतिशत छ । यसले एक वर्षको अवधिमा चल्ती र बचत खातामा रहेको निक्षेपको हिस्सा बढेको छ भने मुद्दती निक्षेपमा रहेको हिस्सा घटेको देखिन्छ । 

एक वर्षमा करिब १० प्रतिशत विन्दुले मुद्दती निक्षेप घटेको छ । यसको अर्थ मुद्दती निक्षेपमा रहेको बचतको परिपक्व हुने अवधि पूरा भएपछि बचतकर्ताले फेरि मुद्दती निक्षेपमा राख्न नचाहेकाले कुल निक्षेपमा मुद्दतीको हिस्सा घटेको र बचतको बढेको बैंकर बताउँछन् । ‘बचत र मुद्दती निक्षेपको ब्याजदर खासै फरक नभएपछि नागरिकले साधारण निक्षेपमै पैसा राखेको देखिन्छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने, ‘ब्याजदर बढ्छ कि भनेर बचतकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’

कात्तिक २०८२ सम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत छ । २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाले थप २ खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ निक्षेप थपिएको छ । गत वर्षको पहिलो चार महिनामा १ खर्ब ४९ अर्ब ८४ करोडले निक्षेप थपिएको थियो । ‘वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ । 

२०८२ कात्तिक मसान्तमा बैंक साधारण बचत र मुद्दतीमा समानजस्तै ब्याजदर पाउने भएपछि नागरिकहरूले परिपक्व भएका मुद्दती निक्षेप पुनः मुद्दतीमा राख्न नचाहेकाले बचतकर्ताले मुद्दती निक्षेपमा पैसा राख्न नचाहदाँ कुल बचतमा मुद्दती निक्षेपको हिस्सा घटेको छ भने साधारण बचतको बढेको छ । 

राष्ट्र बैंकका अनुसार गत कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.४४, विकास बैंकहरूको ७.७४ र वित्त कम्पनीहरूको ८.३९ प्रतिशत छ । २०८१ कात्तिकको तुलनामा यी सबै ब्याजदर घटेका हुन् । २०८२ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४, विकास बैंकहरूको ४.३२ र वित्त कम्पनीहरूको ५.४७ प्रतिशत छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.०१, विकास बैंकहरूको ५.८३ र वित्त कम्पनीहरूको ७.१८ प्रतिशत थियो ।

२०८२ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.३८, विकास बैंकहरूको ८.६६ र वित्त कम्पनीहरूको १०.०५ प्रतिशत छ । २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.०७, विकास बैंकहरूको १०.४३ र वित्त कम्पनीहरूको ११.७० प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

ब्याजदर सम्भवतः हालसम्मकै न्यून अवस्थामा रहेकाले सरकार र निजी क्षेत्रलाई लगानी बढाउने राम्रो अवसर प्राप्त भएको जानकार बताउँछन् । ब्याजदर धेरै कम भएको अवस्थामा निक्षेपकर्ता निरुत्साहित हुने, पुँजी पलायन र वास्तविक ब्याजदर ऋणात्मक हुने अवस्था आउन सक्छ । यसमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । यस्तो बेला सरकारले पनि पूर्वाधारलगायत विकास निर्माण क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरूको सुझाव छ  ।

सार्वजनिक संस्थानलाई दिनुभन्दा उनीहरू आफैंले ऋणपत्र जारी गरेर बजारबाट पैसा उठाउन सक्छन् । जसकारण सरकारलाई ऋणको भार पनि थपिादैन, सरकारीजस्तो प्रक्रियागत झन्झट पनि नहुने उनीहरूले जनाए । वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएपछि व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत पैसा तानिरहेको हो । राष्ट्र बैंकले पछिल्लो पटक २३ चैत २०७९ मा रिपोमार्फत बजारमा पैसा पठाएको थियो । त्यसयता हरेक साता आइतबार र बुधबार आवश्यकताअनुसार रकम बजारबाट झिक्दै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा गएको चार महिनामा कर्जा प्रवाह १.२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको चार महिनामा थप १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । वार्षिक विन्दुगत आधारमा कात्तिक २०८२ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ६.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । 

गएको चार महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र वित्त कम्पनीको कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ । सोही अवधिमा विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । ‘२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘२०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ र ६६ प्रतिशत थियो ।’

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जाको मागमा सुधार हुन नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष कोइरालाको भनाइ छ । ‘अवस्था निकै निराशाजनक छ, सेयर धितोमा केही कर्जा बढे पनि समग्र कर्जा बढेको छैन,’ उनले भने, ‘निक्षेप मात्र थुप्रिएको छ । कर्जा माग छैन । बैंकिङ गतिविधि निकै सुस्त छ ।’ 

गएको चार महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ३.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९, उपभोग्य क्षेत्रतर्फको कर्जा १.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ । तर, सो अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.६, वित्त विमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । 

‘गत साउनदेखि कात्तिसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ३.९, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४, क्यास क्रेडिट कर्जा १.८, हायर पर्चेज कर्जा १.३, माग तथा अन्य चालु पुँजी कर्जा १.१ र आवधिक कर्जा ०.९ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अधिविकर्ष कर्जा ४.९ र ट्रस्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशतले घटेको छ ।’

कान्तिपुर

Link copied successfully