सडक निर्माणका क्रममा पानी नहाल्दा कहिले धूलोले यात्रु हैरान छन् त कहिले सडकमा पानी धेरै हुँदा दुईपांग्रे सवारी चिप्लिएर हैरान छन् । सडकमा बनाइएका डाइभर्सनले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।
What you should know
झापा — पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’मा स्तरोन्नति गर्न चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक खण्डमा यो कार्य जारी छ । तर, न निर्माण कार्य अपेक्षाअनुसार अघि बढेको छ, न निर्माणाधीन सडक खण्डको अवस्था नै राम्रो छ ।
सडक निर्माणका क्रममा पानी नहाल्दा कहिले धूलोले यात्रु हैरान छन् त कहिले सडकमा पानी धेरै हुँदा दुईपांग्रे सवारी चिप्लिएर हैरान छन् । सडकमा बनाइएका डाइभर्सनले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।
गत ५ पुसमा बिर्तामोडस्थित गिरिबन्धु चिया बगाननजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भयो । भद्रपुर–९ बस्ने २५ वर्षीय भूपाल अधिकारी र भद्रपुर–७ बस्ने २५ वर्षीय शीर्षक सुवेदीको डाइभर्सनमा भएको दुर्घटनामा ज्यान गएको हो ।
सोही दिन मेचीनगरस्थित एनएमसी डेरीनजिकैको चिप्लेटी सडकमा स्कुटर चिप्लिँदा एक जना घाइते भए । यसरी सडक निर्माणका क्रममा लापरबाही हुँदा एकपछि अर्को गर्दै दुर्घटना भइरहेका छन् । सडक निर्माण सुस्त गतिमा छ । सडक निर्माणको ठेक्का लागेको दुई वर्ष बित्न लाग्यो । अहिलेसम्म ३० प्रतिशत हाराहारी मात्रै प्रगति भएको छ । तीन वर्षमा सक्ने गरी लगाइएको ठेक्काको म्याद १९ माघ ०८३ सम्म छ । ठेक्का अवधि सकिन बाँकी १३ महिनामा करिब ७० प्रतिशत काम गर्नुपर्ने छ ।
एसियाली विकास बैंक (एडीबी) को ८४ दशमलव ९ अर्थात् ३ सय मिलियन डलर ऋण सहायता र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानीमा विस्तार भइरहेको काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । जसलाई पनि विभिन्न खण्ड बनाएर ठेक्का लगाइएको छ । काँकडभिट्टादेखि लौकहीसम्मको १ सय २० किलोमिटर सडक ठेक्कामा लगाउनुपर्ने भए पनि सुनसरीको लबीपुरसम्म ९५ दशमलव ७६ किलोमिटर मात्रै ठेक्का लागेको छ ।
९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कात्तिक २०८० मा सम्झौता भएको थियो, काम भने ढिला गरी सुरु भयो । सडक निर्माण गर्दा पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा ठेक्का लगाइएको थियो । पूर्वी खण्डअन्तर्गत झापाको काँकडभिट्टादेखि जिल्लाकै कमल गाउँपालिकास्थित सीतापुरीसम्मको ४५ किलोमिटर सडक छुट्याइएको थियो भने केर्खा पश्चिम सुनसरीको लबीपुरसम्मको ५०.७६ किलोमिटरलाई पश्चिम खण्ड भनिएको थियो ।
पूर्वी खण्डमा सडक निर्माण र साना कल्भर्ट निर्माण गर्न प्याकेज १ मा ठेक्का लगाइयो । जसको काम ३१ प्रतिशत सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) का इन्जिनियर आश्रय महतले जनाए । उनका अनुसार पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीमा पुलको काम पनि २२ प्रतिशत मात्रै भएको छ । ‘२०८३ को माघसम्म काम सम्पन्न गर्नुपर्ने हो । तर, आवश्यक सामग्री अभाव, सहरी क्षेत्रमा बिजुलीको पोल सार्न समस्यालगायतका कारण काम अपेक्षाअनुसार अघि बढ्न नसकेको हो,’ उनले भने, ‘यद्यपि तोकिएकै समयमा काम सम्पन्न गर्ने आयोजनाको प्रयास जारी छ ।’ आगामी असारसम्म ३० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र गर्ने आयोजनाको लक्ष्य रहे पनि हालसम्म ५ किलोमिटरमा मात्रै कालोपत्र भएको छ । त्यो पनि दुई लेनमा मात्रै ।
पूर्वी खण्डमा कनकाई, निन्दा र बिरिङ नदीमा पुल निर्माणको कोभेक–सीआरईजीसी–टुन्डी जेभीले ५ अर्ब ९७ करोडमा ठेक्का लिएका हो । सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको छ । पश्चिम खण्डका रूपमा विभाजन गरिएको झापाको सीतापुरीदेखि सुनसरीको लबिपुरसम्म ५० दशमलव ७६ किलोमिटर सडकमा पनि अपेक्षाअनुसार प्रगति छैन । झापामा १० किलोमिटर, मोरङमा ३५ किलोमिटर र सुनसरीमा ५ किलोमिटर सडक क्षेत्रमा पर्ने पश्चिम खण्डमा ३ वटा प्याकेजमा ठेक्का लगाइएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतिले जनाए ।
झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर सडकलाई एउटा प्याकेजमा ठेक्का लगाइएको थियो । जसको प्रगति ३० प्रतिशत छ । यसैगरी गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म १० दशमलव ७६ किलोमिटर सडकलाई अर्को प्याकेजमा ठेक्का लगाइएको थियो । जसको प्रगति भने १५ प्रतिशत मात्रै छ । ‘यो प्याकेजमा इटहरी जस्ता प्रमुख सहर परेका छन् । जहाँ बिजुलीको पोल सार्न धेरै नै ढिलो भइरहेको छ । जसको असर सडक निर्माणमा परेको हो,’ योजना प्रमुख प्रजापति भन्छन्, ‘दुई हजार बढी पोल सार्नुपर्नेमा हालसम्म ५ सय पोल पनि सारिएको छैन ।’
