नाडाको साधारणसभा, विधानविपरीत भन्दै असन्तुष्ट पक्ष अनुपस्थित

नाडालाई महासंघमा लैजाने भनी गरिएको प्रस्ताव कानुनसम्मत नभएको भन्दै सोसम्बन्धी कार्य नगर्न–नगराउन प्रशासनले निर्देशन दिएको थियो । तर साधारणसभाले नाडालाई महासंघमा लग्ने निर्णय गरेको छ ।

पुस ११, २०८२

विमल खतिवडा

Dissatisfied parties absent from NADA general meeting, saying it is against the statute

What you should know

काठमाडौँ — विवादबीच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औं साधारणसभा बुधबार सम्पन्न भएको छ । अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले साधारणसभा आयोजना गरेको हो । नाडाका सदस्य आकाश गोल्छासहितको टोली भने विधानविपरीत भएको भन्दै साधारणसभामा उपस्थित भएन । 

साधारणसभाले नाडालाई महासंघमा लैजाने र आगामी २५ पुसमा निर्वाचन गर्ने निर्णयसमेत गरेको छ । नाडाको हरेक दुई वर्षमा गर्नुपर्ने नयाँ कार्यसमिति चयन गर्ने एजेन्डाबिना बुधबार साधारणसभा हुन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चासो राखेको थियो । नाडालाई महासंघमा लैजाने भनी गरिएको प्रस्ताव कानुनसम्मत नभएको भन्दै सोसम्बन्धी कार्य नगर्न–नगराउन प्रशासनले निर्देशन दिएको थियो । तर साधारणसभाले नाडालाई महासंघमा लग्ने निर्णय गरेको छ । 

‘साधारणसभाका लागि प्रस्तावित एजेन्डामा नयाँ कार्य समिति चयनसम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशन भएकाले सो साधारणसभामा नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरी साधारणसभा सम्पन्न गर्न हुन अनुरोध छ,’ प्रशासन कार्यालयले नाडालाई पठाएको चिठीमा भनिएको छ, ‘हाल अस्तित्वमा रहेको नाडालाई महासंघमा लैजान गरिएको प्रस्ताव कानुनसम्मत नभएको हुँदा सोसम्बन्धी कार्य नगर्नु/नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ ।’ 

यता नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले भने विधानविपरीत गरिएको साधारणसभामा आफूहरू नगएको दाबी गरे । ‘मनलाग्दी गरेर कहाँ हुन्छ ?’ उनले भने, ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई कार्यान्वयन नगरी उल्टै हटाउन खोज्नु र निर्वाचन प्रक्रिया छल्नु अवैधानिक कदम हो ।’ 

सुरुका दिनमा एउटा समझदारी गरेर ४८औं साधारणसभाले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी आकाश गोल्छालाई उक्त पदमा राखेर अध्यक्ष बनाउने निर्णय पारित गरेको थियो ।

साधारणसभाले पास गरेको विधान संशोधनको विषय जिल्ला प्रशासन कार्यालयमा लगेर दर्ता गर्नुपर्नेमा नगरिएको भन्दै विवाद भएको छ । तर, उक्त कार्यसमितिले नियतवश दर्ता नगरी उल्टै प्रशासन कार्यालयले अस्वीकार गरेको बताउने गरेको कार्यसमितिभित्रकै केही पदाधिकारीको आरोप छ । नयाँ नेतृत्व आएको १८/१९ महिनापछि वरिष्ठ उपाध्यक्षबाट आकाशलाई हटाइएको असन्तुष्ट पक्षको भनाइ छ । 

४७औं साधारणसभाले गरेको निर्णय कार्यान्वयन गरी पाऔं भन्दै हालका कार्यसमिति सदस्य आकाश गोल्छाले पाटन उच्च अदालतमा ६ पुसमा मुद्दासमेत दायर गरेका छन् । 

महासंघमा जाने विषय नाटक मात्र भएको पूर्वअध्यक्ष थापाको भनाइ छ । ‘मेरो कार्यकालमा पनि नाडालाई महासंघमा लैजाने एजेन्डा थियो, तर सिधै महासंघमा लैजान मिल्दैन, यसका लागि तदर्थ समिति बनाएर जाँदा संस्थाको करिब २–३ करोड रुपैयाँ नगद र भौतिक सम्पत्ति सरकारीकरण हुने कानुनी प्रावधान छ,’ थापाले भने, ‘जसले गर्दा हामी पछि हट्यौं, प्रशासन कार्यालयले पनि नाडा सिधै महासंघमा जान नमिल्ने र नयाँ एसोसिएसन मात्र जान मिल्ने व्यहोराको पत्र पठाएको छ ।’ 

२ हजार ९ सय हाराहारी सदस्य भएको संस्थामा साधारणसभाको दिन ४/५ सय जनाको मात्र उपस्थिति रहेको असन्तुष्ट पक्षको दाबी छ । तर साधारणसभामा सहभागी समूहले भने संस्थामा नवीकरण भएका कुल १ हजार ५ सय ४८ सदस्यमध्ये १ हजार ४ सय ८३ जना सदस्यको प्रत्यक्ष उपस्थिति रहेको जनाएको छ । 

कतिपय कार्यसमिति सदस्य कार्यव्यस्तताका कारण साधारणसभामा उपस्थित हुन नसकेको अध्यक्ष करण चौधरीले बताए । ‘उहाँहरू आत्मिक रूपमा हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘नाडालाई नीतिगत बहसको केन्द्रमा पुर्‍याउने प्रयास भएको छ, संस्थाको संरचना, प्रणाली तथा पारदर्शितालाई बलियो बनाइएको छ ।’ नेतृत्वको हैसियतमा कहिलेकाहीँ कडा निर्णय लिनुपर्दा गलत बुझाइ भएको हुन सक्ने उनको भनाइ छ । ‘म सधैं नाडा र उद्योगको हितमा उभिने व्यक्ति हुँ । एकता सबैभन्दा ठूलो पुँजी हो । सदस्यहरूबीच एकता हुनुपर्छ,’ उनले भने, ‘देश अस्थिर हुँदै गएकाले हामीले नीति स्थिर बनाउनुपर्छ, संस्थालाई व्यक्तिभन्दा ठूलो बनाउँदै हामीले नयाँ पुस्ताका लागि नेतृत्वको ढोका खोलिदिनुपर्छ ।’ 

साधारणसभा सकिएको र अब निर्वाचन गरेर अघि बढ्ने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘साधारणसभामा नआउनेहरू अर्कै संगठनमा लागिसक्नुभएको छ । त्यसैले उहाँहरूले गलत भयो भन्नु स्वाभाविक हो,’ उनले भने । नाडाले घोषणा गर्नुअघि कसैलाई महासंघमा जाने निर्णय नगर भन्ने अधिकार नभएको उप्रेतीको भनाइ छ । ‘साधारणसभामा जानुअघि नै जिल्ला प्रशासन कार्यालयबाट नजानू भनेर चिठी पठाइन्छ, यो ठीक हो त ?’ उनले भने । 

नाडाले प्रशासन कार्यालयले पठाएको चिठीविपरीत साधारणसभा गर्ला भनेर नसोचेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले जनाए । ‘प्रशासन कार्यालयले पठाएको चिठीका विषयमा साधारणसभामा पक्कै छलफल भयो होला,’ उनले भने, ‘यसबारे केही निर्णय नाडाले गर्ला । तर यसलाई बेवास्ता गरेर अघि बढे जिल्ला प्रशासनले त्यही किसिमको कारबाही प्रक्रिया अघि बढाउँछ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully