नेपालबाट १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँका वस्तु विभिन्न मुलुक निर्यात भए, भारतमा मात्रै गयो ५२ अर्ब ८० करोड रुपैयाँको भटमास, सूर्यमुखी र पाम तेल
What you should know
काठमाडौँ — नेपालले चालु आर्थिक वर्षको पाँच महिनामा करिब ५९ अर्ब रुपैयाँको कच्चा खाद्य तेल आयात गरी भारतमा ५२ अर्ब रुपैयाँ बराबरको प्रशोधित खानेतेल निर्यात गरेको छ । नेपालको खानेतेल व्यापार ठूलो मात्रामा पुनः निर्यातमा आधारित रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँका वस्तु विभिन्न मुलुकमा निर्यात गरेको छ । त्यसमध्ये नेपालले भारतमा मात्रै ५२ अर्ब ८० करोड रुपैयाँको भटमासको तेल, सूर्यमुखीको तेल र पाम तेल निर्यात गरेको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले तेस्रो मुलुकबाट ५८ अर्ब ९७ करोड ८४ लाख रुपैयाँको कच्चा पाम, भटमास र सूर्यमुखी तेल आयात गरेको छ । १ अर्ब ९५ करोड ७० लाख रुपैयाँको प्रशोधित पाम तेल आयात गरिएको छ ।
भारत सरकारले २०२५ मे ३० मा खुद्रा मूल्य नियन्त्रण गर्न र स्वदेशी रिफाइनरहरूलाई संरक्षण गर्ने उद्देश्यले कच्चा पाम तेल, सोयाबिन तेल र सूर्यमुखी तेलमा लाग्दै आएको भन्सार शुल्क घटाएको थियो । कच्चा खाद्यतेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । कुल आयात शुल्क २७.५ प्रतिशतबाट घटेर १६.५ प्रतिशतमा झरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रशोधित खाद्यतेलमा लाग्ने शुल्क भने यथावत् ३५.७५ प्रतिशत छ ।
भारतले सेप्टेम्बर २०२४ मा स्वदेशी तेलबिउ किसानलाई संरक्षण गर्ने उद्देश्यले कच्चा र परिष्कृत दुवै प्रकारका खाद्यतेलमा २० प्रतिशतले आयात कर बढाएको थियो । उक्त निर्णयको अप्रत्याशित फाइदा नेपाललाई पुगेको थियो । त्यसकारण ३० मेमा भारतले कच्चा तेल आयातमा १० प्रतिशत कर घटाएको हो भने प्रशोधित तेलको कर दर यथावत् नै राखेको छ ।
भारतले कर संशोधन गरेसँगै नेपालबाट निर्यात हुने प्रशोधित खाद्यतेल (एडिबल आयल) निर्यातमा ठूलो असर पर्ने भन्दै विज्ञहरूले आशंकासमेत गरेका थिए । भारतमा व्यापारीहरूले कच्चा तेल आयात गर्दा १६.५ प्रतिशत र प्रशोधित तेल आयात गर्दा ३५.७५ प्रतिशत कर तिर्नुपर्छ ।
नेपालका व्यापारीहरूले तेस्रो मुलुकबाट कच्चा तेल आयात गर्दा २४.३० र सार्क मुलुकअन्तर्गत आयात गर्दा १८.६५ प्रतिशत कर तिर्नुपर्छ । कच्चा तेल तेस्रो मुलुकबाटै आयात हुने गरेको छ । नेपालमा कच्चा तेल आयात गरी प्रशोधित तेल भारत निर्यात गर्दा भने कर लाग्दैन ।
अर्थात् दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत भारत निर्यात गर्दा भन्सार छुट हुन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी कच्चा भटमासको तेल र सूर्यमुखी तेल अर्जेन्टिनाबाट आयात भएको छ । विभागका अनुसार अर्जेन्टिनाबाट ३९ अर्ब २४ करोड रुपैयाँको कच्चा भटमासको तेल र ५ अर्ब २१ करोड रुपैयाँको कच्चा सूर्यमुखीको तेल आयात भएको छ । ब्राजिलबाट ४ अर्ब ८५ करोड ६१ लाख, पाराग्वेबाट १ अर्ब ४७ करोड ८८ लाख रुपैयाँको, थाइल्यान्डबाट १ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको कच्चा भटमासको तेल आयात भएको छ ।
युक्रेनबाट १ अर्ब ८४ करोड ३० लाख र भारतबाट २ हजार रुपैयाँको सूर्यमुखीको तेल आयात भएको छ । कच्चा पाम तेल इन्डोनेसियाबाट ३ अर्ब ६६ करोड ९० लाख, थाइल्यान्डबाट १ अर्ब ३ करोड ८० लाख र फिलिपिन्सबाट २३ करोड ९८ लाख रुपैयाँको आयात भएको छ ।
कच्चा भटमासको तेल आयात गरी निर्यात गर्दा ठूलो मात्रामा मूल्य अभिवृद्धि (भ्यालु एड) हुन नसकेको पूर्वसहसचिव एवं व्यापार विज्ञ रविशंकर सैंजु बताउँछन् । अहिले धेरै खाद्यतेल निर्यात न्यूनतम प्रशोधनमै सीमित रहेको, धेरैजसो अवस्थामा आयात गरिएको तरल तेललाई पुनः प्याकेजिङ गरेर मात्र निर्यात गरिएको उनको भनाइ छ । ‘खानेतेलको निर्यात बढ्दा केही व्यावसायिक समूहलाई मात्रै नाफा दिएको छ, नेपालभित्र वास्तविक मूल्य अभिवृद्धि वा रोजगारी सिर्जना भएको छैन,’ उनले भने, ‘त्यसैले नेपालमै उत्पादन
भएका वस्तु निर्यातमा जोड दिनुपर्छ वा कम्तीमा पुनः निर्यात गर्दा उल्लेख्य मूल्य अभिवृद्धि सुनिश्चित गर्नुपर्छ ।’ भटमास नै आयात गरी तेल उत्पादन गर्ने र निर्यात गर्ने हो भने ठूलो मात्रामा रोजगारी सिर्जना हुने र तेलको पिनासमेत विदेश पठाउन सकिने सैंजुको भनाइ छ ।
