यातायात विभागबाट ‘डाटा’ उपलब्ध नहुँदा ‘लाइसेन्स’ छपाइ सुस्त

लाइसेन्स छपाइका लागि सञ्चालनमा आएको सुरक्षित मुद्रण केन्द्रमा यातायात व्यवस्था विभागबाट आवश्यक ‘डाटा’ समयमै प्राप्त हुन नसक्दा छपाइ प्रक्रियामा ढिलासुस्ती भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जनाए । 

पुस ११, २०८२

ज्योती श्रेष्ठ

Printing of 'licenses' slow due to lack of 'data' from the Department of Transport

What you should know

काभ्रे — गत कात्तिकमा जिल्लास्थित आईटी पार्कमा उद्घाटन गरिएको सुरक्षित मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइमा ढिलासुस्ती भइरहेको छ । लाइसेन्स छपाइका लागि सञ्चालनमा आएको सुरक्षित मुद्रण केन्द्रमा यातायात व्यवस्था विभागबाट आवश्यक ‘डाटा’ समयमै प्राप्त हुन नसक्दा छपाइ प्रक्रियामा ढिलासुस्ती भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जनाए । 

विभागको मुख्य ‘सफ्टवेयर’ र ‘मिडलवेयर’ प्रणाली पूर्णरूपमा सञ्चालनमा नआएकाले लाइसेन्स छपाइका लागि आवश्यक विवरण ‘म्यानुअली’ संकलन गर्नुपरेको छ । ‘बल्क डाटा’को सुविधा नहुँदा एकैपटक हजारौं लाइसेन्स छपाइ गर्न नसकिएको र दिनको तीन–चार सय ‘डाटा’ मात्र तान्न सकिने अवस्था रहेको ढुंगानाले बताए ।

गत २१ कात्तिकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइको अपौचारिक उद्घाटन गरेका थिए । त्यति बेला केन्द्रमा दिनको ५ सय लाइसेन्स छाप्ने भनिए पनि उक्त संख्यामा काम भएको छैन । ‘सुरुवातमा दैनिक ५ सय लाइसेन्स छपाइ गर्ने योजना रहे पनि हाल विभागबाट सातामा दुई पटक मात्र डाटा उपलब्ध गराइरहेको छ,’ ढुंगानाले भने, ‘एक पटकमा कहिले पाँच–सात सय त कहिले १ हजारसम्म डाटा आउने गरेको र प्राप्त डाटाका आधारमै छपाइ तथा वितरण गर्नुपर्ने अवस्था छ ।’

उद्घाटन भएयता केन्द्रमा हालसम्म करिब ७ हजार लाइसेन्सका लागि ‘डाटा’ प्राप्त भएकामा करिब ६ हजार लाइसेन्स छापेर वितरण गरिएको उनले जनाए । बाँकी ‘डाटा’ पनि दुई दिनभित्र छापेर वितरण गरिने तयारी छ । प्रिन्टिङ कम्पनीले आफूहरू सेवा प्रदायक मात्र भएको र ‘डाटा’ उपलब्ध गराउने, प्रणाली सञ्चालन तथा सेवाग्राहीको विवरणको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागकै रहेको जनाएको छ । विभागबाट सफ्टवेयर प्रणाली पूर्णरूपमा सञ्चालनमा आएपछि छपाइ प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको ढुंगानाको भनाइ छ । 

पहिलो चरणमा अत्यावश्यकसहित १२ लाख ‘लाइसेन्स’ छपाइ गर्ने केन्द्र र विभागबीच सहमति भएको थियो । हाल देखिएका प्राविधिक समस्या समाधान भएको अवस्थामा ६ महिनाभित्र छपाइ प्रणाली पूर्णरूपमा कार्यान्वयन गर्ने लक्ष्य लिइएको ढुंगानाले बताए ।

विभागले हालसम्म करिब ८ हजार ‘डाटा’ केन्द्रलाई पठाएको र केन्द्रबाट ६५ सय लाइसेन्स छपाइ भएर प्राप्त भएको यातायात विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले जनाए । जेन–जी आन्दोलनअघि ‘लाइसेन्स’का लागि औसत दिनको १८ सयदेखि ५ सयसम्म आवेदन आउने गरेको थियो । तर अहिले २ सयदेखि २५० सम्म आकस्मिक आवेदन फार्म आउने गरेको छ । अहिले केन्द्रलाई सातामा ८ सयदेखि १२ सयसम्म ‘डाटा’ पठाउने गरेको उनको भनाइ छ । ‘अहिले हामीले आकस्मिक प्रयोजनको लाइसेन्स छपाइ गरिरहेका छौं । १२ लाख लाइसेन्स छपाइका लागि ब्लक डाटा पठाउनुपर्नेछ । त्यसका लागि विभागले ‘मिडलवेयर पर्सनलाइजेसन सफ्टवेयर’ प्रणाली बनाइरहेको छ ।’

यो प्रणालीमा केन्द्रले ‘ब्लकमा डाटा’ हालेपछि १२ लाख लाइसेन्स छपाइको काम गर्ने सम्झौता गरिएको थियो । सम्झौताअनुसार अबको ४ महिनाभित्र १२ लाख लाइसेन्स छपाइ लक्ष्यअनुसार नै काम भइरहेको खतिवडाले बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully