स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न क्षेत्रीय होटल संघ सौराहाले सुरु गरेको कार्यक्रम अहिले पर्यटन महोत्सवको रूपमा विस्तार गरिएको छ। महोत्सवमा हात्तीका आकर्षक गतिविधि हेर्न पनि पर्यटक सौराहा आउने गरेका छन् ।
What you should know
सौराहा, चितवन — अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकको उपस्थितिले सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
पछिल्ला दिनमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ। विगतका वर्षमा यो समयमा पर्यटकको संख्या निकै कम हुने गर्दथ्यो, जसले होटल व्यवसाय जसोतसो चलाउनुपर्ने अवस्था सिर्जना गर्थ्यो।
केही वर्षअघिसम्म साना तथा ठूला होटलमा पर्यटकको उपस्थिति न्यून रहन्थ्यो। तर यो वर्ष पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पर्यटन व्यवसायी तथा होटल मोनालिसाका सञ्चालक केशव खनाल बताउँछन्।
‘गत वर्ष यही समयमा पर्यटक अकुपेन्सी ५० प्रतिशतसम्म मात्रै थियो,’ उनले भने, ‘तर केही दिनयता मेरो होटलको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा पुगेको छ।’
यतिबेला विदेशी पर्यटकका लागि अफ सिजन मानिन्छ। यो समयमा विदेशी पर्यटकहरू आफ्नै देशमा क्रिसमस र नयाँ वर्ष मनाउने भएकाले सौराहामा उनीहरूको उपस्थिति कम रहने गरेको छ। उनीहरूलाई आकर्षित गर्न २०५५ सालदेखि सौराहामा हात्ती दौड प्रतियोगिता सुरु गरिएको थियो।
विभिन्न उतारचढावपछि यसलाई परिमार्जन गर्दै अहिले ‘हात्ती तथा पर्यटन महोत्सव’को नाममा आयोजना गरिँदै आएको छ। यहीँ महोत्सवका कारण सौराहामा यो बेला आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको व्यवसायीहरूको भनाइ छ। ‘होटलमा ४४ वटा कोठा छन्, केही दिनयता सबैजसो कोठा बुक छन्, पोहोरको तुलनामा अवस्था धेरै राम्रो छ,’ खनालले भने।
अंग्रेजी नयाँ वर्षको समयमा कुनै बेला सौराहामा पर्यटक आउन छाडेको स्मरण गर्दै क्षेत्रीय होटल संघ सौराहा (हान) का अध्यक्ष ओम पाण्डेले हात्तीलाई दुःख नदिने किसिमले महोत्सव आयोजना हुन थालेपछि पर्यटकको उपस्थिति बढेको बताए। ‘सौराहाको पर्यटन हात्ती सँगै जोडिएको छ,’ उनले भने, ‘हामीले हात्तीलाई पीडा नदिने कार्यक्रम गर्दा पर्यटक आकर्षित भएका छन्। अहिले सौराहामा ८० देखि ९० प्रतिशत होटलको अकुपेन्सी छ।’
हात्ती तथा पर्यटन महोत्सवकै कारण यो समयमा सौराहामा पर्यटक बढेको उनको दाबी छ। ‘केही दिनयता होटलहरू भरिभराउ छन्,’ पाण्डेले भने, ‘अंग्रेजी नयाँ वर्षपछि पनि पर्यटकको संख्या राम्रो रहनेमा हामी आशावादी छौँ।’
जेन-जी आन्दोलनपछि सौराहालगायत पर्यटकीय क्षेत्रमा भारतलगायत मुलुकबाट आउने पर्यटकको संख्या घटेको थियो। अहिले हात्ती महोत्सवसँगै पर्यटक बढेको अनुभूति पुराना पर्यटन व्यवसायी बासु ढुंगानाले पनि गरेका छन्। ‘चिनियाँ र अन्य विदेशी पर्यटक उल्लेख्य रूपमा बढ्न नसके पनि भारतीय र स्वदेशी पर्यटकको संख्या भने धेरै बढेको छ,’ उनले भने।
पर्यटकमा सौराहाको राम्रो छाप छोड्न सके आगामी दिनमा पर्यटक अझै बढ्ने उनको विश्वास छ।
‘यो महोत्सवले वर्षभर सौराहामा पर्यटक भित्र्याउन ठूलो प्रचार–प्रसारको काम गरेको छ,’ ढुंगानाले भने, ‘आगामी फेब्रुअरीदेखि झनै पर्यटक बढ्नेमा विश्वस्त छौँ।’
व्यवसायीहरूका अनुसार यस महोत्सवमार्फत नेपाल सुरक्षित र आकर्षक गन्तव्य भएको सन्देशसमेत गएको छ। होटल सञ्चालन खर्च धान्न कम्तीमा ३० देखि ३५ प्रतिशत अकुपेन्सी आवश्यक पर्नेमा अहिले त्यो अवस्था पुगेको छ। महोत्सवकै कारण ८० देखि ९० प्रतिशतसम्म पर्यटक बढेकाले व्यवसायी उत्साहित छन्।
‘अहिले पर्यटकको आगमन राम्रो देखिएकाले यो बेला सौराहाको पर्यटन व्यवसायमा करिब ५ करोड रुपैयाँ कारोबार हुने अनुमान छ,’ क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले भने। ‘साना तथा ठूला होटल र रेस्टुरेन्टहरू चलायमान बनेका छन्, गुमेको रोजगारी फर्किएको छ, बैंकको ब्याज तिर्न सकिन्छ भन्ने आशा पलाएको छ।’
स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न क्षेत्रीय होटल संघ सौराहाले सुरु गरेको कार्यक्रम अहिले पर्यटन महोत्सवको रूपमा विस्तार गरिएको छ। महोत्सव हेर्न प्रवेश निःशुल्क गरिएको छ। हात्तीका आकर्षक गतिविधि हेर्न पर्यटक सौराहा आउने गरेका छन्, जसले उनीहरूको बसाइँ लम्बिँदै पर्यटन क्षेत्र लाभान्वित बनेको छ।
महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उपजसहित १५ वटा स्टल राखिएका छन्। सौराहा आएका पर्यटक सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, जंगल वाक तथा हात्ती सफारीमा रमाउने गरेका छन्। पर्यटकलाई आकर्षित गर्न डुंगा सफारीका नयाँ रुटसमेत सञ्चालनमा ल्याइएको छ। हाल सौराहामा साना–ठूला गरी करिब १ सय ३० वटा होटल सञ्चालनमा छन्।
