पर्यटनलाई उद्योग सरहको मान्यता दिन होटल संघको माग

होटल संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन, जेन–जी आन्दोलनबाट प्रभावित होटलको पुनरुत्थान तथा नवीकरणका लागि वातावरणीय अध्ययन खारेजीलगायत पाँच बुँदे माग अघि सारेको हो ।

पुस १२, २०८२

दीपक परियार

Hotel Association demands recognition of tourism as an industry

What you should know

पोखरा — पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिई तत्काल कार्यान्वयन गर्न होटल संघ पोखरा नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन, जेन–जी आन्दोलनबाट प्रभावित होटलको पुनरुत्थान तथा होटल नवीकरणका लागि वातावरणीय अध्ययन खारेजीलगायत पाँच बुँदे माग अघि सारेको हो ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमै पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिने उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको स्मरण गराए । उद्योग तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री सिन्हालाई पोखरामा स्वागत गर्दै संघले ती विषय तत्काल कार्यान्वयनमा लैजान आग्रह गरेको हो ।

संघले हाल आन्तरिक उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न सहरमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पहल गर्न माग गरेको छ । साथै सीमावर्ती सहर तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक सहरबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा पनि जोड दिएको छ ।

०७२ अघि निर्माण भएका साना तथा मझौला होटलमा लागू गरिएको वातावरणीय अध्ययन अव्यावहारिक रहेको भन्दै त्यसलाई खारेज गर्न संघले माग गरेको छ । जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानलाई पुनरुत्थानका लागि राहत प्याकेज उपलब्ध गराउन र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति तोकिएको समयमै सम्पन्न गर्न सरकारलाई दबाब दिनुपर्ने आवश्यकता ध्यानाकर्षणपत्रमा औंल्याइएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल भइरहेको र छिट्टै कार्यान्वयन हुने आश्वासन दिए । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पनि सरकार सक्रिय रहेको दाबी गरे । गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले विमानस्थल सञ्चालनको विषयमा संघीय सरकारको ध्यान पटक–पटक आकर्षित गराइएको बताए ।

मन्त्री सिन्हाको स्वागतमा होटल संघले आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा संघका सल्लाहकार विश्वशंकर पालिखेले नेपालमा अपेक्षित पर्यटक नआउनुको कारण पहिचान गर्नुपर्ने बताए । सातै प्रदेशमा पर्यटन मार्ट आयोजना गरी प्रवर्द्धनमा जोड दिनुपर्ने उनको सुझाव थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताए । जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता र दोषी पक्राउ नगरेसम्म सुरक्षा वातावरण नबन्ने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बंगलादेशी र श्रीलंकन मुद्रा सटही सहज बनाए पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले लेकसाइड क्षेत्रमा पार्किङ व्यवस्थापन र फेवातालसम्बन्धी अदालतको फैसला सच्याउन माग गरे ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully